9 Baishak, 2075 | 22 April, 2018 Sunday
गुलाम नबी मन्सुर-
       प्रधानमन्त्री के.पि. वलीको तिन दिने राजकिय भ्रमणको लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चैत्र २३ देखि २५ सम्म रह्यो । यस बीचमा दुई देशका प्रधानमन्त्रीहरु मात्रै बसेर दुवै देशको हितको लागि के के गर्न सकिंन्छ भनेर छलफल गरेका थिए ।नेपालबाट भ्रमण दलमा सामेल प्रतिनिधीहरु र भारतिय प्रतिनिधीहरु बीच बृहत छलफल गरी सौहार्द र मैत्रीपूर्ण रुपमा छलफल गरी विभिन्न एजेण्डाहरुमा छलफल गरी बाह्र बुँदे सम्झौतामा हस्ताक्षर गरियो । 

      भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रतिबद्धताबाट भारत र नेपाल दुई देशबीच जलमार्ग विस्तारका लागि कति सकारात्मक छ भन्ने कुरा बुझ्न सकिन्छ। मोदीले 'नेपाल जमिनबाट मात्र जोडिएको थियो र अब समुद्रसँग पनि जोडिनेछ' भन्नुभएको छ। यो हाम्रा लागि खुसीको कुरा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भने ।  

     पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष गरेको भारत भ्रमणको समयमा सो परियोजनाको विस्तृत परियोजना (डीपीआर) प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउन दुवै देशले सहमति गरेको भएपनि, लामो समयदेखि तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय प्रधानमन्त्री मोदीलाई ध्यानकार्षण गराएका थिए। योसँगै दुई देशबीच ऊर्जा आदान-प्रदान सहज बनाउनका लागि अन्य तीन वटा विषय पनि उठाइने ऊर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

     हालसम्म पञ्चेश्वर परियोजनाबाट वर्षभर जुनसुकै बेला न्यूनतम ९२५ मेगावाट विद्युत उत्पादन हुने विषयमा दुवै पक्षबीच सहमति भइसकेको छ। राजधानी काठमाण्डूलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति जनाएका छन्। प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सहमति अनुसार भारतीय पक्षले एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण एक वर्षभित्र पूरा गर्नेछ। भारतीय पक्षको आर्थिक सहयोगमा त्यो निर्माण हुनेछ।

के छ त संयुक्त वक्तव्यमा ?
       नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली २०१८ अप्रिल ६ देखि ८ सम्म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएको छ । २०१८ अप्रिल ७ मा दुवै देशका प्रधानमन्त्रीले व्यापकरूपमा दुई देशबीच रहेको बहुमुखी सम्बन्धको विस्तार गर्ने विषयमा समीक्षा गर्नुभयो । उहाँहरूले दुवै देशका सरकारी, निजी क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्न सहमत हुनुभएको छ । नेपाल-भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित उच्चस्तरको राजनीतिक आदान-प्रदानको महत्त्व रहेको कुरामा सहमति जनाउनु भएको छ ।

      नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतसँग मित्रता सम्बन्धलाई अझ बलियो बनाउनका लागि जोड दिइने कुरा बताउनुभएको छ । उहाँले आर्थिक प्रगति र विकासका लागि भारतको प्रगति र समृद्धिबाट लाभ उठाउनका लागि द्विपक्षीय सम्बन्ध विकास गर्न नेपाल सरकारको इच्छा रहेको कुरा व्यक्त गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकता अनुसार नेपालसँग आफ्नो साझेदारी बलियो बनाउन आफ्नो सरकार प्रतिवद्ध रहेको कुरा बताउनुभएको छ । 

     ‘सबका साथ, सबका विकास’को नारा अनुसार भारत समावेशी विकास र समृद्धिको साझा दृष्टिका लागि आफ्ना छिमेकीहरूसँग भारतको सम्बन्धको एक महत्वपूर्ण ढाँचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि सरकारले आर्थिक परिवर्तनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनु भयो । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ । 

        दुवै प्रधानमन्त्रीहरूले नेपालको वीरगञ्जमा एकीकृत चेकपोस्टको उद्घाटन गर्नुभयो । यसको प्रारम्भिक परिचालनले सीमापार व्यापार बढाउने र सामानहरूको पारगमन र साझा विकासका लागि अधिक अवसर ल्याउने मानिसहरूको आन्तरिक गति बढाउने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो । दुवै प्रधानमन्त्रीले मोतिहारी-अमलेखगञ्ज क्रस बोर्डर  पेट्रोलियम आपूर्ति पाइपलाइनको शिलान्यास गर्नुभयो । दुबै प्रधानमन्त्रीहरूले नेपालमा द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको आवश्यकतालाई जोड दिनुभयो र सहकार्यको एजेन्डाहरूलाई बढावा दिनका लागि अहिले अस्तित्वमा रहेका द्विपक्षीय संयन्त्रहरूलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।  
पारस्परिक हितका निम्नलिखित प्रमुख क्षेत्रहरूमा तीनवटा अलग साझेदारी भयो ।
• भारत-नेपाल : कृषिमा नयाँ साझेदारी
• रेल लिङ्कहरू विस्तार गर्दै रक्सौललाई नेपालको काठमाडौंसम्म जोड्ने
• भारत र नेपालबीच इनल्याण्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सिर्जना गर्ने
        दुवै प्रधानमन्त्रीहरू यसमा सहमत हुनुभएको छ कि यो भ्रमणले दुई देशबीचको बहुमुखी साझेदारीमा नयाँ गतिशीलता थपेको छ । प्रधानमन्त्री ओलीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई गरिएको न्यानो अतिथ्यताका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो ।

      प्रधानमन्त्री ओलीले नेपालका भ्रमण गर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभयो ।  प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभयो र त्यसको मिति कुटनैतिक तहबाट निर्धारण गरिने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो । 

       केही मिडियाहरुले गलत ढंगबाट अफवाह फैलाए पनि नेपाल-भारत द्विपक्षिय सम्झौतामा, फलदायी, सौहर्दता र बिग्रिएको सम्बन्ध सुधार भएको हुनाले सफल मानिन्छ।