9 Baishak, 2075 | 22 April, 2018 Sunday
गजल - भगवती बस्नेत
2018-03-16 | तीतोपाटी डटकम



गजल

जति दूरदूर भाग तिमी हाम्रो प्यार उस्तै छ

जति तिमी बदलियौ,  समय बारबार उस्तै छ ।


सम्झन्छु अतितलाई फेरि बेचैनीले दुख्छ छाती

अझै ती यादगार पलहरूको व्यवहार उस्तै छ ।


प्रेम प्रकृति हो भन्दैन ’तिमी गर अनि म गर्छु’

अविरल बग्छ नदी सागर भेट्ने रफ़्तार उस्तै छ ।


कल्पनामा बित्छन् दिनहरु, रुँदै बित्छन् रातहरु

बर्षन्छन् आँसुका भेलहरु आँखामा असार उस्तै छ ।


हामी आफू मुस्कुराउँने या रिसाउने सोच आफ्नै

जस्तो हो त्यस्तै देखाउने ऐनाको चमत्कार उस्तै छ ।


कैयौं मेरा सपनाहरू तिमीले जलायौ तर पनि

नयाँ स्वप्न सजाउने यो मुटुको विचार उस्तै छ ।


भगवती बस्नेत

हाल इज्राएल