9 Jestha, 2075 | 23 May, 2018 Wednesday

बलिउड सुपरस्टार आमिर खानका दुई फिल्म ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ बाट चर्चामा आएकी अभिनेत्री हुन् जायरा वसिम । १७ वषिर्या यी किशोरीले सामाजिक सञ्जालमा आफ्नो विषयमा ठूलो खुलासा गरेकी छिन् ।

जायराले आफू चार वर्षदेखि गम्भीर डिप्रेसनको शिकार भएको बताएकी छिन् । नेसनल अवार्ड समेत जितेकी उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टमा लेखेकी छिन्, ‘हो, म लामो समयदेखि डिप्रेसन र एन्जाइटीबाट पिडित छु ।’

समाजमा कुनै पनि खालको मानसिक रोगलाई नराम्रो दृष्टिकोणले हेरिने भएकाले आफूले अहिलेसम्म आफ्नो रोग लुकाएको उनको भनाई छ ।

‘मैले दैनिक पाँच पटकसम्म डिप्रेसनको औषधि खान्थेँ । मलाई आधि रातमा अस्पताल पुर्‍याइएको थियोउ । म कति हप्तासम्म राति निदाउन सकिनँ । र, मेरो दिमागमा बारम्बार आत्महत्याको चिन्तन आउँथ्यो,’ वसिमले लेखेकी छिन् ।

जायराका अनुसार उनलाई १२ वर्षको उमेरमा पहिलोपटक पेनिक अट्याक आएको थियो । त्यसपछि यो क्रम निरन्तर बढ्दै गयो । आफूले २५ वर्ष कटेको व्यक्तिलाई मात्र डिप्रेसन हुन्छ भन्ने सुनेकाले लामो समय उपचार नगरी बसेको उनले बताएकी छिन् ।

उनी अगाडि लेख्छिन्, ‘डिप्रेसन र एन्जाइटी एउटा अनुभूति मात्र होइन, रोग हो । यो जसलाई पनि हुन सक्छ । अब बल्ल म आफूलाई लागेको रोग स्वीकार गर्न सक्ने भएकी छु । मलाई आफ्नो सोसल लाइफ, काम, स्कुल र सोसल मिडियाबाट ब्रेकको आवश्यकता छ । मेरो लागि प्रार्थना गरिदिनुस ।’
-अनलाइन खबर