9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तितोपाटी डट कम - दाङको तुलसीपुर उपमहानगरपालिका १ सुनपुरका ७१ वर्षीय गोविन्द सापकोटाले २०३३ मा गाउँकै बेलमती सुनारसँग विवाह गरे । ब्राह्मणको छोरा सुनारको छोरीसँग विवाह गर्‍यो भनेर सबैले छि:छि दूरदूर गरे ।


उनी गाउँ–समाज र आफन्तमाझ एक्लो भए । पहिलो घरबार बिग्रिएपछि २०५८ मा दोस्रो विवाह गरे । त्यो पनि सुनारकै छोरी तारादेवीसँग । अब त अति नै भयो । उनलाई गाउँमा बसिसक्नुभएन ।

‘म एक्लो भएँ । मलाई पुलिसमा लगेर थुनाए, कुटाए, पिटाए तर मैले हरेस खाइनँ,’ सापकोटाले भने, ‘तल्लो र माथिल्लो भन्ने जात हुँदैन भनेर खोजीखोजी सुनारकै छोरी विवाह गरें ।’ अन्तरजातीय विवाह गरेकामा उनलाई कुनै पश्चाताप छैन । अहिले समाज खुला हुँदै गएको छ । जातीय छुवाछूतलाई कानुनविपरीतको काम मान्न थालिएको छ । तर त्यतिबेला सापकोटाले विवाह गर्दा अनौठो मानियो । ‘कि छोरो मात्यो मनले, कि मात्यो धनले भन्दै मैले गाउँलेहरूको कुरा बेवास्ता गर्दै आएँ,’ उनले भने, ‘अहिले म जस्तै विवाह गर्ने धेरै भइसकेका छन् ।’

अनेक दु:खकष्ट सहँदै अन्तरजातीय वैवाहिक जीवनलाई बचाउन सफल सापकोटा अहिले आफ्नो कदमप्रति गर्व गर्छन् । समाजमा रहेको गलत विश्वासमाथि धावा बोलेको उनले बताए । तारादेवीले पनि सुरुमा अप्ठ्यारो लागे पनि विस्तारै सामना गर्दै गइन् । ‘सुरुमा त समाजमा बस्नै गाह्रो थियो । जसले पनि गाली गर्ने,’ ५९ वर्षीया तारादेवीले भनिन्, ‘अहिले त सामान्य हुँदै गएको छ ।’

तुलसीपुर–९ बेलुवाकी ३७ वर्षीया गोमा पाण्डेले आठ वर्षअघि स्थानीय ३८ वर्षीय दिलबहादुर सार्कीसँग विवाह गरिन् । समाजमा बस्न सजिलो थिएन । ‘माइती, घर सबैतिर समस्या । जहाँ पनि हाम्रै कुरा काटेको सुनिन्थ्यो,’ गोमाले भनिन्, ‘तनावै तनाव थियो । नियमित काम गर्न कठिन हुन्थ्यो ।’ जे जस्तो परिस्थिति भए पनि उनी संघर्ष गर्दै अघि बढिन् । ‘अहिले विस्तारै छुवाछूत गर्नुहुँदैन भन्ने कुरा बुझदै गएका छन्,’ उनले भनिन्, ‘निराश नभई काम गरे समाजका गलत विश्वासलाई पनि बदल्न सकिने रहेछ ।’

तुलसीपुर–२ सुनडबरीकी २० वर्षीया देवा गिरीले ६ वर्षअघि गाउँकै २१ वर्षीया दीपक विकसँग विवाह गरिन् । माइतीले जोडी छुटाइदिने प्रयास गरे । दुई वर्षसम्म माइती नै जान पाइनन् । गालीगलौज त कति हो कति । ‘तैपनि सहेर बसें । समाजको धारणा बदल्नु थियो,’ देवाले भनिन्, ‘आज त्यो सोचाइ बदलिएको छ । हामी सफल भएका छौं ।’

सामाजिक रूपमा गहिरो गरी अडकिएको छुवाछूतको पर्खाल भत्काउन त्यति सहज थिएन । तैपनि तत्कालीन सामाजिक सोचाइविरुद्ध उभिनसक्ने यस्ता उदाहरणीय जोडी अहिले समाज परिवर्तनका नमुना बनेका छन् । तुलसीपुर उपमहानगरपालिकाले यस्ता जोडी खोजी गरेर सम्मान गर्न थालेको छ । अन्तरजातीय विवाह गर्ने ७८ जोडीलाई सम्मान गरिसकेको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

जातीय विभेद अन्त्य गरी उपमहानगरलाई नमुना बनाउने उद्देश्यसहित जोडीलाई सम्मान गरिएको उनको भनाइ छ । ‘हाम्रो समाजमा अझै पनि जातीय रूपमा विभेद भइरहेको छ । यसलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने, ‘विवाहित जोडीलाई सम्मान गरी समाजमा स्थापित गर्न खोजेका छौं । अरूलाई पनि यसबाट सकारात्मक सन्देश दिन खोजेका छौं ।’

-कान्तिपुर