9 Jestha, 2075 | 23 May, 2018 Wednesday

तीतोपाटी डट कम- न तलब थाहा छ। न त काम नै। एजेण्टले ‘राम्रो काम र दाम’ पाइन्छ भनेको भरमा बाँकेकी बेतानिया पासी कुवेत पुगिन्।

४२ वर्षकी पासीलाई भारत हुँदै कुवेत पुर्‍याइयो। पासीलाई एउटा घरमा लगियो। चार बच्चाको रेखदेख, घरको झाडुपोछा गर्नु पासीको दैनिकी भयो। काम त ठिकै थियो। घरकी मालिक्नीले खाना नदिने, दुःख दिन थालिन्। अति भएपछि एक दिन पासी घरबाट भागिन्।

त्यो घरबाट त भागिन्। तर, फेरि एजेण्टकै फन्दामा परिन्। एजेण्टसंगै रहेकै बेला पासीलाई पठाउने एजेण्टलाई घरबाट ठूलो दबाब गयो। घरपरिवारले स्थानीय दलाल र उसले माथिकालाई दबाब बढाएपछि पासीलाई कुवेतबाट दिल्लीको जहाजमा चढाएर पठाइयो।

दिल्ली विमानस्थलमा ओर्लिएपछि पासी अलपत्र परिन्। नेपालगञ्ज बजारसम्म राम्ररी थाहा नपाएकी पासीलाई विमानस्थलबाट कता जाने, कहाँ जाने पत्तै भएन। अलपत्र पासीलाई नेपाली हो भन्ने थाहा पाएपछि दूताबासको सम्पर्कमा पुर्‍याइयो।

मानव बेचबिखनको विरुद्धमा काम गर्ने केआई नेपाल भन्ने संस्थामार्फत पासीलाई नेपाल ल्याइएको छ। केआई नेपालकी इन्चार्ज अपना भट्टले जिल्ला प्रशासन कार्यालय र प्रहरीमार्फत पासीलाई छोराको जिम्मा लगाइन्।

नेपालगञ्ज आएको तीन दिन भएपनि पासी अझै डराइरहेकी छन्। मानसिक रुपमा विक्षिप्त अवस्था छ। पासीले आफूलाई कुवेत पठाउने एजेण्टबिरुद्ध जाहेरी दिन मानेकी छैनन्। भन्छिन्, जे भयो, भयो। अब घरमा गएर छोराछोरीसँग बस्छु। गरीब छौं। काम गरेर खान्छु।’

घरमा परेकाले धेरै दुःख पाएको र फिर्ताका लागि पहल गरिदिन पासीले केही दिनअघि रुँदै फोन गरेकी थिइन। त्यसअघि उनले ३९ हजार रुपैयाँ घरमा पठाएकी थिइन्। ‘डेढ महिनाको त तलब नै दिएन,’ पासीले भनिन्।

माघ १६ गते कुवेत हिँडेकी पासीको तीन छोरा र एक छोरी छन्। जग्गा जमिन नभएर ऐलानी जग्गामा बसेकी पासी राम्रै पैसा कमाइएला भनेर कुवेत हिँडेकी थिइन्। उनीसँग तीन जना नेपाली कुवेत गएका थिए। उनीहरु उतै छन्।

पासीलाई कुवेत पठाउने स्थानीय एजेन्टको नाम थाहा छ। उसविरुद्ध प्रहरीमा जाहेरी दिन भने मानेकी छैनन्। ‘हिजोसम्म जाहेरी दिन्छु । कारबाही गर्नुपर्छ भनेकी थिइन्, केआई नेपालकी इन्चार्ज भट्टले भनिन्, अहिले त जाहेरी दिन्न हच्किएकी छन् । हामीले प्रहरीमा ठाडो निवेदनसम्म दिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज रणबहादुर विष्टले ठाडो निवेदन परेकाले आफूहरुले त्यस विषयमा बुझ्ने बताए । ‘थर उल्लेख नभएको दलालको नाम निवेदनमा आएको छ । हामीले उसलाई ल्याएर कुरा बुझ्छौं, विष्टले भने

साभार देशसंचार