9 Baishak, 2075 | 22 April, 2018 Sunday
केदार नाथ खरेल- दाइजोको कारण कयौं चेलीबेटीहरुले ज्यान गुमाउनु परेको छ, कयौं घरबाट निकालिएका छन्, कोही विवाह मण्डबबाट नै दुलहीलाई छोडेर हिंड्ने देखि कोही विवाह मण्डपमा दाइजोको लालचमा बार्गेटिङ गरी दुलही पक्षलाई सताउने गर्छन्, भने कयौंले विवाहको भोली पल्टै श्रीमतिलाई दाइजो कम दिएको बाहनामा कुट्पिट गरी अंग-भंग भएको घटनाहरु समाचार मार्फत दिनहुँ पढ्दै र सुन्दै आएका छौं । 

आज यस्तै एउटा घटना केही दिन पहिले अर्थात यही चैत्र १३ गते उनलाई उनका श्रीमान, सासु र ससुरा मिलेर जलाएर मार्न खोजेको घटनालाई हामी तपाई समक्ष पस्कनेछौं। 
पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासू-ससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन्। दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई मार्ने प्रयास भएको थियो। 

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले माइती पक्षले प्रतिरोध गरेपछि घर पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले किटानी जाहेरीमा बयान गरेकी प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।

घटनलाई दबाउन रबिनालाई नौ दिनसम्म घरमा लुकाई राखिएको थियो । रविना चैत्र २२ गते घरबाट उम्किन सफल भए पश्चात उनी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी उप-क्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार गर्न ढिलो भएकोमा घाउ धेरै पाकेर बिग्रिएको चिकित्सकको भनाइ छ।
रविनाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै घर पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए  ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले कान्छी श्रीमती ल्याएको र कान्छीबाट एउटा छोरो भएको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।