9 Jestha, 2075 | 23 May, 2018 Wednesday

मुहम्मद इब्राहिम-

    सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा तितोपाटी डटकमको तर्फबाट हाम्रो पाठक वर्गहरुमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। रमज़ान १ तारिख देखि रमज़ानको रोजा राखिन्छ। यो अरबी पात्रो अनुसार नवौं महिनामा पर्छ। 

विश्वको एक चौथाई जनसंख्या भएको मुस्लिम धर्मालम्बिहरुको महान पर्व रमदान अर्थात रमजान पर्छ यो वर्षको रोजा २०१८ में १७ तारिख बिहिबार देखि शुरु हुने साउदी अरबबाट घोषणा भएको छ । तर नेपालमा भने शुक्रवारबाट मात्र शुरु हुनेछ ।  

रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना, प्रार्थनाको उदेश्यले बिहान सबेरै फज़रको नमाजको लागि अज़ान दिए पछि देखि लिएर सूर्यास्त अर्थात मग्रिब नहुँन्जेलसम्म खान पिउनु बन्द गर्नुपर्छ साथै रोजाको अवधिभर पत्नीसँग सहवास गर्नु हुँदैन तर रोजा खोले पछि सबै कुरा जायज हुन्छ । रोजाको अवधिमा जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्नु, झगडा गर्ने जस्ता गलत कार्यबाट आफूलाई जोगाउनु नै रोजा हो भन्ने इस्लामिक विद्वानहरुको भनाई छ ।

रोजाका फाइदाहरु

रोजा राख्नाले मानवलाई पवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ। वैज्ञानिकहरुको भनाई अनुसार रोजा राख्नाले आत्मा सन्तुष्टि, पेटको विमार, पित्तशयको विमार, रगतको विमार, हाईब्लडप्रेशर, मुटुको रोग, कान, आँखा, जोर्नी, बाझोपन, स्मरण शक्तिको कमी, वजन घटाउन, चर्बी घटाउन, जाडोको समयमा जीउ सुनिने बिमार तथा ढाड दुख्ने बिमारको लागि अचुक बाण हो।

डा. एयर सेन- “भोको बस्नुको उत्तम तरीका रोजा हो जो इस्लामी तरीका अनुसार राखिन्छ”।

ईशाई डा. रिचर्ड- “कुनै पनि व्यक्तिले भोको बस्ने विचार भए उसले रोजा राकोस् । म ईशाई मित्रहरुलाई भन्दछु कि भोको बस्नु छ भने मुसलमानको तरीका अनुसार रोजा बस्नु उत्तम हुन्छ”।

रोजा राख्नाले यस लोक र परलोक दुवैमा फाईदा हुन्छ। यो लाभको साथै महत्वपूर्ण कुरा मुसलमानहरु रोजा केवल अल्लाहको प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसार राख्छन्।

प्रोफेसर बिल्वी- आफ्नो पुस्तक(१९७६ मा प्रकाशित) “स्वास्थ्यको लागि भोक” मा लेख्नु भएको छ- “प्रायः शहरमा बसोबास गर्ने व्यक्तिहरुको लागि अनिवार्य उसले बर्षमा तीन, चार हप्ताह (जुन इस्लामी रोजाको तरिकाको अवधि बराबर) को लागि खानपिन रोकेर रोजा राख्नु किनकि पुरा जिन्दगी पूर्ण स्वास्थ्यसँग आनन्दित हुन सकोस्” ।

अक्सफोर्ड यूनिवर्सिटीका प्रशिद्ध प्रोफेसर डा॰ मोर पाल्ड भन्नुहुन्छ- “मैले इस्लामी शिक्षाको अध्ययन गरे र जब रोजाको विषयमा पुगे त अचम्म माने किनकि इस्लामले आफ्नो अनुयायीलाई अरु केही दिन नसके पनि केवल रोजाको तरिका नै उनको लागि काफी थियो” (सुन्नते नबवी र आधुनिक विज्ञान १/१६५)

निम्न अवस्थामा रोजा टुट्दैन

(१) दाँतमा ब्रश गर्नाले (२) गाजल लगाउँदा (३) कुल्ला गर्दा या नाकमा पानी हाल्दा विना ईच्छा घाँटीबाट पानी भित्र जानाले (४) धेरै गर्मिमा टाउकोमा पानी हाल्नाले। (५) थुक र खकार भित्र गएमा । (६) सुगन्ध लगाउनाले। (७) आँखामा दबाई हाल्नाले। (८) आवश्यकतानुसार तरकारीको स्वाद चाख्नाले। (९) साना बच्चालाई केही चीज चपाएर दिनु हुन्छ तर त्यसलाई तुरून्तै थुकिदिनु पर्छ । (१०) सम्भोग गर्दा फजरको आजनको नजिकको अवस्था हुनु। (११) नचाहदा नचाहदै पनि उल्टी हुनाले। (१२) रोजाको समयमा सपनामा वीर्य निस्कनाले। (१३) गल्तिले खानु या पिउनाले। (१४) दाँतको गिजाबाट रगत बहनु वा दाँतमा अड्केको खाना निल्नाले। (१५) दाँत निकाल्दा या आवश्यकतानुसार कुनै रोगीलाई रक्त दान दिनाले। (१६)महिनावारी हुँदा या निफासको रगत बाहेक कुनै रोगको कारण कुनै महिलाको रगत निस्किनाले। (१७) उपचारको लागि पछाडि गर्दनमा यन्त्रिक विधीले रगत निकाल्नाले। (१८) कोही इस्लामी विद्वानको भनाई अनुसार दमको विमारीले स्प्रे (Spray)को प्रयोग गर्नाले रोजा भंग हुँदैन।

निम्न अवस्थामा रोजा टुट्छ

(१) रोजाको अवस्थामा पत्नीसँग सम्भोग गर्नु, यस्तो अवस्थामा रोजा पुरा गर्नुका साथै प्रायश्चित पनि दिनुपर्छ,प्रायश्चित यो हो कि एउटा गुलाम (दास) लाई उसको मालिकबाट पैसा दिएर स्वतन्त्र गराउनु, गुलाम नपाए दुई महिनासम्म लगातार रोजा राख्नु या रोजा राख्न नसके साठी जना गरिबलाई खाना खुवाउनु पर्छ । (२) जानी जानी खाना खानु या यदि आफैले घाँटी भित्र औंला पुर्याउँदा बमिट भयो रोजा भंग हुन्छ । (३) महिनावारी भएमा या महिला सुत्केरी भएमा रोजा भंग हुन्छ  । (४) वीर्य निक्लेमा चाहे हातको प्रयोगबाट होस् अथवा कुनै तरिकाले । (५) रोजा छोड्ने विचार गर्यौ भने चाहे खाना खाओस् या नखाओस् । (६) कुनै चीज निल्यो भने चाहे खाने कुरामा होस् या अरु कुनै चीज यसले रोजा भंग हुन्छ । (७) हरेक प्रकारको तमाखु (खैनी) को प्रयोग गर्दा रोजा टुट्छ । (८) तागतको ट्याबलेट खाएमा या तागतको सूई लगाए पनि रोजा टुट्छ ।

रोजामा सावधानी

(१) वुज़ूको समयमा कुल्ला गर्न र नाकमा पानी हाल्न धेरै पानीको प्रयोग नगर्नु। (२) पत्नीलाई सहवासको नियतले न हेर्नु। (३) कुनै चीज मुखमा हालेर नचपाउनु किनकि त्यो घाटीबाट तल जान सक्छ, सिवाय बच्चालाई खुवाउनु छ भने चपाएर दिन सक्छ तर होसियार हुनुपर्छ त्यो आफ्नो घाँटीबाट भित्र नजाओस। (४) जसले आफुलाई काबुमा राख्न सक्दैन उसले आफ्नो पत्नीलाई चुम्बन नगरोस् किनकि वीर्य निस्केमा रोजा भंग हुन्छ । 

कुन अवस्थामा रोजा राख्न छुट छ 

बालक, बिमारी, महिलाहरुमा मासिकश्राव भएको अवस्थामा, सुत्केरी भएको अवस्थामा वा जसलाई बिमारीको कारणले रगत बगिरहने महिला साथै बच्चालाई दुध खुवाउने आमालाई बच्चाको लागि दुध नआउने अवस्था छ भने डक्टरले छुट दिएको खण्डमा पनि रोजा बस्नु पर्दैन पछि ठीक भएपछि अर्को रमज़ान अगाडि नै राखि सक्नुपर्छ। त्यस्तै कम्तिमा असी/नब्बे किलोमिटर टाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्न चाहन्छ भने राख्न सक्छ। यदी कहिले पनि राख्न नसक्ने भए एक दिनको खाना गरिवलाई खुवाउनु पर्छ। 

ईदुल फित्र

रोजा समाप्तिको खुशीयाली मनाउन अल्लाह तआलाले मुसलमानहरुको लागि हर्ष र उल्लासको एक दिन निर्धारण गर्नु भएको छ जसलाई ईदुल फित्र भनिन्छ। वास्तवमा रमज़ानमा अल्लाह तआलाको आज्ञाकारीता पालना गर्ने क्षमता प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन हो। अरबी पात्रो अनुसार ईद शव्वल महिनाको पहिलो तारिखमा पर्दछ । 

ईदको दिन नुहाएर सफा एवं राम्रो कपडामा, सुगन्ध लगाएर,केही खाना खाएर ईजगाहमा जाने गर्दछन् र फर्किदा अर्को बाटो आउनु पर्ने मान्यता रहेको छ । ईदको नमाज़ दुई रकअत हुन्छ । यो नमाज सकभर खुल्ला मैदानमा पढ्नु उत्तम हो र मस्जिद भित्र पनि पढ्न सकिंन्छ ।