13 Baishak, 2075 | 26 April, 2018 Thursday

कलाकारिता, फिल्म निर्देशन, गीतकार– नीर शाहका अनेक परिचय छन्। जबजब नेपाली फिल्ममा ‘क्वालिटी’को कुरा आउँछ, उनको नाम स्वतः आउने गर्छ। ‘वासुदेव’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘प्रेमपिण्ड’जस्ता स्ट्यान्डर्ड नेपाली मौलिक दृश्य भाषा भएको फिल्मका निर्देशक शाह त्यस्ता एकेडेमिक हुन्, जो फिल्मको आफ्नो विशिष्ट भाषा हुनुपर्छ, विश्व सिनेमामा नेपाली फिल्मको विशेष पहिचान स्थापित हुनुपर्छ भन्ने विमर्श गरिरहेका छन्। फिल्म चिन्तकका रूपमा पनि सुपरिचित शाहसँग फिल्मका कन्टेन्ट, चिन्तनधारा, फिल्मको व्याकरण र विविध पक्षबारे दीपक सापकोटा र राजु स्याङ्तानले संवाद गरेका छन्–

एक समय तपार्इंले क्वालिटीका गीतहरू लेख्नुभयो। फिल्ममा प्रयोग गरेको ऊर्जा लेखनमै लगाएको भए हुन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ ?

फिल्म नभइदिएको भए त्यसै पनि गरिन्थ्यो होला। अभिनय पनि आफूलाई अभिव्यक्ति गर्ने एउटा माध्यम हो। तर, हामी स्टेजतिर झुम्मियौं। स्टेजतिर झुम्मिने बेला नेपालमा फिल्म थिएन। सीमित रंगमञ्च थिए। संगीत र नाट्य क्षेत्रको भएकाले साहित्यप्रति रुचि बढ्यो। एक समय थुप्रै लघुकथा, कथा लेखँे– एनविक्रम आदित्यको नाममा। दार्जिलिङ पढ्दा संगीत क्षेत्रका एकसेएक हस्तीहरूसँग संगत गर्ने अवसर मिल्यो। अगमसिंह गिरी, कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, अम्बर गुरुङ, शान्ति ठटालहरूको सिर्जनशील समय थियो त्यो। एउटा संयोगको कुरा भनौं, त्यतिबेलै संगीतमा अभिरुचि राख्ने मजस्तो मान्छे पनि त्यो वातावरणमा संगत गर्ने सौभाग्य मिल्यो। त्यसपछि संगीतमा बढी आकर्षित हुन थालेँ। गीत लेख्न थालेँ। जुनबेला लेखनका प्रारम्भिक दिन सुरु मात्रै भएका थिए त्यतिबेला नेपालमा सिनेमा बनाउने गतिविधि सुरु हुन थाल्यो। दुवैतिरको गतिविधिमा मैले सक्रिय सदस्यको रूपमा सहभागिता जनाउने मौका पाएँ। त्यसपछि चलचित्रसँग नजिक र संगीतसँग अलिकति दूरी बढ्न थाल्यो।

पछिल्लो समय बनेका नेपाली फिल्म कत्तिको हेरिरहनुभएको छ ?

भ्याएसम्म हेर्ने गरेको छु। केही कारणले हेर्नुपर्ने ठहरिएका सिनेमा हेर्ने गरेको छु। हेर्न मन लागेको जति सबै हेर्ने अवसर प्राप्त भएको छैन। तर, नेपाली सिनेमाको बाटो जुन हुनुपर्छ भन्दै हामी चर्चा गथ्र्यौं, त्यो अभियान अगाडि बढाउन सहायकसिद्ध हुने खालका चलचित्र विशेष गरेर हेर्छु। त्यो बक्स अफिस केन्द्रित धारबाट बनेको भएपनि हेर्ने गरेको छु। बक्स अफिस धारलाई दोस्रो प्राथमिकतामा राखेर बनाइएका सिनेमा पनि हेर्ने गरेको छु।

पछिल्लो समय तपाईंलाई सर्वाधिक प्रभावित पारेको नेपाली फिल्म कुनै छ ?

मलाई सर्वाधिक प्रभाविक पारेको फिल्म ‘पशुपतिप्रसाद’ हो। मैले जीवनभर हेरेका सम्पूर्ण सिनेमामध्ये १० उत्कृष्ट सिनेमाको नाम लिनुपर्‍यो भने ‘पशुपतिप्रसाद’ पनि पर्छ। ‘जात्रा’ पनि राम्रो थियो। प्रकाश थापाजीहरूले बनाउनुभएको चलचित्र बम्बैको सूत्रबाट प्रभावित हुन्थे। त्यसमा उहाँहरूको केही दोष छैन। उहाँहरूले सिक्नु भएकै त्यही थियो। उहाँले जे सिक्नुभयो, त्यही सिकाउने प्रयत्न गर्नुभयो। धेरै मानिसले त्यो सिके। त्यो प्रभावबाट नेपाली चलचित्र धेरै समयसम्म मुक्त रहन सकेन।

विश्व सिनेमाले एक सय २२ वर्ष पार गर्‍यो। नेपाली सिनेमाले पाँच दशक पार गर्‍यो। यो पाँच दशकको यात्रामा नेपाली सिनेमामा कस्ता परिवर्तन देखिए ?

म यो क्षेत्रलाई ५० वर्षदेखि अध्ययन गर्दै आइरहेको छु। अध्ययन जारी छ। सबैभन्दा ठूलो परिवर्तन पहिलेका सिनेमा काठमाडौं केन्द्रित थिए। हामी काठमाडौं केन्द्रित भएर मात्रै सोच्ने गथ्र्यौं। सिनेमामा देखा पर्ने पात्रले त्यसरी नै बोल्थे, जसरी काठमाडौं बोल्ने गर्दथ्यो। त्यसरी नै सोच्थे जसरी काठमाडौं सोच्ने गथ्र्याे। त्यसरी नै एउटा पारिवारिक सम्बन्ध देखाइन्थ्यो, जुन किसिमका पारिवारिक सम्बन्ध काठमाडौंको समाजभित्र व्याप्त थियो। तर, काठमाडौंले नै सम्पूर्ण राष्ट्रलाई प्रतिनिधित्व गर्दैन। काठमाडौं केन्द्रित सोचाइबाट स्वतन्त्र भएर नेपाली माटोको कुनाकाप्चाका आवाज र सोचाइलाई पनि पटकथाको केन्द्रबिन्दुमा राख्ने जुन सोचको प्रारम्भ भएको छ– राष्ट्रिय चलचित्र उद्योगमा आएको सबैभन्दा सकारात्मक परिवर्तन यही नै हो। नेपाली सिनेमाको काठमाडौं केन्द्रित प्रवृत्ति भत्कनुमा धेरै कारण छन्।

आफ्नो भाषा, जीवनशैली, संस्कृति, पर्यावरण, समाजप्रति नागरिकहरू जागरुक हुँदै आएको एउटा उदाहरण हो यो। काठमाडौंको साँघुरो घेराबाट पात्र, पटकथा र शैली बाहिर निस्कियो। त्यसपछि अरू ठाउँका कथा पनि सिनेमाले बोल्न थाल्यो। नेपाली चलचित्र उद्योगमा आएको सबैभन्दा ठूलो सकारात्मक परिवर्तन हो यो। यसले पछिसम्म पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। यस किसिमको परिवर्तन प्रारम्भ गरिनुपर्छ भन्ने हाम्रो सोच थियो। तर, त्यसबेला सम्भव थिएन। किनकि बम्बईका सूत्र र बनोट नेपाली सिनेमामा हाबी थियो। बम्बईका निर्धारित बनोटभित्र बसेर बनाइएका सिनेमा मात्रै सिनेमा हुन् र त्यसबाट पृथक्धारमा रचिएका कथा सिनेमा होइनन् भन्ने परम्परागत सोचाइ थियो। चलचित्र उद्योगलाई त्यही सोचाइले ‘डोमिनेट’ गरेको थियो। त्यही सोचाइको अधिनमा रहेर चलचित्र कर्म गरिन्थ्यो। त्यो तोड्न मैले ‘वासुदेव’ मार्फत प्रयत्न गरेँ। भाषा र शैलीको दृष्टिकोणबाट ‘राजमती’मा काम गरेँ। नेपाल भाषामा बनेको कारणले राजमती नेपाली चलचित्रको वर्गीकरणभित्रै परेन। त्यसको अन्तरकथा लामो छ। त्यतापट्टि नजाउँ अहिले। परम्परागत सूत्रमा आधारित रहेर बक्स अफिसमा राम्रो रिजल्ट बटुल्नेभन्दा अलग धारमा नेपाली फिल्म उद्योगलाई लैजानुपर्छ भन्दै ‘प्रेमपिण्ड’ निर्माण गर्न हौसियौं। ऐतिहासिक दस्तावेजमा आधारित सिनेमा बनाउनुपर्छ भन्यौं। यी कामले कहीँ न कहीँ, पृथक् सोचलाई अग्रगति दिएकै छ।

त्यसो भए पछिल्लो नेपाली चलचित्रको अवस्था र प्रवृत्तिबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट हुने मान्छे होइन। जुन दिन सन्तुष्ट अनुभूत गरिन्छ त्यो दिन अगाडि बढ्ने ढोका स्वतः बन्द हुन्छन्। तसर्थ गर्न धेरै बाँकी छ। तर, सन्तुष्टिका संकेत कतै न कतै महसुस गर्ने अवसर पाइयो। त्यो धारलाई परिवर्तन गर्ने दिशातर्फ जति पनि साना–मसिना काम गरियो, त्यसले एउटा हदसम्म सन्तुष्टि दिएको छ। त्यसको दरिलो जग भनेको कलेज अफ फिल्म स्टडिज नै हो। कलेज अफ फिल्म स्टडिज स्थापना गर्न पाएकोमा साह्रै खुसी छु। त्यो गर्न साह्रै गाह्रो पनि भयो। नितान्त एक्लै पनि भइयो। कलेज स्थापना गर्न चलचित्र उद्योगबाट अपेक्षित साथ र सहयोग पाइएन। तर, यसलाई एउटा टुंगोमा पुर्‍याउन आवश्यक थियो। टुंगोमा पुर्‍यायौं पनि। नेपाली राष्ट्रिय चलचित्र उद्योगमा घटेका विभिन्न घटना र परिघटनामाझ कलेज अफ फिल्म स्टडिजको स्थापना साह्रै महत्वपूर्ण घटना हो।

भर्खरै मैले हरिवंश आचार्यजीको स्टेटमेन्ट सुनेको थिएँ, –‘हामीले रोजेको चलचित्रको धारमा चलचित्र बन्ने युग त भर्खरै प्रारम्भ भएको छ।’ उहाँले शतप्रतिशत साँचो बोल्नुभएको छ। जस्तो किसिमका चलचित्र बनाउन पर्छ भनेर सोचिएको थियो, त्यो कालखण्ड चाहिँ अब सुरु भएको अनुभूति भइरहेको छ। तपाईंहरूले सोचे अनुरूपको समय तपाईं जिउँदो छँदै देख्न पाउनु साह्रै ठूलो सौभाग्य हो। त्यो मैले देख्न पाएँ।

समाजमा अहिले उठेका अनेक आवाज र विषयलाई सिनेमाले कसरी प्रतिविम्बित गरिरहेका छन् ?

पहिलेका सिनेमाले प्रतिविम्बित गर्दैनथ्यो। पछिल्लो समय प्रतिविम्बित गर्न थालेको छ तर एकदमै थोरै। प्राथमिकतामा नपरे पनि कतैकतै देखिन थाल्यो। सामाजिक सन्देशबाट अभिप्रेरित पटकथा कहाँ फेल भएको छ ? प्रकाश थापाले बनाउनुभएका नारी प्रधान फिल्ममा समाजका प्रतिविम्बित छन्। बालविवाह, विधवाजस्ता विषयमा उहाँले जस्तो चलचित्र बनाउनुभयो, ती समाजको कुरीतिसँग एकदमै नजिकैबाट गाँसिएका विषय थिए। त्यस्ता चलचित्रले दर्शकको मन जित्न सफल भए। उहाँले भन्न खोजेको कथा नेपाली मन मस्तिष्कमा बिझेको कुरा थियो। त्यस्ता कथाबाट उहाँ सफलताको नजिक पुगिहाल्नुभयो। जुनजुन बेला हामीले नेपाली कथा भन्न खोजेका थियौं, त्यसबेला हामी सफलताको नजिक थियौं। जस्तै ‘परालको आगो’ प्राविधिक दृष्टिकोणले त्रुटिपूर्ण भए पनि दर्शकले रुचाए। किनकि त्यो आफ्नै कथा थियो।

विश्व सिनेमाको ठूलो फलकमा नेपाली सिनेमा कहाँनिर देख्नुहुन्छ ?

नेपाली सिनेमा ग्लोबल सिनेम्याटिक म्यापमा कहीँ न कहीँ एक ठाउँमा उभिएकै छ। विश्वव्यापी सिनेमाको सन्दर्भमा बहस गर्दा नेपाली सिनेमाको पनि निश्चिय नै बहस हुन्छ। सिनेमा बनाउने देशको रूपमा नेपालले पहिचान पाइसक्यो। तर, नेपालले बनाएको सिनेमा नेपाली हो भनेर छुट्टिने पहिचान बन्न चाहिँ बाँकी छ।

दोस्रो जनआन्दोलनपछि नेपाली समाजमा फरक आवाज सुनिन थाल्यो। फिल्ममा पनि केही परिवर्तन आए भन्नेहरू छन्। हाम्रो सिनेमामा देखिएको खास बद्लाब चाहिँ के हो ?

त्यो भनेको सोचाइको शैलीमा आएको बदलाव हो। ‘आमा’ सिनेमाको थिम प्रोपागान्डा ओरियन्टेड थियो। त्यसको उद्देश्य पञ्चायती व्यवस्थालाई मजबुत गराउनु थियो। तर, त्यसले हीरासिंह खत्री, भैरवबहादुर थापाको अभिनय पनि त प्रस्तुत गर्‍यो। विकास नगरौं भने पनि पूर्णविराम लगाउन सकिँदैन। गति धिमा भयो होला, तर अगाडि बढ्यो। नेपाली सिनेमाले सोचमा चाहिँ कतै पनि नेपालको प्रतिनिधित्व गरेन। देखाउन लागि मात्रै गाउँ देखाइयो। तर, त्यहाँका मान्छेले पनि त्यसरी नै बोले जसरी काठमाडौंका मान्छेले बोल्ने गर्थे। सिनेमा काठमाडौं केन्द्रित भइरह्यो। तराई मूल र नेवारी मूलका कलाकारलाई जहिल्यै हास्यपात्रको रूपमा उभ्याइयो। त्यस्ता संकुचित सोचले राष्ट्रलाई प्रतिनिधित्व गर्न सक्दैन। तर, आन्दोलनपछि मानिसको चेतनामा अभूतपूर्व परिर्तवन आयो। आफ्नो, संस्कृति, शैली, सोचाइ, रहनसहनको संरक्षण र पहिचान खोज्ने कुरामा मानिस सचेत भए। त्यो सचेतना चलचित्रमा पनि देखा पर्‍यो। काठमाडांैको केन्द्र तोडेर बाहिरका कथा पनि बोल्न थाल्यो सिनेमाले। अर्काे किसिमका मानिस पनि नायक हुन सक्छन् भन्ने देखाइदियो। आन्दोलनपछि देखिएको यो नै सबैभन्दा ठुलो परिवर्तन हो।

जनआन्दोलनपछि नेपाली सिनेमामा पनि पहिचानका कुरा उठ्न थाले। नेप्टो नाक भएका जनजाति अनुहार फिल्ममा हिरोको भूमिकामा देखिन थाले। यो कस्तो परिवर्तन हो ?

यो परिवर्तनलाई थुप्रै दृष्टिकोणबाट विश्लेषण गर्नुपर्ने हुन्छ। अर्कै वर्ण भएको कारणले नायक हुन सक्दैन भन्ने मान्यता गलत हो। नायकत्वले भरिपूर्ण हरेक मान्छे नायक हो। नायकसम्बन्धी पहिलाको मान्यता गलत छ। मैले ‘वासुदेव’ बनाउँदा तत्कालीन राज्यसत्तासँग जुध्नुपर्याे। ‘वासुदेव’को नायक वासुदेव नै हो। नायकको रूपमा अहिले वासुदेवलाई मान्न मानिस तयार छन् तर त्यतिबेला तयार थिएनन्। अहिलेको परिवर्तन यो नेपाली चलचित्रमा आएको सबैभन्दा ठूलो परिर्वतन हो।

फिल्ममा फरक नायक मात्रै स्थापित भए कि राज्यसँग असहमत मानिसका आवाज भए आए ? फिल्ममा ती आवाज कत्तिको पाउनुहुन्छ ?

आउन थालेको छ। त्यसको प्रस्तुतिमा त्रुटि थियो। जनआन्दोलनपछि क्रान्तिकारी सोचको फिल्म बनाउनुपर्छ भन्ने सोचले हामीले जनआन्दोलन केन्द्रित मात्र सिनेमा बनाउन थाल्यौं। ४०, ५० वटा सिनेमा यसरी खेर गयो। जनआन्दोलनपश्चात् मुलुकमा देखा पर्न सक्ने सम्भावनालाई मानव जातिका लागि त्यसरी उपयोग गर्न सकिन्छ भन्ने खालका सिनेमा बन्न जरुरी थियो। केही राम्रो प्रयत्न भए। सबै खराब थिए नभनौं। तर, प्रस्तुति पुरानो धारकै समात्यौं। अहिलेको कथालाई पुरानो शैलीमा भन्न थाल्यौं। अहिलेका पात्रलाई पनि पुरानै शैलीमा चित्रित गर्न थाल्यौं। त्यसकारण ती पात्र क्लिक हुन सकेनन्।

दयाहाङ राई र राजेश हमालमा के फरक देख्नुहुन्छ ?

मानिसको अनुहारसँग सोचाइको कुनै सम्बन्ध हुँदैन। उसले निर्वाह गर्न लागेको भूमिकामा न्याय गर्न सक्छ कि सक्दैन, यो नै मुख्य कुरो हो। अभिनय चेत भएको मानिस ऊ हो कि होइन भन्ने कुरा मेरा लागि बढी महत्वपूर्ण छ। म स्टारडममा भन्दा पनि एक्टिङ एबिलिटीमा ध्यान दिने मानिस हुँ। त्यसकारण राजेश हमाल सुपरस्टार हो भने दयाहाङ राई पनि सुपरस्टार हो। दयाहाङको त झन् पाठशाला स्टेज भयो। त्यसैले उनले अभिनयलाई अझै गहिरोसँग बुझ्ने मौका पाएको हुनुपर्छ। स्टेजबाट आएका कलाकारका कारण राष्ट्रिय चलचित्र उद्योगमा सकारात्मक परिवर्तन आएका छन्। विपीन कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया कहाँबाट आए ? उहाँहरूको प्रवेशले चलचित्रलाई समृद्ध बनाउन सक्छ।

राजेश हमालको स्टारडममा हामीले कहिलेसम्म हिरो खोज्ने ?

राजेश हमालले झन्डै दुई दशक आफ्नो एकल उपस्थिति जनाउनुभयो। राजेशलाई हिरो बनाउन त्यतिबेलाका निर्माता, निर्देशक र चलचित्र पत्रकारिता, सबैको योगदान छ। त्यति नै बेला सरोज खनाल हुनुहुन्थ्यो, जसले आफ्नो भागको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो तर, उहाँ विदेशयात्रामा हिँडी दिनुभयो। सिनेमाको एउटा धार छुट्यो। जुन बेला राजेश हमालको धार सुरु भयो त्यति नै बेला सरोजजीको धार पनि जीवित नै रहनु जरुरी थियो। तर, उहाँ हराउनुभयो। त्यहाँ भ्याकुम रहन गयो र त्यो भ्याकुमलाई हमालजीकै स्टार्डमले छोपिदियो। यसले केही पक्ष लाभान्वित भए होलान् तर चलचित्र क्षेत्र लाभान्वित हुन सकेन। किनकि सरोज खनाल धार पनि जीवित रहनु त्यति कै जरुरी थियो।

समकालीन नेपाली फिल्मका कन्टेन्ट कस्तो पाउनुभएको छ ?

पहिले कन्टेन्ट निकै कमजोर थियो। कन्टेन्टमा मौलिकताको कमी थियो। अहिलेका कन्टेन्टमा केही असान्दर्भिक र अप्राकृतिक प्रसंग त छन् तर, मौलिकताको प्रयोग अलि बढी देख्छु। हाम्रा पहिचान र क्षमता हाम्रा मौलिक विषय नै हुन्। अहिले मौलिक सोचाइ, प्रसंग र विषय बढी प्रयोग हुन थालेको छ। यस्तो प्रयोगको मात्रा अझ बढाउँदै लानुपर्छ।

नेपाली सिनेमाको मूलधार के–के मिलेर बनेको छ ?

नेपाली सिनेमाको मूलधार के हुन सक्छ भनेर पहिला विश्लेषण गर्नुपर्‍यो। त्यो भनेको हाम्रो संस्कृति र मौलिकता हुन सक्छ।

तपाईंको अध्ययनमा नेपाली सिनेमाले के कुरालाई लक्ष्य र आदर्श बनाइरहेको छ ?

नेपाली सिनेमाले बक्स अफिसमा हिट हुनु नै मुख्य उद्देश्य राखेको देखिन्छ। त्यो उद्देश्यमा हामी नराम्ररी असफल भएका छौं। यसले हानि गर्छ। सामाजिक उत्तरदायित्वविहीन भएर चलचित्र क्षेत्र अघि बढ्न सक्दैन।

नेपाली सिनेमाले समाजबाट लिने विषय के हुन सक्लान् ?

विषय मात्रै उठाएर हुँदैन। त्योसँगै प्रस्तुति र शैलीमा पनि मेहनत गर्नु जरुरी छ। प्रस्तुति पनि रोचक बनाउन सकियो भने गजबको सिनेमा बनाउन सकिन्छ। हाम्रो समाजमा अत्यन्तै महत्वपूर्ण तर प्रस्तुत नगरिएका धेरै विषय छन्। उदाहरणका लागि हाम्रा दन्त्य कथाहरू। दन्त्य कथामा सिनेमा बनेका छैनन्। सबै दन्त्य कथाहरू काम नलाग्ने छैनन्। दन्त्य कथाभित्र सामाजिक सन्देश पनि छ। त्यसभित्र नेपालीपन छ। छुन नसकिएको फाँट हो यो। यस्ता छुन नसकिएका फाँट कति छन् कति ! त्यसलाई ‘एनिमेटेड प्याटर्न’मा सिनेमा बनाउने हो भने नेपाली सिनेजगत निकै माथि पुग्न सक्छ। हामी संगीतमा पनि त्यत्तिकै धनी छौं।

नेपालमा सडकदेखि सत्तासम्म कम्युनिस्टको ठूलो जमात देखिन्छ। त्यो जमातको प्रभाव नेपाली सिनेमामा कत्तिको परेको देख्नुहुन्छ ?

नेपालका कम्युनिष्ट अरू देशका कम्युनिस्टभन्दा फरक देख्छु। यहाँका कम्युनिस्टहरू कम्युनिस्ट हुनुभन्दा पहिला नेपाली हुन्। नेपाली नभएर ‘म वामपन्थी मात्र हुँ’ भन्ने कुनै नेपाली आजसम्म देखेको छैन। गैरवामपन्थी होस् या वामपन्थी, आम नेपालीले रुचाएको कुरा उसले पनि रुचाउँछ। अरू नेपालीले नरुचाएको कुरा उसले पनि रुचाउँदैन। त्यसैले कम्युनिस्टको राजनीतिक सोचलाई होइन उसको सामाजिक सोचलाई हामीले सिनेमामा भित्र्याउन सक्छौं। वामपन्थीहरूले वामपन्थी शैलीमै सिनेमा बनाए भने त्यो सिनेमा, सिनेमा बन्दैन। चल्दैन पनि। सिनेमाको आफ्नै व्याकरण हुन्छ। वामपन्थी हुन् वा गैरवामपन्थी पहिला त सिनेमाको शैलीमा सिनेमा भन्न सक्नुपर्‍यो।

नेपालमा सिनेमाको इतिहास कसरी अगाडि बढेको छ ?

नेपालमा सिनेमाको प्रारम्भ सही ट्र्याकबाट भएन। सोच विचार नगरी नेपालमा सिनेमा भित्र्याइयो। समय पर्याप्त थियो। ‘सत्य हरिश्चन्द्र’ बनिसकेपछि ‘आमा’ बन्नुसम्मको समयमा पर्याप्त नेपालकै जनशक्ति निर्माण गर्न सकिन्थ्यो। हामीले एकदमै न्यून जनशक्तिमा नेपाली सिनेमा सुरु गरेका हौं। सिनेमा बनाउन बम्बईबाट प्राविधिक आएका थिए। फिल्म बनाउन बाहिरका मानिस आए। त्यसरी हामीले सुरुवात गर्नु हुँदैनथ्यो। त्यसको सट्टा दुई वर्ष ढिलो सुरु गर्दा केही बिग्रिँदैनथ्यो।

त्यसो भए नेपालमा चलचित्र कुन नियतले भित्र्याइयो ?

सुरुमा राजा त्रिभुवनले लहडबाजी गर्न सिनेमा सुरु गरेका हुन्। सिनेमा प्रचारप्रसारका लागि अत्यन्त प्रभावकारी माध्यम हुन सक्छ भन्ने ठानियो। पञ्चायती व्यवस्थाको सुदृढीकरण र त्यसलाई गाउँगाउँसम्म फैलाउन सिनेमाको प्रयोग गरियो। सुरुमा बनेका तीनओटा फिल्म राजा महेन्द्रकै पहलमा बनेको थियो। दर्शक मानसिक रूपमा सिनेमा हेर्ने गरी प्रभावित बनेपछि ‘आमा’, ‘हिजो आज भोलि’ र ‘परिवर्तन’ जस्ता फिल्म बने।

फिल्म आज पनि मात्र मनोरञ्जनको खेल भइरहेको छ। जीवन–जगत्का गम्भीर कुरा फिल्ममा आउन नसकिरहेका कारण के होलान् ?

फिल्म क्षेत्रमा शिक्षित र दीक्षित फिल्मकर्मीको प्रवेश हुन बाँकी छ। अरू सबै क्षेत्र यथास्थितिमा रहने र चलचित्र क्षेत्र मात्र असाधारण तरिकाले बढ्दै जाने हुन सक्दैन। दर्शकको चेतनास्तर पनि त्यही मात्रामा विकसित हुनु पर्‍यो। चलचित्र निर्माणमा संलग्न व्यक्तिको चेत पनि त्यहीअनुसार हुर्कन सक्नुपर्‍यो। यी दुवै चेत हुर्कन हामी बाँचेको समाज पनि त्यही चेतमा हुर्कनुपर्‍यो। एकले अर्कालाई प्रभावित बनाइरहन्छ। समाज भन्नेबित्तिकै तपाईं एक्लै बाँचिरहनु भएको हुँदैन। विभिन्न तत्व हुन्छन् त्यहाँ।

नेपालीले मोनोटोनस जिन्दगी लिड गरिरहेको छ। त्यसमा अब राजनीतिक कुरा आउँछन्। नेपालीले आफ्नो बाँच्ने जिन्दगी किन यति मनोटोनस बनायो ? राजनीतिमा मानिसको किन यति धेरै वितृष्णा बढ्दै गयो ? यो छुट्टै विषय हो। यो उत्पीडित समयबाट बाहिर निस्केपछि उसको चाहना मनोरञ्जित हुने हुन्छ। त्यो समय ऊ मनोरञ्जन मै व्यतित गर्न चाहन्छ। त्यो उसको जीवनशैलीले निम्त्याएको चाहना हो। यही चाहनालाई समेटेर टेलिभिजनका हास्य टेलिसिरियलहरूले ठूलो मार्केट लिन सकेको हो।

यो मनोविज्ञान चलचित्र क्षेत्रमा पनि सरेको छ। आफूले जोगाएको समय ऊ गम्भीर कुरामा खर्च गर्न चाहँदैन। त्यो कुरालाई आफूबाट टाढा राखेर बिताउन चाहन्छ। यस किसिमको मनोवैज्ञानिक प्रभाव नेपाली दर्शकमा रहेको म ठान्छु। यसले गर्दा मनोरञ्जनात्मक विषयले व्यापकता पायो। खराब समाचार असल समाचारभन्दा छिटो फैलिन्छ। जीवनमा सकारात्मक कुरा जति धेरै भए पनि एउटा नकारात्मक कुराले सबैको ध्यान खिच्छ। यतिले मात्र चित्त बुझ्दैन, एउटाले सुनेको नकारात्मक कुरा तत्काल अर्कोलाई भनिहाल्नुपर्छ। त्यसपछि फेरि त्यो सुन्ने व्यक्तिले अर्कोलाई भनिहाल्छ। त्यो कुराबाट उसले मनोरञ्जित भएको अनुभव गर्छ। यस्तै माइन्डसेटबाट समाज हुर्किएको छ। त्यस्तो परिवेशमा मनोरञ्जन नै बिक्री हुन्छ। त्यसपछि त्यो बिक्री हुने विषय चलचित्रका व्यापारीहरूले समात्छन्। ‘सिनेमा इज एन आर्ट विथ हाइएस्ट कमर्सियल पोट्यान्सियालिटी’ अर्थात् कमर्सियल पोटेन्सियलको प्रचुर सम्भावना बोकेको कला क्षेत्र हो सिनेमा। हामीले कमर्सियल पाटोलाई मात्र हेर्‍यौं तर यो आर्ट पनि हो। सिनेमाको कलाले प्रचुर मात्रामा पैसा कमाउने सम्भावना बोकेको हुन्छ। हामीले पैसा कमाउने पक्षलाई मात्र सोचेर हुन्न यो कला पनि हो भन्ने कुरालाई बुझ्नुपर्छ। तर हामी कला भन्ने पक्षलाई कम बुझ्छौ र पैसा कमाउने पाटोलाई बढी बुझ्छौं।

महिला पात्रलाई केन्द्रमा राखेर अझै पनि नेपाली फिल्म बन्दैनन्। उनीहरूको भूमिका पनि सानो घेरामा सीमित छ। महिलाको उल्लेख्य सहभागिता बनाउन फिल्ममा के काम गरिनु जरुरी छ ?

मैले बनाएको चलचित्रमा यस्तो छैन। ‘राजमती’, ‘वसन्ती’, ‘वासुदेव’, ‘मसान’ सबै नारी प्रधान चलचित्र हुन्। योगमायाबारे सिनेमा बनाउनुपर्‍यो भने त्यहाँ रामबहादुर भन्ने पात्रलाई प्रमुख भूमिकामा राखेर हुन्न। दुःखको कुरा रामबहादुरमाथि सिनेमा बन्ला तर योगमायामाथि सिनेमा बन्दैन। यो एक अध्ययनको विषय हो। बनिहाल्यो भने पनि नायकत्व दिन कन्जुस्याइँ हुन्छ। उसले गरेको कर्मका आधारमा नायक र खलनायक छुट्टिन्छ। नायिका पनि नायक हुन सक्छ। तर, नेपाली सिनेमामा नारीले यथेष्ट स्थान प्राप्त गर्न नसकेको सत्य हो। नेपाली सिनेमामा ग्ल्यामर पस्किनका लागि मात्रै नारीको प्रयोग भएको देखिन्छ। नारीले ग्ल्यामर मात्र बोकेको हुन्न। नारीले बोक्ने थुप्रै चारित्रिक गुणमध्ये ग्ल्यामर एउटा पक्ष मात्रै हो। नारीले निकै संघर्षपूर्ण जीवन बाँचेकी हुन्छे। नारीले पुरुषसरह गरेका त्याग र तपस्याका कथा हामीले सिनेमामा भन्नै सकेका छैनौं।
-अन्नपूर्णपोष्ट