13 Baishak, 2075 | 26 April, 2018 Thursday
तीतोपाटी डट कम - गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ ।
पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक किताबहरु छिचोल्न थालेकी छिन् । पछिल्लो समयको कुरा गर्ने हो भने उनी शशी थरुरको ‘ह्वाई आइ एम हिन्दु’ पढ्दैछिन् ।


एक वर्षभन्दा बढि भयो, उनले राजनीति गर्नलाई रेडियो नेपालको स्थाई जागिर छोडेको । २०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्द्रिय महाधिवेसनमा उम्मेदवारी दिन पुगेकी थिइन् ।

संगीतबाटै लोकप्रियता कमाइरहेकी उनलाई किन राजनीतिको भोक जाग्यो त ?

कोमल भन्छिन्, ‘गीत-संगीतका क्रममा म देशका लगभग सबै जिल्ला पुगेँ ।  नेपाली समाजका विभिन्न आयामहरुलाई नियाल्ने मौका पाएँ । त्यसपछि देखेँ, जता पनि पोलिटिक्स हावी छ । अनि महसुस गरेँ, समाज परिवर्तनका लागि राजनीति नै गर्नुपर्ने रहेछ । त्यसैले बोल्ड निर्णय लिएँ ।’

राजनीतिमा लाग्ने सोच बनाइसकेपछि कुन पार्टीबाट राजनीति गर्ने भन्ने प्रश्न आयो । उनी सबै पार्टीका नेताहरुसँग नजिक थिइन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बढि प्रभावित थिइन् । यो पार्टीले उठाएको राजतन्त्र र हिन्दू राज्यको एजेन्डा उनको मनको नजिक थियो ।

‘त्यहीबेला कमल थापाज्यू, पशुपति शम्शेर राणाज्यूले, लोकेन्द्रबहादुर चन्दज्यूले मलाई एप्रोच गर्नुभयो,’ कोमलले भनिन्, ‘उहाँहरुको आग्रह स्वीकारेर राप्रपामा गएँ ।’

त्यसो त उनी एमालेका अध्यक्ष केपी ओलीसँग पनि नजिक थिइन् । तर, ओलीले उनलाई कहिल्यै पार्टीमा निम्तो गरेका थिएनन् ।



तर, कोमल राप्रपामा धेरै टिकिनन् । छोटो समयमै सो पार्टीबाट विरक्तिइन् र एमालेमा प्रवेश गरिन् । उनलाई संसद बनाउने लोभ देखाएर एमालेमा ल्याइएको चर्चा पनि चल्यो ।

तर कोमल भने एमालेका एजेन्डाहरुबाट आकषिर्त भएर आएको बताउँछिन् ।

‘एमालेको सैद्दान्तिक आधारशीला बलियो देखेँ । नेताहरुमा इच्छाशक्ति देखेँ । पछिल्लो समयमा एमालेको विकासको एजेन्डाले आम जनतालाई क्याच गरेको पाएँ । समृद्ध मुलुकको मेरो परिकल्पना एमालेले पूरा गर्छ जस्तो लाग्यो । त्यसैले पार्टी परिवर्तन गरेँ,’ उनी भन्छिन् ।

एमालेले उनलाई राष्ट्रिय सभाको संसद बनायो । तर, त्यतिबेला कठोर प्रतिक्रियाहरुको सामना गर्नुपर्‍यो । पार्टीका त्यागी र संघर्षशील व्यक्तिहरुलाई पन्छाएर हिजो मात्र भित्रिएकी गायिकालाई मौका दिइएको भन्दै सामाजिक सञ्जाल उर्लियो ।

यस्ता आलोचनाहरु कत्तिको विचलित बनायो उनलाई ?

‘अहँ म विचलित भइनँ, बरु भन्नुहुन्छ भने,’ कोमलको तर्क छ, ‘यी आलोचनाले मलाई झन् इस्पात बनाए, दृढ बनाए । जसलाई माया गरिन्छ, उसैलाई त गाली पनि गरिन्छ नी होइन र ?’

कोमल अहिले आफू एउटा परिक्षामा बसिरहेकी छु भन्ने ठान्छिन् । उनलाई उत्तिर्ण हुनुछ, यनकेन प्रकारेण ।

अँ, उनी प्रत्यक्ष चुनाव लडेरै सांसद बन्न चाहन्थिन् । आफ्नो लोकपि्रयताको पारो नाप्नलाई पनि जनतामाझ परिक्षा दिनु थियो उनलाई । तर, अवसर मिलेन । किन उनले प्रत्यक्ष चुनावमा टिकट पाइनन् ?

‘म पार्टी एकताको कोपभाजनमा परेँ सायद’ उनले भनिन् ।

तर कुनै व्याख्या गरिनन् ।

सांसद पदको सपथ खाइरहँदा उनको दिमागमा के थियो ?

‘त्यतिबेला मेरो मन-मस्तिष्कमा देश र जनताको चित्र थियो । देश विकासको अठोट थियो । एकदमै ठूलो जिम्मेवारीवोधले थिचेजस्तो महसुस भइरहेको थियो,’ कोमल भन्छिन् ।

धेरै ठूला कार्यक्रमहरु सञ्चालन गरेकी, रेडियोमा बोलेकी कोमललाई संसदमा बोल्दा कति फरक अनुभूति भयो ?

‘त्यो मेरो जीवनको अविष्मरणीय दिन थियो । पहिलोपटक संसदमा बोल्दा मेरो छाति गर्वले ढक्क फुलेको थियो । विगतमा ठूला-ठूला कार्यक्रमहरुमा बोल्दाखेरी पनि कहिल्यै त्यस्तो भावना उर्लेको थिएन,’ कोमलले सम्झिइन्, ‘यो एउटा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने मञ्च थियो । अडियन्स फरक थिए । विद्वतहरुको सभाकक्षमा मैले आफ्नो मौलिकता कायम राख्दै बढि तार्किक रुपमा पेश हुनुपर्ने थियो । गाम्भिर्यता प्रदर्शन गर्नुपर्ने थियो । मैले त्यही प्रयास गरेँ ।’

आफ्नो दोस्रो भाषणमा भने उनले एउटा कविता सुनाएकी थिइन्, शहिदहरुमा समर्पित । साथै यूरोपियन यूनियनले नेपालमा गरेको हस्तक्षेपको विरोध गरेकी थिइन् ।

उनी अहिले राष्ट्रिय सभामा धेरै सांसदहरुसँग घुलमिल भइसकिन् । एमालेका मात्र नभएर अन्य पार्टीका सांसदहरु पनि उनीसँग नजिकिन खोज्छन् ।

‘म त सबैकी साझा सांसदजस्ति भएकी छु,’ कोममले भनिन् ।



उनी संसद जाँदा सारीचोलो नै लगाउँछिन् । पार्टीले पोशाकको बारेमा औपचारिक ह्वीप त जारी गरेको छैन, तर, पदिय गरिमा कायम राख्नका लागि औपचारिक पोशाक नै लगाउनु उपयुक्त हुन्छ भन्ने उनलाई लाग्छ । उनी संसदमा सकभर मोबाइल चलाउँदिनन् ।

‘संसद वैठकमा मेरो मोबाइल अफ हुन्छ,’ उनले भनिन् ।

कोमलले आफ्नो राजनीतिक व्यक्तित्व विकासका लागि सहयोग गर्न एउटा टिम नै बनाएकी छिन् । टिमका प्रवुद्ध व्यक्तिहरुसँग उनी नियमित सम्पर्कमा रहन्छिन् । सरसल्लाह गर्छिन् । सायद यसैले होला उनले आफूलाई बदल्न सफल भएकी ।

‘म सर्वज्ञानी होइन, त्यसैले आफूलाई थाहा नभएका कुरा मेरो टिमका विज्ञहरुसँग सोध्ने गर्छु,’ उनले भनिन् ।

सांसद त भइन्, अब मन्त्री बन्ने विषयमा के सोचेकी छिन् ?

हाँस्दै भनिन्, ‘अहिले त यो विषयमा सोचेकी छैन । तर, नो थिंग इज इम्पोसिबल । राजनीति गरेपछि सेवा गर्ने अवसर त खोजिहालिन्छ । त्यसैले मन्त्री बन्ने चाहना छैन भन्दिन । भर्खर त राजनीतिक यात्रा सुरु भएको छ । ढिलो चाँडो पक्कै (मन्त्री) हुन्छु ।’

फुलटाइम राजनीतिमा लागे पनि कोमलले गायनलाई चटक्कै छोड्ने मनस्थितिमा छैनन् । संगीत आफ्नो नशामै भएको उनको भनाई छ ।



‘अब मेरो पहिलो प्राथमिकता राजनीति र समाजसेवा हो, तर त्यसो भन्दैमा संगीतबाट अलग रहन चाहिँ सक्दिनँ,’ उनले भनिन् ।

कोमललाई अहिले पनि देश-विदेशका स्टेज कार्यक्रमहरुबाट निमन्त्रण आउन टुटेको छैन । तर उनले भ्याएकी छैनन् ।

उनलाई आउँदो तिजका लागि अहिले नै आमन्त्रण आइसकेको छ । अमेरिका र अष्ट्रेलियाबाट निमन्त्रणा आएको छ । ती कार्यक्रम भने उनी छुटाउन चाहन्नन् । तर, त्यतिबेला संसद वैठक पर्‍यो भने के गर्ने अहिलेदेखि नै अन्योलमा छिन् ।

कोमल ओलीले आफ्नो संगीत यात्रामा कैयन सुमधुर गीत गाएकी छिन् । तर, उनको ब्रान्ड बन्न पुग्यो, उत्ताउलो गीत ‘पोइला जान पाम’ । उनी राष्ट्रिय सभामा आउँदा धेरैले यो गीतलाई जोडेर उनको खेदो गरे ।

के लाग्दो हो कोमललाई ? के उनी ‘हत्तेरी, किन यो गीत गाइछु नी’ भनेर पछुताउमा छाति पिटिरहेकी होलिन् ?

अहँ । बिल्कुल होइन । उनलाई कुनै ग्लानी छैन । उनी पोइला जान पामलाई उत्ताउलो गीत होइन, ‘नारी शशक्तिकरणको प्रगतिशील गीत’ का रुपमा ब्याख्या गर्छिन् ।

‘जति आलोचना भए पनि’ उनले भनिन्, ‘यो गीतमा उत्ताउलोपन पाउँदिन । यसले त एउटी अविवाहित नारीको स्वतन्त्रता र स्वच्छदताको चाहनालाई प्रष्फुटन गरेको छ ।’

‘आगामी दिनमा पनि पोइला जान पाम् जस्तो गीत फेरि गाउनु हुन्छ त ?’

यो प्रश्नमा अलि बचेर जवाफ दिइन् ।

‘हरेक गीत फरक फरक प्रकृतिका हुन्छन् । ठ्याक्कै यस्तै गीत दोहोर्‍याउने कुरा आउँदैन । तर, यस प्रकारका नारी जागरणमुखी गीतहरु भने गाइराख्छु ।’

-अनलाइनखबर