9 Baishak, 2075 | 22 April, 2018 Sunday
केदार नाथ खरेल
सामाजिक सञ्जाललाई सही सदुपयोग गरे यसबाट फाइदा धेरै फाइदा हुन्छ र दुरुपयोग गरे बेफाइदा । सामाजिक संजालको सदुपयोग गर्ने पनि छन् र दुरुपयोग गर्ने पनि । सदुपयोग गर्ने भन्दा दुरुपयोग गर्ने धेरै छन्, फलस्वरुप हाल बलात्कार, हत्या, आत्मा हत्याका घटनाहरु धेरै वृद्धि भएको छ । खासगरी बलात्कार, हत्या हुने र आत्माहत्या गर्नेमा एकल महिलाहरु, स्कुल तथा कलेजका युवतीहरु छन्।  
इन्टरनेट सुविधाले गर्दा सामाजिक संजाल मार्फत संसारका मानिसलाई नजिक पार्छ । दुई चार दिन कुरा गर्दै जाँदा माया प्रेम बस्दै जान्छ, बिस्तारै नजिकता बढ्दै एक आपसमा त्यो सिमा पार गर्छन् जुन समाजमा अपाच्य हुन्छ । समाजमा यस्ता घटनाहरु गुपचुप राख्ने प्रयाश गर्दछन् । तर जबरजस्ती बलात्कार गर्ने र बलात्कार पछि घटना लुकाउनका लागि हत्या गर्ने गर्दछन् । बलात्कारका कुनै घटनाहरु त समाजमा मिलाउने प्रयाश गर्छन् भने कतिपय घटनाहरु प्रहरी ठानामा मिलाउने प्रयाश गरिन्छ तर हत्याको घटना मिलापत्र गराउने काम प्रहरीबाट पनि हुँदैन । तर कतिपय गरिब जसको पहुँच माथि हुँदैन उनीहरु अत्यचारलाई सहेर पिल्सिएर बस्न बाध्य हुन्छन् । कानूनी लडाई लड्ने कुरा त परै जावस प्रहरी ठानामा गएर मुद्दा दर्ता गर्न समेत आँट हुँदैन । “सत्य सेवा सुरक्षणम्”  को कसम खाएका कानूनको रक्षकले नै मुद्दा दर्ता गर्न नदिने र उल्टै पीडित पक्षमाथि अभद्र व्यवहार गरेपछि ति गरिब निमुखाहरु अत्याचारबाट पिल्सिएर सामाजिक संजालहरुमार्फत प्रहरीमाथि नै आक्रोश पोख्ने गरेको पाइन्छ । धन, डन र राजनीतिक दलको आडमा गरिब निमुखा पिल्सिएपछि कानून कसको लागि भन्ने प्रश्न उठ्छ । यदि पीडित पक्ष पनि बलियो पर्यो भने न्याय र कानूनको ढोका ढक् ढक्याउने गर्दछन् नत्र गरिब र निमुखाको लागि त्यही कानून “आकाशको फल, आँखा तरी मर” भन्ने उक्ति साबित हुन्छ।   
 
कसरी घट्छ त यी घटनाहरु

सामाजिक सञ्जाल मार्फत अन्जान व्यक्तिसँग सम्बन्ध बढाउने र घुलमिल हुँदै सेल्फी लिने गर्छन् त्यही सेल्फी फोटोलाई हतियार बनाई आफ्नो स्वार्थ पुरा गर्न केटाले दबाव दिन्छ यदि केटीले सजिलै स्वीकार गरे गुपचुप रुपमा सहमतिमा शारिरिक सम्बन्ध राख्छन् यदि केटीले नमाने अन्तिममा आपसमा मन फाटेपछि महिला तथा युवती बलात्कृत हुने गरेको पाइन्छ । 
घरेलु हिंसा, आर्थिक लेनदेन, प्रेममा धोखा पाउनु र मदिरा सेवनले पनि जबर्जस्ती करणीका घटना भएको पाइन्छ । प्रहरीसमक्ष आइपुगेका केही यस्ता घटना आर्थिक लेनदेनमा सहमति नभएपछि बलात्कार भएका पनि छन् । प्रहरीका अनुसार पारिवारिक रीसइबीका कारणले पनि जबर्जस्ती करणीका घटना भएको पाइन्छ ।

घुषखोरी, भ्रष्टचारी, हत्या र बलात्कार नियन्त्रण गर्न के गर्नुपर्छ ?

विभिन्न देशमा घुषखोरी, भ्रष्टाचारी, हत्यारा र बलात्कारीलाई नियन्त्रण गर्न कडा कानून बनाइएको छ त्यसको बाबजुद पनि केही घटनाहरु घटेका छन् तर त्यो देशको जनसंख्याको अनुपातमा बारदातका घटनाहरु न्युन रहेको पाइन्छ किनभने त्यहाँको कानूनले यस्ता अपराधमा मृत्युदण्ड दिन्छ। भारतमा हत्यारालाई मृत्यु दण्ड दिइन्छ । चीनमा भ्रष्टाचारीलाई पनि मृत्यु दण्ड दिइन्छ । साउदी अरबमा त संसार कै कडा कानून भएको देश मानिन्छ, त्यसैले साउदी अरबमा अपराधिक घटनाहरु अरु देशको तुलनामा धेरै हदसम्म न्युन रहेको पाइन्छ । किनभने त्यहाँको धार्मिक सरई कानून अनुसार तिन या चार दिर्हम भन्दा धेरै चोरी गरेमा उक्त चोरको हात काट्ने कानून छ, चोरी हुँदैन, डिलरवालाले गाडिमा सामान ल्याएर बिहान चार बजे तिर हरेक पसलको अगाडि छोड्दा पनि चोरी हुँदैन । हत्यारा र बलात्कारी, भ्रष्टाचारीलाई पनि मृत्यु दण्ड दिइन्छ । नेपालमा पनि हत्यारा, बलात्कारी, भ्रष्टाचारीलाई  नियन्त्रण गर्न कडा कानून निर्माण हुन आवश्यक देखिन्छ । भारतमा पनि हत्यारालाई मृत्यु दण्ड दिइन्छ त्यो पनि नेपाल जस्तै गणतान्त्रिक शसन भएको देश हो । तर मानव अधिकारवादी संस्था भन्छ हत्यारालाई फाँसी दिनु या मृत्यु दण्ड दिनु मानव अधिकार हनन् हो । यदि हत्यारालाई मृत्यु दण्ड दिनु मानव अधिकार हनन् हुन्छ भने त्यो हत्याराले पनि कुनै व्यक्तिको बाँच्न पाउने अधिकार हनन् गरेको छ । बिना कारण एउटा निर्दोष व्यक्तिको बलात्कार र हत्या हुनु मानव अधिकार हनन् भएन र ? त्यसकारण घटना घट्नु भन्दा पूर्व घटना घटन् नदिन कडा कानून बनायो भने यस्ता अपराधिक घटनाहरु न्युनिकरण हुने अपेक्षा गर्न सकिन्छ । एउटा उखान छः “रोग लाग्न दिनु भन्दा रोगको बाटो छेक्नु गर्नु उचित” भने झैं कडा कानून बनाए यस्ता जघन्य अपराधिक घटनाहरु कम हुने आम नागरिकको बुझाई छ । हाल सामाजिक संजालमा घटना घटेपछि नेपालमा पनि हत्यारा र बलात्कारीलाई मृत्यु दण्ड दिने कानून बनाइयोस् सरकार भनेर सर्व साधारणबाट माग भएको देखिन्छ । तर घटना सेलाउँदै जान्छ त्यो आवाज सेलाउँदै जान्छ ।  

घटना वृद्धि हुनुमा दोषी को हो ?

टिकापुर घटनाका मुख्य योजनाकार हत्यारा, जसले देशका सुरक्षक बर्दीधारी प्रहरी तथा एउटा निर्दोष बालकको हत्या गर्यो त्यही व्यक्तिलाई राजपाले टिकट दियो र स्थानिय जनताले भोट दिएर जिताउनु भनेको अपराध गर्न लाइसेन्स दिएझैं भएन र ?

अझ गृहमन्त्रीले जुश पिलाएर अनशन तोड्न लगाउनु कति हांस्यस्पद लाग्छ, सम्मानित अदालतबाट फैसला नभई सपथ ग्रहण गराउनु भनेको तैले जे गरिस ठिक हो भनेर समर्थन गरेको जस्तो भएन र ?  देशका रक्षक माथि हमला गर्नु के जायज ठहरियो त ? पीडित पक्षले मुद्दा फिर्ता नलिएको अवस्थामा र सम्मानित अदालतबाट न्यायिक फैसला नभएसम्म रेशम चौधरीलाई सपथ ग्रहण गराउनु वीर सहिदहरुको ईज्जत रहला र ? शहिदका परिवारको हृदयमा छुरा रोपेझैं भएन र ? दुधे बालकलाईसम्म नछोड्ने अपराधीलाई सपथ ग्रहण गराउनु कुन राष्ट्रवाद भयो ? 

सरकारले गुण्डा नाईकेलाई पक्राउ गर्दा र भ्रष्टचार नगर भनेर चेतावनी दिंदा नेपाली कांग्रेस पार्टीले गुण्डा र भ्रष्ट कर्मचारीको समर्थन गर्दै सडकमा राँके जुलुश गर्नु जायज होला त ? नेकपा एमाले पार्टीले पनि दिपक मनाङे जस्ता डनलाई चुनावमा उठाएर गुण्डा गर्दीको पक्षपोषण गरेको देखिन्छ । एक सिट कम भए के बिग्रिन्थ्यो र ? अपराधको दलदलमा मुछिएका व्यक्तिलाई टिकट दिनु भनेको जनताको भावनामाथि खेलबाड गर्ने काम भएन र ? सरकारको यस्तो रबैयाले गर्दा हत्यारा, भ्रष्टाचारी, डनहरुलाई कार्वाही होइन सम्मान मिल्नेछ । कुनै डन हत्यारा मारियो भने छुटाउन प्रहरी माथि नेताहरुको दबाव हुन्छ । इमान्दार प्रहरीको बर्दी खोल्ने र जागिर खाइ दिन्छु भन्ने धम्की पूर्ण फोन जान्छ । इमान्दार र निडर प्रहरीले बर्दीलाई दाउमा राखी हत्यारा र डनलाई कार्वाहि गर्नुपर्छ भनेर डटेर सामना गर्छन् तर केही डरपोख प्रहरी भए लुत्रुक परेर त्यस्ता अपराधीलाई छोड्न बाध्य हुन्छन् । यसकारण हत्या, बलात्कार जस्ता घटना घट्नुमा राजनीतिक दलहरु नै प्रमुख दोषी हुन् भन्दा फरक पर्दैन । यिनै राजनीतिक दलको आड भरोषामा यस्ता घटना घट्ने गरेको पाइन्छ । कानून बनाउने र कानून लागू गर्ने निकाय नै डन र हत्यारालाई बचाउन अघि सर्छन् भने आफैले बनाएको कानूनको आफैबाट अपमान भएन र ?