9 Jestha, 2075 | 23 May, 2018 Wednesday
नारायण पोख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावनाको हिसाबले ठुलो मानिन्छ। यहाँको नयाँ निर्माण तथा बढ्दो अर्थतन्त्र र ब्यापारलाइ सन्चालन गर्नको लागि बिभिन्न देशबाट आप्रबासी कामदारको रुपमा मानिसहरु आएका छन।यी मध्ये धेरैजसो कामदारहरु एशियन मुलुकहरुबाट आएका भएपनि मध्यपुर्ब,अफ्रीका,युरोप,अमेरिका लगाएत धेरै देशका मानिसहरु समेत कुवेतमा कार्यरत छन।नेपालमा सामान्य देखि पढे-लेखेका मानिसहरुको नजरले खाडी मुलुकहरुलाइ र त्यहाँ जाने मानिसहरुलाइ साधारण कामदार(लेबर)को हिसाबले मात्र हेर्ने र युरोप अमेरिका लगाएत बिकासित मुलुकहरुमा साधारण कामदारको रुपमा जाने मानिसहरुलाई भने दक्ष अथवा अलि उच्चस्तरीय कोटामा हेर्ने आम मानसिकता अझै चली आएको छ।
 
करिब दुई दशक पहिला सम्म भारत छोडेर अन्य देशमा जानेहरु सबैलाई त्यती भिन्न रुपले हेरिदैन थियो किनकी यी देशहरुमा जानेहरुको संख्या समेत थोरै थियो।तर अहिले सर्ब-साधारण मनिसको नजरमा मात्र हैन,मेनपावर एजेन्सी देखि इन्सुरेन्स कम्पनि सम्म अनी श्रम कार्यालय देखि एयरपोर्ट सम्म खाडी मुलुक र अन्य मुलुकमा जानेहरु छुट्टै व्यवहार हुने गर्दछ।नेपालमा मात्र हैन ४-६ बर्ष पहिलासम्म कुवेतमा समेत यहाँका मानिसहरुका साथै विश्वका मानिसहरुले समेत नेपालीहरुलाई हेर्ने नजर र नेपालमा हाम्रो भोगाई बीच समानता थियो।सालाखाला सबैलाई साधारण कामदारको नजरले मात्र हेर्ने चलन थियो।यसको मतलब यहाँ आएका सबै मानिसहरु नपढेका थिएनन हाम्रै सरकारले उपलब्ध गराएका बिध्यालय,क्याम्पसहरुबाट राम्रो अंक ल्याई पास गरेका युवाहरु समेत थिए जो परिवार पाल्नकै लागि जस्तो सुकै काम गर्न तयार भएर आएका थिए।एक त सरकारले हामीलाई सिपमुलक शिक्षा दिन सकेन भने अर्कोतिर हामीलाई देशमै रोजगारीको अबसर पनि दिन सकेन ।यतिमात्र नभएर बिदेशी रास्ट्रहरुसंग सिप तथा तालिम र योग्यता भएकाहरुका लागि दक्ष, अर्द-दक्ष कामदारहरु उपलब्ध गराउदै राम्रो कामको लागि पहलकदमी गर्ने तथा हामीलाई त्यस सम्बन्धि सिप मुलक तालिमहरु दिने काम पनि गर्न सकेन।फलत नेपालीहरु जस्तोसुकै काम भएपनि बिदेश जानुको बिकल्पै थिएन ।नेपाली भनेपछि निर्माण कम्पनी र अन्य कम्पनीका सामान्य कामदार (लेबर),किल्नर,सेकुरिटी गार्ड,ड्राइभर,होटलहरुमा वेटर ,किल्नर र केहीमात्रामा कुकहरु भन्ने आम बुझाई थियो।यसभित्र एउटा सकारात्मक पाटो थियो त्यो के भने हाकिमहरु तथा सबै देशका मानिसहरुले नेपालीलाइ सोझा र मेहेनती भन्ने गर्दथे जुन कुरामा १०० प्रतिशत सत्यता पनि थियो। 

सकारात्मक वा खुशी लाग्दो पाटो:-
सामान्य काममा आएका कतिपय पढेलेखेका र केही मात्रामा नपढेका नेपालीहरु समेत कामको अनुभबकै आधारमा आज प्रतिष्ठित कम्पनीमहरुमा सुपरभाइजर ,म्यानेजर जस्ता पदमा कार्यरत छन।थोरै संख्यामा भएपनि नर्स देखि डाक्टर ,इन्जीनियर देखि एकाउन्टेन्ट,ब्यापार-ब्यबसाय बढाउने सेल्स एसोसियट समेतमा नेपालीहरुको उपस्थिति देखिन्छ जसले कोरिया,युरोप,अमेरिकामा कामगर्ने नेपाली सरह या त्योभन्दा बढी पारिश्रमिक पाउने गरेका छन।एक त अमेरिका वा अन्य यूरोपियन देशको भन्दा कुवेतमा जीवनयापन सहज,सरल र सस्तो छ।अर्को कुरा मेहेनती नेपालीहरुको कारण र पछिल्लोपटक कुवेतस्थित नेपाली राजदुताबासबाट खासगरी राजदूत यज्ञ बहादुर हमालको कार्यकालमा विभिन्नखाले सकारात्मक कार्यहरु जस्तै नेपालको कला संस्कृतिलाई कुवेतमा मात्र नभइ बिश्व सामु चिनाउने कुरामा, नेपालमा उत्पादन हुने सामानहरुलाइ कसरि कुवेतमा भित्राऊने,कुवेतकाब्यबासयीहरुलाई कसरि नेपालमा लगानी गर्नको लागी अभिप्रेरित गर्ने देखि दक्ष र अर्ध-दक्ष कामदारहरु ल्याउनको लागि राम्रो पहलकदमी गरिरहेका छन। फलस्वरुप केहि नर्स र सहायक नर्सहरु आइसकेका छन भने अन्य क्षेत्रमा आउने क्रम जारीनै छ।त्यतिमात्र हैन ७०-८० हजारको हाराहारीमा कुवेतमा रहेका नेपालीहरुको  बसोबास भएको ठाउँमा कसरि यो समाजलाई अनुशासित र सभ्य राख्न सकिन्छ भन्ने कुरामा नेपाली दुताबास र राजदुत स्वयं सजक रहेको कुरा सजिलै जान्न सकिन्छ। अझ उनले गरेको बिर्सनै नसकिने काम भनेको बर्सौं पहिलादेखि बिभिन्न कारणबाट कुवेतमा मृत्यु भएका र न्याय नपाएका परिवारहरुलाई क्षतिपुर्ति बाफत करोडौं रुपैया दिलाउने कार्यलाई लिन सकिन्छ।

कुवेतमा नेपाली दुताबासको अलाबा करिब ६९ वटा नेपाली संघ-संस्थाहरु पनि छन।यी मध्ये करिब आधा दर्जन जति परोपकारी मिडियाहरु,एन आर एन ए देखि राजनीतिक पार्टीका भात्री संगठनहरु,परोपकारी संस्था देखि बिभिन्न क्षेत्रगत तथा जात र धर्म समन्धी संघ-संस्थाहरु छन।यिनीहरुको आपसी हातेमालो र प्रतिस्पर्धा हुने दुवै अबस्थामा सरोकारवालाहरुलाई भने फाइदानै भएको हुन्छ।समग्रमा धेरै नेपालीहरुले बिभिन्न संघ-संस्थाहरु र माध्यमबाट आफ्नो कामबाट बचेको समयलाई परोपकारी काममा लगाउदै समाज सेवामा तन,मन र धनले लगाइरहेको अबस्था छ।यो अत्यन्तै सकारात्मक पक्ष हो। यी यावत पक्षलाइ हेर्दा यस्तो लाग्छ हामी प्रबासमा बसेका नेपालीहरुमा अबसर पाएको अबस्थामा देश बनाउने देखि नेतृत्व गर्ने खुबीको बिकास भईरहेको छ।

नकारात्मक या दुख लाग्दो पाटो:-
कुवेतका मानिसले मात्र नभई संसार भरिका मानिसहरुले नेपालीहरुलाइ सोझा,मेहेनती, इमान्दार र बिश्वासिला भनिरहेको अबस्थामा कतिपय नेपालीहरु कुवेतको कानूनले निषेध गरेका क्रियाकलापहरुमा प्रतक्ष वा अप्रतक्ष रुपमा संलग्न भएका छन।खास गरी लागूऔषध तथा घरेलु मदिरा उत्पादन र बिक्री वितरण गर्ने, यौन ब्यवसायमा संलग्नता, मदिरा सेवनगरि एक आपसमा झैझगडा-कुटाकुट गर्ने, भनेको समयमा डिउटी नजाने जस्ता कार्यहरुमा निरन्तर संग्लाग्नता भएको कुराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा नेपाली कामदारहरुका नराम्रा खबरहरु आईरहेका हुन्छन।जसले गर्दा दिन प्रती दिन हामी नेपालीहरुको विश्वनियतामा प्रश्न उठन थालेका छन।

बिशेष गरी सोझासाझा महिलालाई बन्धक बनाई वा झुटा आश्वासन दिएर घरबाट वा गरिरहेको कामबाट भगाई अबैधानिक बनाउदै नराम्रो क्रियाकलाप गर्न बाध्य बनाइएका घटनाहरु र नेपालीहरुबाटनै बेश्यालय सन्चालन गरेका घट्नाहरु समाचारमा प्रकाशित हुँदा भने सबै नेपालीहरुको शिर निहुरिएको छ।घरेलु महिला कामदारहरु ५० प्रतिशत भन्दा बढीले दुख पाइरहेको र पारिश्रमिक नपाइ शारिरिक वा मानशिक शोषणमा परिरहेको घटनाले घरेलु महिला कामदारहरु सुरक्षित नरहहेको प्रष्ट हुन्छ।खास गरी घरेलु महिला कामदारहरुलाई कुवेत ल्याउने एजेन्टहरुले यदी उनिहरुलाई कुनै पनि समयमा कुनै पनि समस्या परेको खन्डमा तुरुन्त उद्दार गर्न नसक्नु, घरेलु महिला कामदारहरु तालिम बिना नै कुवेत आउनु,घर भित्र काम गर्नेहरुलाई ललाई फकाई विभिन्नखाले प्रलोभन दिने र भड्काएर भाग्न बाध्य तुल्याउने जस्ता र बिशेष गरी पिडामा परेकाहरुलाई दुताबासले पनि कुवेती नागरिकको घरमै गएर उद्दार गर्न नसक्ने अवस्थाले पनि अबस्था दयनिय भएको छ।

समयमा उद्दार हुन नसक्दा र बिबिध कारणले कामगरिरहेको ठाउँबाट भाग्ने नेपालीहरु अन्तत अबैधानिक हुन्छन र अझै ठुलो समस्यामा पर्ने गरेका छन। अर्को तिर मेनपावर ब्यबसाय गरेर बसेकाहरु मारमा परेका कुराहरुपनि त्यतिकै सोचनीय छन किनकी उनिहरुले ल्याएर दिएका घरेलु कामदारहरुले घर छोडे पछी एजेन्टले कि त अर्को कामदार वा कि त पैसा फिर्ता गर्नु पर्ने हुन्छ। कुवेतमा पढेलेखेका बुद्धिजिबी नेपाली महिलाहरु प्रसस्त भेटिन्छन् पनि।कुनै सांस्कृतिक कार्यक्रम या तिज बेशेष,पिकनिक जस्ता कुराहरुमा उनीहरुको बाक्लो उपस्थिति देखिन्छ तर महिलाकै समस्याहरु समाधान तथा चेतनामूलक कार्यहरुमा उनीहरुको एक रुपता र एक्येबद्दता चाही देखिदैन।यसको मतलब उनीहरु सेवामा लागेकै छैनन् भन्ने पक्कै होइन,यदी यहाँ भएका नेपाली महिलाहरु सामुहिकरुपमा खडा हुने हो भने सोचेभन्दा बढी सफलता प्राप्त गर्न सकिने अवस्था छ। त्यसैगरी कतिपय समाजका अग्रजहरुको ब्यक्तिबादी मानसिकता या व्यक्तिगत स्वार्थपूर्तिको लागि सामाजिक संघ-संस्थाको प्रयोग हुनुको कारणले एक आपसमा द्वन्द र तिक्तता बढाई रहदा त्यसले निम्त्याएको अफ्ठ्यारो परिस्थिति पनि बुझी नसक्नुको अर्को बिडम्बना हो।शक्ति र पावरको हिसाबकिताबले गर्दा कतिपय बौदिक व्यक्तित्वको भूमिगत हुनु अर्को दुख लाग्दो पक्ष हो।अन्तमा स्वार्थ रहित बौद्धिक बर्गको पहिचान र उनीहरको संग्लाग्नता र सहकार्य बिना शान्त र अनुशासित समाजको कल्पना गर्नु आकाशको फल आँखा तरी मर भने जस्तै हो भन्दै "हामी नेपाली" भनेर चिनाइ राख्न र नेपालीहरुको सान बचाइ राख्न हामी सबै फेरी पनि जुट्न ढिला भई सकेको छ।एक-आपसमा फुटेर होइन-जुटेर अघी बढ्न सबैलाई नयाँ बर्ष-२०७५ले प्रेरणा मिलोस, शुभ-कामना।