9 Jestha, 2075 | 23 May, 2018 Wednesday

सर्वाधिक सफल फिल्म फ्रान्चाइजको रूपमा अघि बढिरहेको ‘छक्का पञ्जा’ फिल्मको तेश्रो श्रृखंलामा अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भएकी छन्।

दीपिका फिल्ममा अभिनेता दीपकराज गिरीको जोडी बन्नेछिन्। स्क्रिप्टको माग अनुसार दीपिका फाइनल भएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छन् ।

‘हामीलाई बोल्ड एण्ड ब्युटिफूल लेडीको आवश्यकता थियो’, निर्देशक निरौलाले फिल्ममा दीपिकाको भूमिका बारे भनिन्, ‘स्क्रिप्टमा भएको यो गुण हामीले दीपिकामा देख्यौं । स्क्रिप्टको डिमान्ड र टिमको सहमती पछि छक्का पञ्जा ३ मा उनी भित्रिएकी हुन् । ‘

यसअघिका दुई सिरिजमा दिपकको जोडी बनेकी नायिका प्रियंका कार्की यस फिल्ममा विशेष भूमिकामा प्रस्तुत हुने बताइएको छ । फिल्ममा दीपिका नयाँ रहेपनि, दीपक, प्रियंका, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरु यथावत नै रहनेछन् ।
दीपकराजको कथा तथा पटकथा रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराज हुनेछ । फिल्मको संवाद दिपक, जितु, केदार यमन श्रेष्ठले लेखेका हुन् । वैशाख १७ गतेदेखि फिल्म फ्लोरमा जानेछ। दशैंमा रिलिज हुने तय गरिएको फिल्म पोखरा र दमौलीमा फिल्म खिचिनेछ ।
-सेतोपाटी