9 Jestha, 2075 | 23 May, 2018 Wednesday
गजल - राम कँडेल अधीश
2018-04-23 | कोसेलीन्युज

गजल
हटायौं एउटा राजा सयौं राजा भएका छन् ! 
मनोमानी भयो तिनकै प्रजा जर्दा भएका छन् ! 

भयो हिंसा भए हत्या र अत्याचार बढ्दो छ 
दया भेटिन्न मान्छेमा सबै ढुङ्गा भएका छन् ! 

गरौं केही पुनः जागौं जुटौं आऊ दिदीबहिनी 
लडौं हामी सँगै मुद्दा सबै साझा भएका छन् ! 

बस्यौं वर्षौं सँगै हामी यही हाँसो खुसी बाँड्दै 
लडाए भाँडिए मान्छे कयौं टाढा भएका छन् ! 

व्यथा आफ्नै कहानी हो कहें सुन्ने भए देखि 
फुलाएँ फूलका थुंगा तिनै काँडा भएका छन् ! 

® राम कँडेल अधीश