9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम - शनिबार राति परेको असिना–पानीसँगै बझाङमा फेरि बाढी आएको छ । बाढी र असिनाले जिल्लाका विभिन्न ठाँउमा ठुलो धनजनको क्षति पुऱ्याएको छ । बाढीमा परेर ५ जनाले ज्यान गुमाएका छन् ।

शनिबार राति स्थानीय ढोड्या खेत बजारबाट घर फर्कने क्रममा गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका ४ सहित ५ जनाको मृत्यू भएको हो ।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक, ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा तथा उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको बाढीले बगाएर मृत्यु भएको छ। 

उक्त घटना राति ९/१० बजेतिर भएपनि आइतबार बिहान ९ बजेतिर शव फेला परेपछि मात्रै थाहा भएको हो। केही दिन अघि ससुराली गएका हर्क विकको परिवार घर फर्कने क्रममा बाढीमा परेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।

यस्तै, असिना पानी संगै आएको बाढीले केदारस्यूँ गाँउपालिकाको सुडीखोलामा २ घर बगाएको छ। घरभित्र भएको धनमाल र ९ वटा बाख्रा मरेका छन्।

असिनाले छविसपाथिभेरा र दुर्गाथली गाउँपालिकामा ५ सय रोपनीमा लगाएको आलु खेती नष्ट गरेको छविसपाथिभेरा गाउँपालिकाका कृषि प्राविधिक धनसेर बुढाले जानकारी दिएका छन्। शनिबार रातिको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भए पनि एकिन विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

यसअघि बैशाख १९ गते आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए।

जयपृथ्वी राजमार्ग अवरुद्ध
असिना पानीसंगै आएको बाढीले जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने केदारस्यूँ गाँउपालिकाको सुडिखोला खण्डमा माटो थुप्रिए पछि शनिबार रातिदेखि नै यातायात बन्द भएको छ। सडक अवरुद्ध हुँदा बझाङबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका छन्। दर्जनौं गाडी र सयौं यात्रु सुडिखोलामा अलपत्र रहेको एक यात्रु उत्तम थापाले जानकारी दिएका छन्।