9 Baishak, 2075 | 22 April, 2018 Sunday

 उमाकान्त पाण्डे-युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा नेपाल फर्किन पाउनु हुने भएको छ ।

बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २ सय दिराम ९ अर्थात झन्डै १ करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

सन् २०१७ को मार्चमा आबुधाबीको उपल्लो अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै १ करोड ब्लड मनी तिर्नुपर्ने थियो । यही रकम तिर्न नसक्दा लोकेश युएईबाट फर्किन पाउनुभएको थिएन ।  त्यो पैसा लोकेशले नभई बीमा कम्पनीले तिर्नुपर्ने फैसला अदालतले गएको जनवरीमा सुनाएको थियो ।

लोकेशको ब्यथा बल्झिएको र मुद्दा अल्झिएको बारे दुतावासका नव नियुक्त कार्यबाहक राजदुत सागरप्रसाद फुँयालले आँफैले लोकेशको मुद्दा हेर्ने उज्यालोलाई बताउनु भएको थियो । अदालतले तोकेको पैसा बुझाउनु पर्ने समयसम्म बीमा कम्पनीले नतिरेपछि दूतावासले कुटनीतिक प्रयास थालेको थियो ।

कार्यवाहक राजदूत फुँयालसहित दुतावासका दितिय सकिव कृष्ण अर्याल, जनसम्पर्क अधिकृत इर्फान आलम सहितको टोलीले गएको हप्ता आबुधाबी अदालतका प्रमुख न्यायाधीश अब्दला रहमान अलीसँग छलफल गरेको थियो ।

यही भेटमा बीमा कम्पनीको तर्फबाट मुद्दा लडिरहेका वकिल महमद मनिरलाई समेत बोलाएर त्यसबारे जानकारी लिईएको थियो । अदालतले गएको जनवरी ३ मा रकम बुझाउन भने पनि आबुधाबीको अल जाफ्रा इन्सुरेन्स कम्पनीले समयमा रकम नतिरेकाले अल जाफ्राको कारोबार बन्द गर्नेगरी कम्पनी सीज गरिदिने भनेपछि बीमाले रकम बुझाएर समस्या समाधान तर्फ लागेको हो ।

अब केही प्रशासनिक प्रक्रिया पुरा गरेर सक्दो छिटो उहाँलाई नेपाल पठाउने प्रयासमा रहेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो । अदालतले दिएको एउटा फारम भरेर बुझाउनुपर्ने भएकाले त्यो फारम दूतावासमा ल्याइएको छ। आइतबार लोकेश दूतावास पुगेर फारम भर्नुभएको छु । कार्यवाहक राजदुत सागरप्रसाद फुँयालले उज्यालोसँग भन्नुभयो,‘फारम भरेपछि उहाँको पास्पोर्ट र कम्पनीबाट पाउनुपर्ने क्षतिपुर्ती सम्बन्धमा दुतावासले प्रकृया थाल्ने छ र उहाँलाई नेपाल पठाइने छ ।’  
फर्किन नपाउनुको कारण

डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत उहां सन् २०१४ को जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा लोकेशले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको थियो ।

घर विदामा गएर फर्किएको १८ दिनमै भएको दुर्घटनामा परेर उहाँ आँफै पनि गम्भिर घाईते हुनुभयो । उहाँको कष्टकर जीवन बारे उज्यालोमा समाचार प्रकाशन भएको थियो ।  

दुतावास मन्दिर, राजदूत र कृष्ण सर मेरा लागि भगवान : लोकेश  

चार वर्षदेखि घर फर्किने समय कुरेर बस्नुभएका लोकेशलाई आफ्नो मुद्दा किनारा लागेको बिषयले खुशी बनाएको छ ।

‘मलाई उद्दार गर्न खटिनेहरुका कारण झन धेरै खुशी भएको छुु’ लोकेशले भन्नुभयो ‘मेरो बिषय सुनुवाई भएन भन्दै धेरैपटक दुतावासले गाली गरे, तर संचारकर्मी साथीहरुले संयमित भएर लेखिदिनुभयो । आखिर दुतावास मेरा लागि मन्दिर सावित भयो, राजदूत र कृष्ण अर्याल सर मेरो लागि भगवान हुनुभएको छ ।’  

लोकेशलाई ताप्लेजुङ् र झापाली समाजले अहिले पनि सहयोग गरिरहेका छन । ताप्लेजुङ् समाजले लोकेश नेपाल फर्किने भएपछी उहाँको उपचारमा आर्थिक सहयोग गर्ने र त्यो रकम अप्रिल २० तारिक आफ्नो अधिवेशनको दिन प्रदान गर्ने योजना बनाएको समाजकी कार्यबाहक अध्यक्ष सोनी भण्डारीले बताउनुभयो ।

त्यस्तै सामाजिक सन्जाल मार्फत लोकेशका झापा तथा ताप्लेजुङका सहकर्मील पनि रकम सकंलन गरिरहेका छन् । त्यो रकम लोकेशलाई हस्तान्तरण गर्ने लोकेश उद्दार अभियानका घनेन्द्र खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो ।

लोकेश फर्किने खबरले परिवारमा खुशी छाएको छ । लोकेशले भन्न नभ्याउँदै परिवारले सामाजिक सञ्जाल मार्फत खबर थाहा पाएको हो । हातमा पास्पोर्ट र टिकट आएपछि मात्रै परिवारसँग खुशी बाड्ने सोच्नुभएका लोकेशलाई श्रीमती ममता न्यौपानेले फोन गरेर सोध्नुभयो ‘अब त आउने दिन गन्न थाल्यौं, नयाँबर्ष सम्म आउनुहुन्छ होला है ?’

-उज्यालो