9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- एक महिलालाई गैरसरकारी संस्था (एनजीओ)मा जागिर लगाइदिन्छु भन्दै जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना महिला पक्राउ परेका छन् । चितवनको भरतपुर–२७ घर भइ काठमाडौंको सितापाइला बस्ने ३८ वर्षीया लक्ष्मी भट्टराईलाई एनजीओमा जागिर लगाइदिन्छु भन्दै धर्मपरिवर्त गराउन खोज्ने महिला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कास्कीको मच्याङ्गकोट गाउँपालिका ९ घर भइ काठमाडौंको सितापाइला बस्ने ४१ वर्षी सुमित्रा गौलि, काठमाडौं कलंकीकी ३६ वर्षी राधिका महर्जन र चितवनको भरतपुर–१६ की ४२ वर्षीया फुलदेवी भट्टराई छन् ।


चितवन भरतपुर फुलदेवी भट्टराईले वैशाख १५ गते (शनिवार) एनजीओमा जागिर खुलेको भन्दै पीडित लक्ष्मीलाई राधिका महर्जनलाई भेटाइन् । राधिकाले सितापाइलास्थित चर्चमा लगेर बाइबलको पाठ सुनाउँदै जबरजस्ती बत्तिस्मा लिन लगाएपछि लक्ष्मीले प्रहरीमा उजुरी दिएकी हुन् । लक्ष्मीको उजुरीका आधारमा प्रहरीले गत शुक्रवार तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मुलुकी ऐनमा भएको व्यवस्था अनुसार कुनै एक धर्मको व्यक्तिलाई अर्को धर्म मान्न करकाप गरी धर्म परिवर्तन गराउन खोजेमा ३ वर्ष कैद सजाय हुने प्रावधान छ ।