9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् ।

५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा  बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा मभन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन । सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन । ’
प्रचण्डले यस्तो बताइरहेपनि अहिलेको अवस्थामा  विभिन्न महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारेभने केहि बोलेनन् ।

सो क्रममा  माओवादी आन्दोलनमा दलित समूदायले खेलेको भूमिकाको प्रचण्डले उच्च प्रशंशा परेका थिए । ‘जनयुद्ध गर्दा सबैभन्दा सहयोग पाएको दलितबाट हो’ उनले भने, ‘दलित यो संविधानको उत्प्रेरक पनि हो  ।’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको उदाहरण दिँदै उनले हालै पार्टी परित्याग  गरेका आहुतीप्रति कटाक्ष गर्न भ्याए ।

‘एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, मन्चमै रहेका आहुतीप्रति कटाक्ष गर्दै उनले भने, ‘ अझैं कति बुद्धिजिवि बहुलाउने हो त्यो हेर्दै जान्छौ ।’
 उनले सबैकुरा पोल्टामा हुँदाहुँदै बाहिर खोज्न जानुको तुक नभएको समेत बताए ।

दलित अधिकारका क्षेत्रमा कार्यरत संयुक्त मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो  ।

- राताेपाटी