9 Jestha, 2075 | 23 May, 2018 Wednesday
तीतोपाटी डट कम - अन्ततः ७ वर्ष पछि खुलेको कुवेतको एम्नेष्टिको अबधि गत अाइतबारदेखि सकिएको छ ।  कुवेत सरकारले अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई दिएको आममाफीमा यस पटक ३ हजार ७ सय १४ नेपालीले ट्राभल डकुमेन्ट लिएका छन् ।

गत जनवरी २९ तारिख देखि अप्रिल २२ तारिख सम्म ३७१४ जना नेपाली कामदारले ट्राभल डकुमेन्ट लिएको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ । राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार ट्राभल डकुमेन्ट लिनेहरुमा महिलाको संख्या २ हजार १ सय ९६ छ भने एक हजार चार सय उनासी पुरुस र ३९ जना बच्चा रहेका छन् ।

जनवरी २९ तारिख देखि फेब्रुअरी २२ तारिख सम्म भनिएको आममाफीको समय कुवेत सरकारले पुनः २ महिना थप गरेको थियो । थप गरिएको समय अनुसार अप्रिल २२ तारिख भित्र सम्पूर्ण डकुमेन्ट तयार गरेर स्वदेश नफर्के आममाफीको सदुपयोग गर्नबाट बन्चित हुनेछन् ।

यस्तै कुवेतमा दिइएको आममाफी प्रक्रियालाई बेवास्ता गरी कुवेतमा अबैधानिक रुपमा लुकेर वा भागेर बस्दै काम गर्दै गरेको पाइएमा पक्राउ गरि कानुन बमोजिम कारबाही गर्दै कालो सुचीमा राखेर देश निकाला समेत गरिने एवं खाडी मुलुकका देशहरु बहराइन, साउदी अरेबिया, कुवेत, कतार, ओमन, संयुक्त अरब इमिरेट लगायतका देशका पुनः रोजगारीमा जान प्रतिबन्ध लगाइने समेत बुझिन अाएको छ ।

स्मरण रहोस, यस अघि सन २०११ मा खुलेको अाममाफीमा ३६७५ जनाले नेपालीहरूले ट्राभल डकुमेन्ट लिएका थिए भने झण्डै अाधा जतिले मात्रै नेपाल फर्केका थिए । त्यतिखेर पनि कुवेत सरकारले ४ महिनाको अाममाफीको माैका दिएको थियो ।