13 Baishak, 2075 | 26 April, 2018 Thursday
विश्व सम्पदा दिवसः एक चर्चा
2018-04-17 | केदार नाथ खरेल
केदार नाथ खरेल - भोली वैशाख ५ गते विश्व सम्पदा दिवस मनाउने गरिन्छ । विश्वमा रहेका सम्पदाहरुको संरक्षण गर्नुको मुल उदेश्य भनेको नयाँ पिढीलाई ति सम्पदाहरु र त्यसको इतिहाँसलाई अवलोकन गर्न मिल्‍नेगरी जस्ताको त्यस्तै बचाई राखिदिनु हो । हाम्रो पूर्खाहरुले निर्माण गरेका पुराना कला कौशल र विभिन्न सम्पदाहरुलाई जोगाई राख्न र जिर्ण अवस्थामा रहेका सम्पदाहरुलाई पुनर्निमाण गर्दै जानु हाम्रो कर्तव्य हो । किनभने हाम्रो देशको कला कौशल र शान भनेको तिनै सम्पदाहरु हुन् जसले आ-आफ्नो देशको पुरातन  कौशल र सांस्कृतिक दर्शाउँछ ।

बेला-बेलामा हुने प्राकृतिक विनाशले गर्दा दिनानुदिन हाम्रो सम्पदाहरु लोप हुँदै जाने अवस्था सृर्जना भएको छ । २०७२ सालमा नेपालमा गएको भूकम्पले धेरै सम्पदाहरु ध्वस्त भए। ति मध्ये काठमाण्डौको घण्टाघरलाई पनि लिन सकिंन्छ । ति सम्पदाहरुलाई निर्माण गर्नु पर्छ भन्दै वर्षेनी विभिन्न सेमिनार र गोष्टिहरु हुन्छन् तर हाम्रो सम्पदाहरु अझैपनि भग्नावशेष अवस्थामा छन्। तिन वर्ष बित्दा पनि ति सम्पदाहरु पुनर्निमाण हुन नसक्नु लज्जस्पद मान्न सकिंन्छ । विभिन्न दातृ राष्ट्रहरुले खरबौं रकम दिने घोषणा गरे। तर हाम्रो सम्पदाहरु न निर्माण भए न सरकाले कुनै चासो लिएको छ। 

दुई महिना भित्र काठमाण्डौमा धुलो र खाल्टा खुल्टी नहुने भनेर भाषण र चुनाबी घोषणा-पत्रलाई जनताले पत्याएर भोट दिए तर आज वर्ष बित्न लाग्यो तापनि धुलो र खाल्टाखुल्टी कायमै छन् । हाम्रो देशको ऐतिहाँसिक धरोहर र सम्पदाहरु ढलेकै अवस्थामा छन् । ति भग्नाअवशेषमा रहेका सम्पदाहरु पुनः निर्माण भए नेपालको पर्यटन विकाशमा टेवा पुग्ने थियो ।

विश्वभर रहेका सम्पदाहरुलाई युनेस्को नामक राष्ट्रसंघीय निकायले विश्व सम्पदाको सूचिमा राख्ने गर्दछ । युनेस्कोले कुनै पनि सम्पदालाई सुचिकृत गर्न १० मापदण्डहरु तयार पारेको हुन्छ । ति दस मापदण्ड मध्ये कम्तिमा एक मापदण्ड पुरा भए पनि त्यसलाई विश्व सम्पदामा सुचिकृत गरिन्छ। ति सुचिकृत गरिएको मापदण्ड भित्र पर्न सफल सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका हुन् । त्यसैगरी १९औं सताब्दीमा पहिचानमा आएको सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वव्यापी सम्पदाका रुपमा परिचित छ । विश्वकै अग्लो हिमाल सगरमाथा सहित ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम, थोमसेर्कु वरिपरिको हिमक्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समेटिएर रहेको छ । यसको क्षेत्रफल ११४८ वर्ग किलोमिटर रहेको छ । यस निकुञ्ज क्षेत्रमा कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल जस्ता वन्यजन्तु पाइन्छन् । 

ति सम्पदा बाहेक लुम्बिनी अर्को ऐतिहाँसिक सम्पदा क्षेत्र हो । यो सम्पदा इशापूर्व ६२३ अर्थात पाँचौं शताब्दीताका गौतम बुद्धको जन्मथलोका रुपमा अस्तित्वमा आएको हो । यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ र शाक्य पुष्करिणी तलाउ रहेकाछन् । चितवन राष्ट्रिय निकुञ्ज जैविक विविधताका लागि कहलिएको सम्पदा एसियाकै संरक्षित क्षेत्र मध्येको महत्वपुर्ण क्षेत्र हो ।यो नेपालको सवैभन्दा पहिले घोषणा गरिएको राष्ट्रिय निकुञ्ज पनि हो । 

सन् १९७३ मा स्थापना भएको यस निकुञ्ज विश्वमै दुर्लभ जनावरहरु एकसिङ्गे गैंडा, पाटे बाघ र घडियाल गोहीका कारण प्रख्यात छ । यहाँ अन्य वन्यजन्तुका साथै सयौं प्रजातिका वनस्पतिहरु रहेकाछन् । चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सम्पदै सम्पदाले भरिएको काठमाडौं उपत्यका अर्को विशेष सम्पदा क्षेत्र हो । यहाँका प्राचिन कलात्मक मठमन्दिरहरु हेर्न विश्वभरबाट बर्षेनी लाखौं पर्यटकहरु आउने गर्दछन् । 

काठमाडौं उपत्यकाका ऐतिहाँसिक दरवारहरु, बौद्ध स्तुप र मन्दिर लगायत सात स्मारक क्षेत्र छन् ।  काठमाडौंको दरवार क्षेत्र, पाटन दरवार, भक्तपुर दरवार, विश्वभरिका श्री पशुपतिनाथ मन्दिर, पद्मकण्ठगिरी पहाडको थुम्कोमा अवस्थित लिच्छवीकालिन अति प्रसिद्ध स्वयम्भूनाथ, दक्षिण एसियाकै ठूला स्तूपमध्येको एक ३६ मिटर अग्लो बौद्धनाथ स्तूप र चाँगुनारायण मन्दिर सम्पदा क्षेत्रका मुख्य आकर्षण हुन् । यी सम्पदाहरु सन् १९७९ मा विश्व सम्पदामा सूचीकृत भएका थिए ।

सन् १९९६ पछि नेपाल सरकारले थप १५ वटा राष्ट्रिय सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न युनेस्कोसँग माग गरेको छ । ती मध्ये प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिलौराकोट दरबार, मुस्ताङ जिल्लाको मुक्तिनाथ उपत्यका र आसपास रहेका गुफा वास्तुकला, गोरखा दरबार, रामग्राम, खोकना, लो-मान्थाङ, बज्रयोगिनी मन्दिर क्षेत्र र साँखुका मानव बस्तीहरु, कीर्तिपुरको मध्यकालीन मानव बस्तीहरु, रूरू ऋषिकेश क्षेत्र, नुवाकोट दरबार, रामजानकी मन्दिर, तानसेनको मध्यकालीन नगर, सिंजा उपत्यका र दैलेखको भुर्ती मन्दिर पनि हुन् । 

 यूनेस्कोले कुनै पनि राष्ट्रमा अवस्थित विशेष साँस्कृतिक महत्व राख्ने यस्ता सम्पदाहरुलाई विश्व सम्पदा समितिको बैठक मार्फत सूचीबद्ध गर्दै आएको छ । यस्ता सम्पदाको संरक्षणका लागि समेत युनेस्कोले सहयोग पुर्याउँदछ ।