9 Baishak, 2075 | 22 April, 2018 Sunday
गाउँ रित्तिदै, लेक भरिंदै
2018-04-16 | तीताेपाटी डट कम

तीताेपाटी डट कम — जिल्लाको पूर्वी भेगका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाको ‘सिजन’ सुरु भएसँगै मानिसहरु लेकतर्फ उक्लन थालेका छन्


विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा संकलन क्षेत्रमा ३ महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को शुरु भएको छ । सीमावर्ती क्षेत्रका बासिन्दाले यार्सागुम्बा संकलन गर्न गाउँ छाडेका हुन् । भोटेकोशी गाउँपालिकाको मार्मिङ, सेलाङकट्टी ,फुल्पिङकट्टीदेखि चौतारा नगरपालिका, जुगलजस्ता हिमाली गाउँका स्थानीयहरु सपरिवार लेक उक्लन थालेका हुन् ।


वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सागुम्बा संकलन पूर्व नै स्थानीयले ३ महिनाको लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामाग्री लेकतर्फ पुर्‍याउने गर्छन् ।


लेकलाई लक्ष्य राखेर दाउरा, गोठदेखि पालको तयारी गर्न स्थानीयहरु चैत नसकिंदै संकलन क्षेत्रमा पुग्छन् । यार्सा इलमको कारणले गाउँबाट बाहिरिएका युवा, महिला सबैजस्तो परिवार सामूहिक रुपमा यार्सागुम्बा सिजनको योजना बनाउँदै लेकको गाउँमा आइपुगेका भेटिन्छन् ।


‘बाहिरी जिल्लाकासमेत् यार्सागुम्बा संकलन गर्न यहाँ आइसकेका छन्,’ भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीका अनेश नेपालले भने, ‘यार्साको आर्कषणले बास बस्नेहरु दैनिक बढ्दैछन्, नारायणथान्गाउँको माथिल्लो गाउँटोलको भेग यार्सा संकलकले भरिन थालिसकेको छ ।’


उनले राजधानीलगायतका अन्य स्थानमा अस्थाई बसोबास गर्ने स्थानीय समेत यार्सागुम्बा संकलनका लागि गाउँ फर्केको बताए । ‘यार्सायाम सुरु भएपछि वर्षैपिच्छे यस्तै भिड हुन्छ, यहाँबाट पनि लेक जानेको लामो लस्कर हुन्छ,’ नेपालले भने ।


लेक जानेका कारण अहिले बजारमा सरसामान किन्नेको निकै भिडभाड हुन थालेको छ । लेकमा आवश्यक पर्ने जुत्ता ज्याकेटलगायतका न्यान लत्ताकपडा तथा उपभोग्य सामाग्री खरिद गर्नेका कारण कारोबार भइरहेको व्यवसायीको भनाइ रहेकाे कान्तिपुरमा समाचार छ  ।


बैशाखदेखि असार महिनासम्म यार्सा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी, महिला, हिडँडुल गर्न नसक्ने बालबालिका मात्र हुने गर्छन् । ‘प्राय अहिल्यै गाउँ रित्याएर लेकको उकालो लागि सके, मैलेपनि धेरै तैयारी सकेर यहाँ आइपुगेको छु,’ नारानथानमा भेटिएका भोटेकोसी गाउँपालिका सेलाङकट्टीका सुन्दान्जे शेर्पाले वरीपरीका बस्ती देखाउँदै भने, ‘यहाँबाट देखिने सबै गाउँ अब रित्तिइसके, सबै यार्सा क्षेत्र डुल्दैछन् ।’ गाउँमा केही अशक्त र वृद्धवृद्धा बाहेक अरु सबै परिवार नै यार्सा टिप्न आएको उनले बताए ।


सेलाङकट्टीको तल्लो माख्लो टोल, शेर्पा बस्तीमा ३ सय परिवार यार्सा संकलन गर्न नारानथानमा बास बसेका छन् । ‘पूरा टोलबस्ती सुनसान बनाएर आएका सेलाङकट्टी, मार्मिङजस्तै प्राय सबै गाउँका परिवार यहाँ बन्दोबस्तीको सम्पूर्ण तयारीमा जुटेका देखिन्छन्’ शेर्पाले भने ।


हिमाली गाउँ फुल्पिङकट्टीको नारायणथानबाट ७ घण्टाको यात्रापछि यरमाला, देउढुंगा हुँदै दोलखा जोड्ने सीमामा पुगिन्छ । सोही क्षेत्रमा यार्सा टिप्नेको ताँती नै लाग्ने गरेको छ । स्थानीय तहको समन्वयमा संरक्षण केन्द्रले यार्सा संकलन क्षेत्रमा जानेहरुबाट राजस्व संकलन गर्ने कामको पूरा तयारी गरिसकेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहका अनुसार गाउँपालिकामा बसोबास गर्नेबाट प्रतिव्यक्ति पाँचसय र बाहिरी जिल्लाका संकलकबाट दुई हजार र अन्यबाट तीन हजार राजस्व संकलन गरिनेछ । ‘संकलकले नियम पूरा गरेर मात्रै कामलाई अगाडी बढाउन पाउनेछन्,’ उनी भन्छन्, ‘अवान्छनीय गतिविधि हुन् बिलकुल दिने छैनौं ।’


आर्थिक वर्ष ०७५/७६ देखि यार्सासम्बन्धी नयाँ मापदण्ड बनाएर गाउँपालिकाबाट राजस्व संकलन गरिने भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यस वर्षसम्म संरक्षण केन्द्रले संकलन गर्नेछ, आउँदो वर्षपछि गाउँपालिकास्तरीय कानुनद्वारा नियमन गरिनेछ,’ उनले भने ।