9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम — बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।


अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।

‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले कान्तिपुरलाई भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्‍यो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’

अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो । साउदीस्थित नेपाली दूतावास मण्डलका पक्षमा अदालतमा लडै आएको थियो । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।

इस्लामको परिवारले ब्लडमनी नलिई माफी दिँदा आफूले नयाँ जीवन पाएको र नेपाल फिर्ने बाटो खुलेको मण्डलले बताए । ‘अदालतले फैसला गरेको रकम दिन सक्ने हैसियतमा थिइनँ । सबैको सहयोग र मेरो अनुरोधलाई इस्लामको परिवारले बुझिदिए,’ उनले भने ।

कम्पनीले मण्डलको जिम्मेवारी लिएपछि २२ महिनाअगाडि मात्रै जेलबाट निकाली काममा लगाउँदै आएको थियो । ‘अहिले लेबर काम गर्दै आइरहेको छु । कम्पनीसँग ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरिरहेको छु । दिन्छु भन्ने प्रतिबद्धता पनि गरेको छ,’ उनले भने ।

मण्डल पुन: कम्पनीमै कार्यरत छन् । ‘म आरसीसी कम्पनीमा आएको थिएँ । आरसीसी कम्पनीका मालिकको मृत्यु भएपछि छोराको कम्पनी इन्सामा लेबर काम गरिरहेको छु । ८ सय रियाल तलब दिन्छ,’ उनले भने, ‘मेरो प्रार्थनापछि घर जान पाउने अवस्था आयो । त्यसका लागि राहदानी बनाउन दूतावासमा निवेदन दिएको छु । राहदानी बन्नासाथ बिदामा नेपाल आउँछु ।’
मण्डलका चार छोराछोरी, श्रीमती र बुबाआमा छन् । ‘जेठी छोरीको उमेर १९ वर्ष भयो । १२ वर्षका जुम्ल्याहा छोरा छन् । ९ वर्षकी छोरी छिन्,’ उनले भने, ‘म साउदी आएको तीन महिनामा कान्छी छोरीको जन्म भएको हो । उसलाई त देखेको पनि छैन ।’

— कान्तिपुर