9 Baishak, 2075 | 22 April, 2018 Sunday

मानफ्रेद र भगवतीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, २०७४ चैत १० गते

नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावहरूलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले तीन लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोईलाई समर्पण गर्ने निर्णय गरेको छ । विगत चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन र कर्मले समर्पित रहँदै नेपालका विविध भाषाहरूको चालीस हजार हस्तलिखित ग्रन्थको सूची समेत तयार गरी महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार विदेशी मूलका विशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ । यो पुरस्कार प्राप्त गर्ने उहाँ छैटौं प्राज्ञ हुनुहुन्छ ।  

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति इजरायलकी श्रीमती भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । 

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।  

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरु समर्पण गरिने छन् ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन
www.nai.com.np