9 Baishak, 2075 | 22 April, 2018 Sunday
छुनै नहुने !
2018-03-24 | तीताेपाटी डट कम

तीताेपाटी डट कम  — गएको असारमा बाजुराको छेडेदह गाउँपालिका– १ विराडी गाउँका प्रेमबहादुर विकले त्यही गाउँका राजेन्द्रबहादुर सिंहको भैंसीगोठ छोएको आरोपमा गालीगलौज र दुव्र्यवहार मात्रै खेप्नु परेन, २ हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्‍यो । त्यस घटनालाई गाउँलेहरूले मिलापत्र गराए ।

कुनै पनि व्यक्तिलाई निजी तथा सार्वजनिक स्थानमा जातीयताका आधारमा छुवाछूत तथा भेदभाव गर्न नपाउने व्यवस्था संविधानले गरेको भए पनि सुदूर पहाडका अछाम, बाजुरा र बझाङमा भने जातीय छुवाछूत तथा भेदभाव ज्युँका त्युँ छ ।


पानीको मुहान एउटै, गाउँ समाज पनि सँगै तर धारा भने दलित र गैरदलितका भिन्दा–भिन्दै । दलित समुदायका व्यक्तिहरू गैरदलितले प्रयोग गर्ने धारामा जान पाउँदैनन् । जयबागेश्वरीस्थित पीपलगाउँमा स्थानीय दलित र गैरदलित परिवारका खानेपानी धारा अलग–अलग छन् । उक्त गाउँमा बुढा, थापा, कुमाल र लोहार जातिको बसोबास छ । ५४ परिवारको बसोबास रहेको पीपलगाउँको बीचैमा रहेको सार्वजनिक स्थानमा ३ वटा धारासँगै निर्माण गरिएकाे कान्तिपुरमा समाचार छ  ।

यीमध्ये थापा र कुँवरको प्रयोग गर्ने धारा एउटा छ भने दलित समुदायका कुमाल र लोहार जातिले प्रयोग गर्ने धारा अलग्गै छ । तेस्रो धारामा भने महिनावारी भएका र सुत्केरी महिलाहरूले मात्र प्रयोग गर्न पाउने नियम बनाइएको छ । दलितले छोएको पानी प्रयोग गर्दा अछूत हुने परम्परागत मान्यताका कारण पुस्तौंदेखि दुवै समुदायले पानीका धारा अलगअलग प्रयोग गर्दै आएका हुन् । ‘गैरदलितहरूले आफ्ना धारा हामीलाई प्रयोग दिँदैनन्, धारामा पसेको देखे गाली र हप्कीदप्की गर्छन्,’ दलित समुदायकी तारा कुमालले भनिन् ।


दलित भएकै कारण जगन्नाथका भुवन विकले नजिकैको पलुचौर बजारको होटलमा खाना र बास पाएनन् । होटलमा खाना अर्डर गरेर खान बस्दा होटलका साहुले भुवनको परिचय मागे । उनले नढाँटी आफ्नो परिचय दिनेबित्तिकै दलितले आफ्नो होटल छुई गरेको आरोप लगाउँदै तथानाम गाली गरे । उनी होटल भित्रबाट निकालिए । ‘केही बोलौं अन्यत्र होटलमा पनि खानै नपाइने डरले चुपचाप सहेर बसेँ,’ भुवनले भने । घरभित्र बास नपाएपछि उनी कर्णाली नदी किनारमा रहेको पिलुचौर बजारमा रातभर खुला आकाशमै बाहिरै बसे ।


त्यसै दिन कोटिलाका खन्टीबहादुर लोहारलगायत २० जनाको समूहले समेत पिलीचौरमा बास पाएन । पिलीचौरमा बास पाउने अवस्था नभएपछि रातारात घर फर्किएको लोहारले बताए । दलितहरू अझै पनि ग्रामीण क्षेत्रमा मठ–मन्दिरभित्र प्रवेश पाउँदैनन् । बाजुरामा धेरैजसो मन्दिरमा दलित समुदायका लागि बस्ने ठाउँ नै बेग्लै बनाइएको हुन्छ । ‘मन्दिरभित्र पस्यो भने देउता रिसाएर अनिष्ट हुन्छ भन्ने डरले हाम्रो समुदाय भित्र पस्दैनौं,’ छेडेदह गाउँपालिका खातीगाउँका प्रेम विक भन्छन् ‘हाम्रा लागि अलग्गै ठाउँ बनाइएको हुन्छ, त्यहीँबाट फूलपाती चढाउने हो ।’

दलित समुदायका व्यक्तिले गैरदलितका दुहुना गाईभैंसीलाई भूलवश छोए पनि सजाय भोग्नुपर्ने अवस्था हुन्छ । दलितले छोएमा दुहुना पशुले दूध कम दिने र दोस्रो पटक नब्याउने (बिग्रने) आरोप उनीहरूमाथि लाग्छ । मार्तडीका स्थानीय अगुवा प्रेम विक भन्छन्, ‘अहिले पनि सार्वजनिक स्थलहरूमा समेत दलितहरूले छुवाछूत तथा भेदभाव खेप्नुपर्ने बाध्यता कायमै छ ।’