9 Jestha, 2075 | 23 May, 2018 Wednesday
बझाङमा फलाम खानी भेटियो
2018-05-11 | कोसेली न्युज
तितोपाटी, बझाङको तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ । सडक निर्माणको क्रममा डोजरले खन्दा खानी भेटिएको हो ।


सडक खन्ने क्रममा निस्कीएका फलाम मिश्रित ढुंगा ठुलो मात्रामा सेती नदी समेत खसेको स्थानीयले बताएका छन्।

चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कुँवर गाउँसम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा फलाम जस्तै ढुंगाहरु भेटिएका हुन्। फलाम खानी भेटिए पनि यसको बारे कसैले वास्ता नगरेका कारण सडक निमार्णको क्रममा ठुलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए।

साविकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी आजभन्दा ६५ वर्ष पहिला प्रयोग गर्ने गरिएको दाबी स्थानीय बुढापाकाको छ। खानीबाट कच्चा फलाम निकालेर यहाँका स्थानीय ‘लोहार समुदाय’ले प्रशोधन गर्ने गर्दथे। त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको बताइन्छ।

खानीबाट फलाम झिकेर आफैं प्रशोधन गरेका तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरे वापत लोहार मुखियाले तत्कालिन बझाङ राज्यलाई तिर्नूपर्ने कर तिर्न नसके पछि खानी प्रयोगमा बन्देज लगाइएको थियो।

‘मेरै हातले फलाम झिकेर ल्याएर पगाल्ने र भाँडा–कुडा बनाउने काम गरेको छु,’ ८० वर्षिय कामीले त्यसबेलाको फलाम प्रशोधन गर्ने प्रविधी बारे बताउँदै भने, ‘एउटा भट्टी हुन्थ्यो। त्यसमा फलाम ढुंगालाई फुटाएर साह्रो गोल (बाँझको रुख बालेर बनाइएको कोइला) मा राख्नुपर्थ्यो। ४ तिरबाट छालाको खलाँती (आरनमा आगो फुक्ने चिज) ले चार जनाले धुनु (फुक्नु) पर्थ्यो। एक जनाले लामो सनासोले फलाम चलाइराख्नु पथ्र्यो। फलाम तातिए पछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो। त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो।’ यहाँको फलाम एकदमै गुणस्तरिय भएको र आयातित फलामभन्दा सजिलैसँग चाहिएको कृषि औजार, हतियार वा भाँडा बनाउने सकिने खालको रहेको उनले बताए।

त्यो ठाउँमा फलाम खानी छ भन्ने कुरा यहाँका सबैलाई थाहा भए पनि त्यसको संरक्षण र उत्खननमा कसैले वास्ता नगरेको स्थानीयहरु बताउँछन्।

‘फलाम खानी छ भन्ने कुरा त सबैलाई थाहै थियो,’ सुनिकोटका कृण्णबहादुर थापाले भने, ‘यसको संरक्षण र उत्खननको लागी कसैले चासो दिएनन्। हामीले पनि के काम लाग्ला र भनेर वास्ता गरेनौं। सडक खन्नेहरुले पनि मतलब गरेनन्।’

यता खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रशाद घिमिरेले बझाङ जिल्लामा फलाम खानीको सम्भावना रहेको कुरा यस अघिका अध्ययन प्रतिवेदनले देखाएको भए पनि कुन ठाँउमा कति मात्रामा फलाम छ भन्ने कुराको विस्तृत अध्ययन भैनसकेको बताए। जेठको पहिलो साता भुर्गभविदहरुको टोली बझाङ आउने र अहिले देखिएको फलाम खानीको विषयमा अध्ययन गरिकन आवश्यक निर्णय लिइने उनले जानकारी दिए।

‘कति मात्रामा फलाम डिपोजिट छ भन्ने अध्ययन भैसकेपछि उत्खनन गर्ने वा नगर्ने भन्ने निक्र्यौल गर्छाैं। अहिले नै केही भन्न सकिन्न,’ उनले भने।