9 Baishak, 2075 | 22 April, 2018 Sunday
लेखक- केदार नाथ खरेल-
        तिन जना यात्रीहरु आ-आफ्नो गन्तब्य यात्राको लागि गएका थिए । संयोगवस उनीहरु एउटै होटलमा बास बसे । तिनीहरुमध्ये पहिलो व्यक्ति राजनीतिक भ्रष्ट र घुषखोर नेता थियो, उसले सत्ताको आडमा अकुत सम्पति कमायो, कुनै काम गरे बापत सेवाग्राहीसित घुष माग्थ्यो । दोश्रो व्यक्ति बलात्कारी थियो, जसले स-साना बालिका, युवती र वृद्ध हजुरआमा समेतको बलात्कार गर्थ्यो । तेश्रो व्यक्ति हत्यारा थियो, जसले किना कसुर मानिसहरुको निर्मम हत्या गर्थ्यो ।  ईश्वरले उनीहरुले गरेको कुकर्म र कर्तुतलाई ईश्वरले चेतावनी दिनु भयो, अध्ययन गरौं ।  

           भ्रष्ट र घुषखोरी राजनीतिक नेता- उसलाई ईश्वरले सोध्नुभयो, तिमीहरुले संसारमा पैसा कमाउनको लागि धेरै गलत तरिका अपनायौं त्यो धन-सम्पत्ति खोई ? के के काममा लगायौ, कुनै गरिबलाई खान लाउन दियौ, या कुनै बाटो, चौतारी बनायौ कि कतै पानी पिउनको लागि धारो इनार खनायौ ? कुनै उपासनाको लागि घर बनायौ की या कुनै धार्मिक पुस्तक लेख्ने वा प्रकाशन गर्ने पुण्य कार्यमा लगायौ भन ।  उसले उत्तर दियो- प्रभु मैले घरमा श्रीमती हुँदा हुँदै पनि बाहिर अन्य केटीहरुसँग रात बिताउन खर्च गर्थे, जुवा तास खेल्थे, महंगा विदेशी रक्सी किनेर आफु पनि खान्थे र साथीहरुलाई पनि खान दिन्थे, हजुरले भनेझैं कुनै पनि पुण्य कार्यमा खर्च गरिन । 

           तब ईश्वरले भने- तिमीलाई मृत्यु पछि हरेक असल र खराब कार्यको हिसाब-किताब हुन्छ भन्ने थाह थिएन ?    जसले संसारिक जीवनमा उत्तम कर्म गर्छ उसले मृत्युपछि त्यसको बदला उचित पुरस्कार पाउँछ, जसले संसारिक जीवनमा आफुलाई गलत कार्यमा लगाउँछ र गलत कार्यमा आफ्नो धन सम्पत्ति खर्च गर्छ उसले त्यसको बदला मृत्युपछि दण्ड पाउँछ भन्ने विश्वास थिएन ? उसले भन्यो- म ठान्थे जो धनवानको कोखमा जन्मिन्छ त्यसको लागि स्वर्ग नै यही छ र जो गरिबको कोखमा जन्मिनछ उसको लागि नर्क पनि यही छ । 

         तब ईश्वरले भन्नु भयो- होइन मानव ! त्यो त मैले मानवलाई परिक्षा लिएको हो, जसले मेरो भक्ति नगरेर म बाहेक अरु कसैको उपासना गर्छ उसलाई पनि मैले प्रशस्त धन सम्पत्ति दिए, ताकि उसले मेरो उपकार सम्झेर कुमार्गबाट सुमार्गमा लागेर मेरो उपसना गर्छ की भनेर, मैले दिएको धन सम्पत्तिलाई धार्मिक कार्यमा खर्च गरोस्, पुण्य तथा भलाई कार्यमा खर्च गरोस् भनेर दिए। त्यो धन त मैले परिक्षा लिनको लागि दिएको थिए । तर तिमीले त पैसा कमाउन गलत मार्ग अपनायौ, र त्यो पैसा गलत कार्यमा लगायौ । यदि तिम्रो ठाउँमा अरु मानिसले यस्तो कार्य गरेको भए तिमी के सजाय दिन्थ्यौं ?  उसले भन्यो म त त्यो व्यक्तिलाई फाँसीको सजाया दिन्थे । फेरी ईश्वरले भन्नुभयो- म तिमीलाई त्यही सजाय दिन्छु । यो कुरा सुनेर उसको निधारमा पसिना आयो, डरले थरथर काम्दै माफी माग्यो । अब देखि यस्तो गल्ति गर्दिन भन्दै एक पटक मलाई सुध्रिने मौका दिनुहोस् भन्यो ।  

       ईश्वरले भन्नुभयो- तिमीले आफुलाई संसारिक जीवनमा सुधार्ने र प्रायश्चित गर्न सक्छौ तर यहाँ आएपछि तिमीसँग त्यो अकुत सम्पति पनि छैन र तिम्रो पद पनि छैन जसको माध्यमबाट तिमीले आफुलाई बचाउन सक्छौ । अनि त्यो निरुत्तर भएर आफ्नो गल्ति र कुकर्मप्रति पश्चाताप गर्न थाल्यो । ईश्वरले आफ्ना दूतलाई हुकुम दिनु भयो- यो मानवलाई फाँलीको सजाय देऊ । उसलाई ईश्वरका दूतले फाँसीमा चढाए । उसलाई धेरै सकस भयो । प्राण जाने अवस्थामा धेरै छटपटायो । त्यतिकैमा उ बिउँझियो । हातगोडा कामी रहेका थिए। मुटुको धड्कन धेरै छिटो छिटो चलेको थियो, हे ईश्वर म अब देखि यस्तो पु कार्य कहिले पनि गर्दिन मलाई माफ गर भनेर माफी माग्यो ।    

         दोश्रो व्यक्ति बलात्कारीः- ईश्वरले बलात्कारीलाई प्रश्न सोध्नुभयोः तिमीले किन बालिका देखि हजुर आमासम्म उमेरका स्त्रीहरुलाई बलात्कार गर्यौ, के तिमीलाई पनि अरु कसैले तिम्रो छोरी, बहिनी, श्रीमती या आमालाई बलात्कार गर्यो भने कस्तो लाग्छ ? तिमी पनि यस्तै चाहन्छौं कि अरुले आफ्नो परिवारमाथि पनि यस्तै व्यवहार गरुन ? त्यो बलात्कारीले भन्यो म कसरी सहन सक्छु कि अरु कसैले मेरो परिवारमा यस्तो हर्कत गरेको । ईश्वरले सोध्नु भयो- तिमी के सजाय दिन्छौ त तिम्रो परिवार माथि यस्ता अपराध गर्ने अपराधीलाई ? त्यो मानिसले भन्यो म त त्यसको यौनाङ्ग काटेर, जिउँदै जलाई दिन्थें । तब ईश्वरले भन्नु भयो- के म तिमीलाई त्यही सजाय दिऊ जुन तिमीले अहिले भनेका थियौं ? यो कुरा सुनेर बलात्कारी मानीस डरले काम्दै भन्न थाल्यो- मलाई माफ गर्नुहोस् प्रभु अब म कदापि त्यस्तो अपराध गर्दिन । ईश्वरले भन्नु भयो- यदि तिमीले संसारिक जीवनमा आफ्नो गल्तिप्रति प्रायश्चित गर्दै क्षमा मागेको भए पाउने थियौ तर अब म तिमीलाई माफ दिन सक्दिन । तिम्रो लागि त्यही सजाय हुन्छ जुन तिमी स्वयंले फैसला गरेका छौ ।  अब त्यस बलात्कारी मानिसलाई उसको यौनाङ्ग काटेर, उसलाई जिउँदै जलाउनु भन्ने आदेश दिनु भयो, त्यो मानिस डर र त्रासले थर-थर काम्न थाल्यो, जब हतियार लिएर काट्न थाले तब पीडाले छटपटाई रहेको थियो, फेरी उसलाई पाता फर्काएर पछाडि बाँधेर उसको वरिपरी दाउरा जम्मा गरेर जब आगो लगाइयो । त्यो आगोको पीडा र डाहाले रुन कराउन, चिच्याउन लाग्यो, आइया, आत्था, पोल्यो, मलाई बचाउनुहोस् । म अब देखि गल्ति गर्दिन, भन्दै बड्बडाउन थाल्यो । त्यतिकैमा उ बिउँथियो । मुटुको गति अति नै तेज गतिमा थियो, शरिरमा पसिना पसिना आएको थियो, शरिरमा हेर्यो सबै सहि अवस्थामा थियो । तर पनि त्यो भयानक सपना देखेर उ अत्यन्तै भयभित भयो, अब देखि कदापि यस्तो अपराध कार्य गर्दिन भनेर प्रण गर्यो ।   

           फेरी तेश्रो व्यक्ति थियो हत्यारा- ईश्वरले त्यस हत्यारालाई सोध्नुभयो- तिमीलाई आफ्नो सन्तान, दाजुभाई दिदीबहिनी, श्रीमति र बुबा आमाको माया कति लाग्छ ? तब त्यो व्यक्तिले भन्यो हे ईश्वर म आफुलाई भन्दा धेरै माया उनीहरुलाई गर्छु । फेरी ईश्वरले भन्नु भयो- यदि तिम्रो परिवारलाई अरु कसैले बिना कसुर हत्या गरे भने तिमी के सजाय दिन्छौ त त्यो हत्यारा व्यक्तिलाई ? तब उसले भन्यो- म पनि त्यसको हत्या गरिदिन्थे किनभने हत्याको बदला हत्या । जब तिमीलाई आफ्नो परिवारको यति धेरै माया लाग्छ भने तिमीलाई जस्तै अरुलाई पनि आफ्नो परिवारको त्यति नै माया लाग्छ होला तर तिमीले उनीहरुको बिना कसुर किन हत्या गर्यौ ? यो कुरा सुनेर त्यो हत्यारा अत्यन्तै भयभित हुँदै भन्न थाल्यो- हे ईश्वर मलाई माफ गर्नुहोस्, अब आइन्दा म यस्तो गल्ति कदापि गर्ने छैन । ईश्वरले भन्नुभयो- तिमीले आफुलाई संसारिक जीवनमा सुधार गर्न सकेनौ अब त्यो मौका पाउने छैनौ ।  तिमीले आफैले भनिसक्यौ कि मेरो आफन्तको हत्या गर्नेलाई म हत्याको बदला हत्या नै गर्छु अब तिम्रो सजाय पनि हत्या नै हुनेछ । यो फैसला सुनेर हत्यारा डराउँदै भन्न थाल्यो- हे ईश्वर मलाई माफ गर्नुहोस् अब आइन्दा म यस्तो अपराध गर्ने छैन । ईश्वरले भन्नुभयोः अब तिमीले आफुलाई त्यस पापबाट जोगाउने कुनै उपाय छैन । तिमीले आफुलाई सत् मार्गमा लगाउने कि गलत मार्गमा त्यो संसारिक जीवनमा अख्तियार थियो । अब त तिमीले आफुलाई जोगाउने कुनै उपाय छैन अब तिमीले जे जस्तो अपराधिक कर्म गरेका छौ त्यसको फल चाख । यो सुनेर त्यो हत्यारालाई धेरै डर लागेछ अनि भाग्ने कोसिस गर्यो, जब भाग्दैथियो उसको खुट्टामा ठेस लागेर लड्यो । उ एक्कासी निन्द्राबाट बिउँझियो । डर लाग्दो सपना देख्दा डरले पसिना आएको रहेछ। मुटुको धड्कन पनि छिटो छिटो चलेको थियो । घडी हेर्यो उज्यालो भई सकेछ अनि आफ्ना अरु दुई जना साथीहरुलाई पनि उसले बोलायो । साथीहरु पनि उठे । उनीहरु पनि डर र त्रासमा थिए, पसिना छुटेको थियो । उनीहरु एक आपसमा रातमा देखेको सपनाको बारेमा बताए,। 

           हामीले आफुलाई पापबाट बच्न यही संसारमा सही कर्म गर्नु पर्ने गरेछ भन्ने बोध भयो र आफ्नो पाप कर्म देखि लज्जित हुँदै अब देखि यस्तो पाप कदापि नगर्ने अठोट गर्दै आफ्नो पाप कर्म देखि प्रायश्चित गर्दै भने हे ईश्वर अब हामी कहिले पनि यस्ता काम काम गर्दनौ हामीलाई माफ गर्नुहोस् । 

           ईश्वरले भन्नु भयो- तिमीहरुले संसारिक जीवनमा घुसखोरी, भ्रष्ट्राचार, बलात्कार, हत्या हिंसा जस्ता अपराधबाट आफुलाई जोगाउ । मृत्युपछि धन-सम्पत्ति जाँदैन् केवल पाप र पूण्य मात्र जान्छ त्यसैले धनको लोभमा परी पाप तथा गलत कार्य नगर । जब कुनै देशमा यस्ता अपराधहरु हुँदैन भने त्यो देशमा शान्ति र विकाश हुन्छ ।

          तर बिडम्बना हाम्रो समाज र देशमा हत्या, हिंसा, बलात्कार, घुषखोरी, भ्रष्टाचारबाट आक्रान्त छ । जबसम्म हामीले आफुलाई यस्ता पाप तथा अपराधबाट जोगाउन सक्दैनौ तबसम्म न समाजमा शान्ति कायम हुन्छ न देशमा विकाश । देशमा जबसम्म अपराधीहरुलाई अंकुस लगाउने कानून सशक्त र बलियो हुँदैन तबसम्म यस्ता किसिमका अपराधमा कमि हुँदैन । कडा कानून बनाएर त्यो कानूनलाई कार्वान्यन भएन भने सर्वसाधरणले सुकुन तथा शान्त रुपमा बस्न पाउँदैनन् ।