13 Baishak, 2075 | 26 April, 2018 Thursday
यसरी हुँदैछ एसईई परीक्षा
2018-03-22 | केदार नाथ खरेल

काठमाण्डौँ — देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।


जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन्। प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।


यसवर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसकेको छ,’ उनले भने, ‘केन्द्राध्यक्ष, निरीक्षकलगायत सुरक्षाकर्मीको प्रबन्ध मिलाइसकेका छौं ।’ परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन उनले सरोकारवालासँग आग्रह गरे ।


शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ ।


बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे। १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो। यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन्। साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।


साभारः कान्तिपुर दैनिक