9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम – आकर्षक तलब सुविधासहित कुवेत पठाउने भन्दै नेपाली युवासँग २० देखि ६० हजारसम्म असुल्ने एक म्यानपावर व्यवसायीलाई पीडितहरुले बुधबार वैदेशिक रोजगार विभागको कार्यालयमा थुने ।

करीब डेढ सयको संख्यामा रहेका युवाहरुले विभागको कार्यालय बुद्धनगरमा बजाज ओभरसिजको सञ्चालक बताउने रामेश्वर सिंहलाई थुनेका थिए । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत्त वानेश्वर लगिएको छ ।  

रामसिंह, प्रेमसिंह त कहिले रामेश्वर नाम बताउने उनले कुवेतको ग्लोबल एक्सल कम्पनीमा २ सय केडी(करीब ५५ हजार नेपाली रुपैयाँ) तलबसहित काममा पठाउने भन्दै करिब ५ सय नेपाली युवाबाट पैसा असुलेका थिए ।
उनीमाथि दुई करोड ३० लाख भन्दा बढीको ठगीको आरोप लागेको छ ।

नक्कली भिसा देखाएर ठगी

वैदेशिक रोजगारीमा जान चाहने युवासँग रामेश्वर सिंहले फर्जी कागजपत्र देखाएर ठगी गर्ने गरेका थिए ।

कुवेतको ग्लोबल एक्सल कम्पनिमा मासिक २०० दिनार तलब हुन्छ भन्दै फर्जी कागज पत्र बनाएर त्यहाँ जान चाहनेहरुसँग ६० हजारसम्म उनले लिने गरेको आरोप पीडित युवाहरुको छ ।

उनको म्यानपावर कम्पनि ‘बजाज ओभरसिज’ को सम्बन्धन करिब दुई वर्ष अघि नै वैदेशिक रोजगार कार्यालयले खारेज गरेको भएपनि उनले युवालाई विदेश पठाउने भन्दै रकम अशुल गर्ने गरेका थिए । फरक फरक नाम र फरक फरक मोबाइल नम्बर युवाहरुलाई उपलव्ध गराउने उनलाई भेट्टाउन नै मुस्किल हुने गरेको पीडितहरुले बताए ।

कुवेत जानेहरुलाई रामेश्वरले ड्राइभर, सेक्युरिटी गार्ड र अन्य ठाउँहरुमा आकर्षक काम लगाईदिने भन्दै त्यसैसँग सम्बन्धित फर्जी कागजपत्र बनाउने गरेका थिए । भिसा पाएको सात महिनासम्म पनि आज–भोलि भनेर उनले युवाहरुलाई झुलाउन नछोडेपछि पीडितहरु एकजुट भएका थिए ।

प्रहरी र वैदेशिक रोजगार विभागका कर्मचारीहरुको रोहवरमा उनलाई बिहीबार सोधपुछ शाखामा राखिएको थियो ।

पाँच सय भन्दा धेरै पीडित

वैदेशिक रोजगार विभागमा डेढ सय पीडित जम्मा भएका भए पनि वास्तविक पीडितहरु पाँच सय भन्दा बढी हुन सक्ने कुरा वैदेशिक रोजगार बिभाग राहत तथा उद्दार शाखा निर्देशक शशी कुमार लम्सालले बताएकाे लोकान्तर अनलाइनमा समाचार छ ।

आफ्नो पैसा र पासपोर्ट फिर्ता नपाएसम्म पीडकलाई विभागबाट बाहिर निस्कन नदिने पीडितहरुले बताएपनि बिहीवार साँझ रामेश्वरलाइ तिनकुने प्रहरी वृत्त लगिएका थियो । तिनकुने प्रहरीले उनलाई ठगीको आरोपमा नियन्त्रणमा लिएपनि बाँकी कारवाही भने वैदेशिक रोजगार विभागले नै गर्ने जानकारी दियो ।