9 Baishak, 2075 | 22 April, 2018 Sunday

विनोद परिवर्तित 
११ चैत, स्याङ्जा 

            नेपाली वाङ्मयमा स्याङ्जाली स्रष्टाहरूको योगदान विशेष उल्लेखनीय रहदै आएको छ । लोक गीत, लोक संस्कृतिका साथै नेपाली साहित्यका विविध पाटाहरूमा स्याङ्जाली स्रष्टा-सर्जकहरू विशिष्ट पहिचान सहित स्थापित छन् । 
           पुरानो पुस्तालाई पछ्याउँदै थप साधना र उर्जाको गति सहित नयाँ पुस्ताले गत शनिबार तन्नेरी पुस्ताको आगमन उद्घोषको सङ्केत गरेको छ । विगत दुई बर्षदेखि अनलाइनमा सीमित स्याङ्जा साहित्य सङ्गमले संस्थालाई गत महिना विधिवत दर्ता गर्दै जिल्ला भित्र र बाहिर रहेर साहित्य कर्म गरिरहेका स्याङ्जाली स्रष्टाहरूबीच भेटघाट र रचना वाचनको कार्यक्रम सम्पन्न गरेको हो । कुल ५४ जना स्रष्टाहरू सहभागी रहेको कार्यक्रममा अधिकांश वक्ताले नेपाली साहित्यमा स्याङ्जाको तन्नेरी पुस्ताको आगमन गौरव गर्न लायक रहेको भन्दै सबैबाट सहयोग हुनुपर्ने विचार   राखे । 
         प्रमुख अतिथिको रूपमा कार्यक्रममा बोल्दै गजलमा नेपालकै पहिलो विद्यावारिधि विभूषित गजलकार डा. घनश्याम न्यौपाने "परिश्रमी"ले स्याङ्जा र सिङ्गो नेपाली साहित्यलाई तन्नेरी पुस्ताको आगमन कोसेढुङ्गा सावित हुने विश्वास व्यस्त गरे । साहित्य मानव जीवन सार्थक तुल्याउने एक साधना पनि हो भन्दै डा. परिश्रमीले कविता, गजल र मुक्तक जस्ता काव्य विधाको साधना गर्दा त्यसको सैद्धान्तिक महत्त्वप्रति सचेत रहनुपर्ने प्रस्ट पारे । "नाटक मन्चन हुनैपर्ने जस्तै गजल गाइनैपर्ने विधा हो " उनले थपे-" लय-चेत बिना गजल बन्दैन । त्यसैले गजल लेख्न खोज्ने सबैलाई छन्द र बहर सिक्न प्रेरित गर्दै आएको छु ।"   
                कार्यक्रममा कवि तथा समालोचक चिन्तु  गिरि,  साहित्यकारहरू विश्व पौडेल, अनन्त कुमार श्रेष्ठ, शैलेन्द्र घिमिरे, भिष्मराज ढुङ्गेल, मिलन समीर , सन्चारकर्मी रमेश गोदार लगायतले बोल्दै  स्याङ्जा साहित्यमा तन्नेरी पुस्ताको उदय  उत्साहबर्द्धक रहेकोले सबै पक्षबाट साथ सहयोग हुनुपर्ने विचार व्यक्त गरे । 
                  संस्थाकी अध्यक्ष लक्ष्मी काफ्लेको अध्यक्षता र सचिव ओम बहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा पाणिनि आश्रमका छन्द साधकहरू कुशल पौडेल, अोमकार गिरी, सुनिल आचार्य यज्ञराज ,जोशि भुपेन्द्र काफ्ले , द्रेश बन्धु आचार्य, स्रष्टाहरू सिद्धार्थ देवकोटा  ,योजना बराल ,परिवेश मरासिनी, संस्थाका उपाध्यक्ष एस.पि. असफल, कृष्ण भुसाल प्यासी  ,महेन्द्र लामिछाने, भवानी थापा, कोषाध्यक्ष सपना कोइराला, पितम्बर गौतम प्रकट, बिक्रम परियार, संस्थापक उपाध्यक्ष लोकेश सङ्घात, अच्युत पोख्रेल, सङ्गीता सारथि, अनिता लामा लगायतले आ-आफ्ना कविता, गजल, मुक्तक, भावना, हाइकु र गीत सुनाएका थिए ।  कार्यक्रमको  सामुदायिक रेडियो स्याङ्जा एफ एम र अनलाइन वेभ टिभीले समन्वय गरेका हुन् ।