9 Jestha, 2075 | 23 May, 2018 Wednesday
भो आमा, अब तिम्रा कुरा मान्दिन
- रजनी ढुंगाना

आमा ,
कहिलेकाही तिमी  
बिग्रिएका खित्रींग मित्रिंग ,बनाइ माग्न 
त्यहा पठाउछ्यौ,उ भएको ठाउमा ,
म ढिठ अटेरी बनेर ,
तिमीले, अर्हाएको मान्दिन।

किनकि आमा,त्यहा, 
म अटेरी बन्दा, तिमीले , 
सिर्कनाले ,पिड्यौलामा हिर्काए भन्दा ,
असह्य पिडा हुन्छ,
तिमीले ,जगल्टा ,भुत्ल्याउदा भन्दा ,चर्को दुख्छ।

तिम्रो नजरमा,सानो निक्कै सानो, उ 
मेरा अगाडि विशाल पहाड झै,उभिन्छ,
घनघोर पहिरो भै ममा खस्छ,
अनि बेमौसमी बाढीले झै उर्लिएर
मेरो,सारा बालापन बगाउछ।

आमा,
मेरो कलिलो बालक देहलाई
उ,तरुनीको वय सम्झेर गिजोल्छ,
मेरो भय र किंकर्तव्यविमूढ़ता लाई ,
उ लज्जा र मौन स्वीकृति सम्झन्छ।

उसले  जोडिदीएका,
मर्मत, गरिदिएका तिम्रा सामानझै,
उ पनि मलाई ,सामान सम्झन्छ,
खेल्छ,खोल्छ,परिक्षण गर्छ,
अनि कहिल्यै नबन्ने गरि ,चिल्थो बनाउछ,

आमा ,
म क्षतविक्षत भैसक्दा पनि,
न मेरो क्षति म बताउन जान्दछु,
न तिमी, जाच्न भ्याउछयौ।
तिम्रो व्यस्तता र वेवास्ताले,
मलाई ध्वस्त अनि ,उसलाई बिश्वस्त पार्छ,
सुधारिएका सामान हरु बिच,
भाचिएकी ,टुटेकी म यादै हुदिन,
जोडिएको यंत्र देखिन्छ ,
टुक्रिएकी,म नजरमै पर्दिन।

त्यसैले त आमा, तिम्रा हरेक आज्ञा ,
खुरुखुरु मान्ने,तिम्रो हातको लोटा म,
आज अटेरी बन्दिन्छु,
तिमि कुटेर थाकिसक्दा पनि नगल्ने,
थेत्तरो बनिदिन्छु,

भो, आमा अब म, ज्ञानी बन्दिन,
अब म तिम्रा कुरा मान्दिन।