9 Jestha, 2075 | 23 May, 2018 Wednesday

चन्द्र बिश्वकर्मा - ब्यबस्था परिवर्तन भए पनि सबै नेपालीहरुको वास्तविक अवस्था परिवर्तन हुन नसक्दा छुवाछुतको सोचाइ अनी व्यबहारमा पनि परिवर्तन आउन सकेको छैन। बिशेष गरी देशमा जातीय विभेद तथा छुवाछूत गर्ने लाई कानुनी दायरामा लिएर कडा भन्दा कडा कारबाही गर्नुको साथै आजिवन कारावासको सजाय गर्ने हो, भने सायद समाजमा केही मात्रामा भएपनी जातीय विभेद र छुवाछूत कम हुने थियो होला। समाजमा गल्ती गर्नेले पनि सजिलै छुटकारा पाइरहेका छन। जातीय विभेद तथा छुवाछूत गर्ने लाई सम्बन्धित निकायले किन ध्यान दिदैन? यसरी मानव-मानव र आत्मा-आत्मा बिच विभेद कहिले सम्म हुने हो? विभेद र छुवाछुतले गर्दा मानिसलार्इ समाजमा ठाडो शिर पारेर हिड्न पनि कठिन हुनुको साथै स्कुल पनि छोड्न बाध्य भएको समाचारहरु आईरहेका छन। सामाजिक सचेतना र सामाजिक शिक्षाको कमीकै कारण गरिने यस्ता दुर्व्यबहार नेपालको अहिलेको परीपेक्षमा नाैलो कुरा होइन। समुदायमा भएका शिक्षित वर्ग र बुद्धिजीवी भन्नेहरुले यो कुराको किन मनन गरेका छैनन्?


गाउँको त के  कुरा गरौ र ? शहर बजारमा पनि जातीय विभेद तथा छुवाछूतमा दिना-नुदिन वृद्धि भइरहेको छ। सानो जात भएकै कारण कोठा भाडा पनि नपाउने चलन अहिलेको २१ अाैं शताब्दी सम्म पनि निरन्तर चलिरहेको छ । सबैलाई थाहै भएकै कुरा हो मान्छे जन्मजात नै अछुत भएको हुँदै होइन। यो सबै कामको आधारमा जात जातिमा बिभाजन गरेको मान्छेले नै हो। तर पनि पढेलेखेका शिक्षित बर्ग तथा बुद्धिजीवी हुँ भन्नेले जातीय विभेद तथा छुवाछूत किन गरिरहेका छन? के मानव-मानव बिचमा कहिले समानता नहुनेनै हो ? जात भनेको त महिला र पुरुष मात्र हो, भनेर भन्नेहरुले किन समाजमा विभेद र छुवाछूत हुँदा चुप लागेर बस्छन्? आखिर सानो जात र ठूलो जातमा मानिस अनी हामी सबैमा बग्ने रातो रगत र हामीहरुले फेर्ने शासमा के नै फरक छ ? काटे रगत सबैको रातै आउँछ तर पनि किन पशु सरह व्यबहार गरिरहेका छन ? २१ अाैं शताब्दी हो, जातीय विभेद तथा छुवाछूत गर्नु हुन्न भन्नेहरुको समाजमा कमि पनि छैन । जसरी हात्तीको देखाउने दात एउटा  चपाउने दात अर्को हुन्छ नि त्यस्तै समाजमा पनि ठिक्क पार्ने मान्छेहरु मात्र बढी छन, तर भित्री मनमा अछुत भनेको अछुत नै हुन भन्ने मानसिकता भएका मान्छेको पनि कमि भने पक्कै भएको छैन।


बिद्दालय शिक्षा लिने एउटा पवित्र सार्वजनिक स्थल हो । यही पवित्र सार्वजनिक स्थलमा अध्यापन गराउने शिक्षकबाट नै मैले जातीय विभेद र छुवाछुटको व्यवहार भोग्नु पर्यो । शिक्षकले समाज परिवर्तन गर्नको लागि बिद्यार्थीलाई नयाँ ज्ञान दिनु हो, तर कुनै शिक्षक यस्ता पनि हुदाँ रहेछन कि आफ्नै बिधार्थीलार्इ समेट जातिय विभेद र छुवाछुट गरे । जब शिक्षकले नै छुवाछूट गरे पछि अन्य साथिले पनि जातीय विभेद र छुवाछूत नगर्लान भन्ने कुरै भएन । म मेरो वास्तविक जिवनको भोगाइ लेख्दै छु । मेरो घर देखि श्री महेन्द्र रत्न माध्यमिक बिद्यालय नजिकै छ । मैले यहि स्कुल देखि पढाई सुरु गरेको थिए । जब म ३ कक्षामा अध्ययन गर्दाको कुरा हो । एक दिन कक्षामा बाल्तिनको पानी छोएको निहुँमा एक जना सरले मलार्इ गालि गर्दै अभद्र ब्यबहार गर्नुभएको थियो । त्यो पानी सबै बिद्यार्थी र शिक्षकले  पिउनको लागि राखिएको थियो । उहाँले भन्नू भयो यो अछुत दलित जातिले पानी छोएको रहेछ भोलि देखि छुने होइन सम्म भन्नु भयो । त्यो समयमा म अछुत र दलित  हो भनेर मलाई पनि थाहा थिएन । अनि सबै साथीले मलाई अछुत र दलित भनेर गिज्याए । अनि मैले छोएको केही साथीले खान पनि  मानेनन् । म एक दमै निरास भएर घर फर्किए । मनमा धेरै कुरा खेलेको थियो । किन कि कक्षामा सबै साथिले अछुत दलित भनी गिज्याएको झल्को आइरहेको थियो । मेरो मनमा धेरै कुराहरु खेलिरहेको थियो । किन म मात्र अछुत र दलित भएको होला । सबै म जस्तै छन तर उनीहरुले छोएको चल्ने मैले छुदा नचल्ने यो कस्तो समाज  होला । अनि म स्कुल पनि जान मन लागेन किन कि सबैले मलाई अछुत र दलित भन्छन भनेर तर घरमा बाबा आमाले स्कुल जानु पर्छ भनेर दवाब दिनु भयो ।


मेरो अभिभाबक बुवा-आमाले जस्तो सुकै विभेद भएपनी मलार्इ निरन्तर स्कुल जानु पर्छ भन्ने भावना सिर्जना गरिदिनु भयो। यदी बाबा अमाले मेरो इच्छा मान्नु भएको भए सायद ३ कक्षानै मेरो अन्तिम पढार्इ हुने रहेछ । त्यसैले समाजमा म मात्र होइन हजारौले जातीय विभेदकै कारणले पढार्इ छोडेका हुन सक्छन। केही समय पहिलेको कुरा हो, मलाई एक जना मिल्ने साथिले उसको घरमा जान निकै कर गर्यो । हामिहरू धेरै मिल्ने साथि पनि हो । शहर बजार हुँदा हामी  संगै बस्ने र संगै खाना पनि खान्थ्यौ । तर साथिले मलाइ उसको घरमा बाहिर राखेर एक्लै खाना खुवायो । तर मलार्इ खान मन नहुदा नहुदै पनि बाध्य भएर खाना खाएको थिए । साथिले भन्दै थियो के गर्नु गाउ घरको चलन हो मान्नै पर्नै दुख नमान्नु है भनेको कुराको याद अहिले पनि अाइरहेको छ । आखिर घरमा जादा छोइने शहर बजार जादा नछोइने यो कस्तो चलन होला भनि मनमा धैरै कुरा खेलिरहेको थियो । साथी तिमी कति धेरै पढेलेखेका छौ तर पनि यति धेरै पढे-लेखेर पनि तिमिले आफ्नो परिवारलाई बुजाउन सक्दैनो । तर मलाइ कुनै दुख:मन छैन तर पनि तिमी जस्तो पढेलेखेको मान्छेले यस्तो विभेद गर्छौ भने अन्यको त कुरै नगरौ। हामिलार्इ त मान्छे नै नभनि पशु भन्दा नि तल्लो दर्जामा राख्छन । तिमी कति महान र बुद्धिजीवी छौ तर तिमिले किन समाजमा भएको रुढीबादी परम्परा लाई त्याग्न सक्दैनौं ?


कहिले काहीँ त यस्तो लाग्छ कि हामिले कस्तो सतीले सरापेको देशमा जन्म लिएका  रहेछौ। कहिँ कतै नभएको जातीय व्यवस्था किन यही देशमा मात्र भयो होला ? के नेपाली समाज भनेको जहिले पनि रुढीबादी(पुर्ब मान्यता)मै रुमलिने हो ?  २१औं शताब्दीमा पनि किन समाजले काचुली फेर्न सकेको छैन ? समाजका बुद्धिजीवी, भद्र भलाद्मीले किन नबुझेका होलान् ? यसरी नै जातीय विभेद तथा छुवाछूत निरन्तर भइरह्यो भने अवस्य  एक दिन काटमार नहोला भन्न सकिदैन । जब सम्म समाजमा सीप र कलाको धनी समुदायलाई सधै दलित र अछुतकै बिल्ला लगाउने कोसिस जारी रहन्छ तब सम्म यो समाजमा दिगो बिकास हुने सम्भावना पनि कम हुनेछ । यो समाजमा म मात्र होइन धेरैले जातिय विभेद र छुवाछुट भोगिरहनु परेको छ । कसैले विभेदकै कारण पढार्इ देखि समाज नै छोड्नु पर्ने सम्मको घट्नाहरू दिनहुँ अाइरहेको छ । अब पनि विभेद र छुवाछुटकै कारण कसैले पढार्इ र समाज नै छोड्न पर्ने अवस्था सिर्जना नहोस् । मानव सबै एक हुन सबैले समान भएर जिउनु पाउनु पर्छ भन्ने भावनाको सिर्जना गर्दै सबै मिलि जातिय विभेद तथा छुवाछुटको अन्त्य गर्न तपाईं हामीबाटै आजै बाट शुरु गरौ। यदी परिवर्तन आँफैबाट भए मात्र अरुलाई पनि परिवर्तन गराउन सकिन्छ। त्यसैले सबै मनिस बराबर हुन, कालो-गोरो वा धनी-गरिव र उच्च-निचको भरमा एउटै समाजमा बस्ने तपाईं हामी किन सानो र ठुलो जातमा बिभाजित हुने ? सबैले समान ब्यबहार र एक-आपसमा भाईचाराको सम्बन्ध बिकास गर्दै छुवाछुत र जातिय बिबेद बिरुद्द सबै एक हुन जरुरी छ ।