8 Falgun, 2074 | 20 February, 2018 Tuesday

तीतोपाटी डट कम- सर्लाहीका सरोजकुमार महतो बैदेशिक रोजगारीका लागि कुनै मुलुक जान चाहन्थे । उनलाई यसका बारेमा उतिधेरै थाहा भनें थिएन । कुन देश जाने र कति रकम लाग्छ भन्ने बारेमा उनले आफ्नै ठाउँका एजेण्टबाट थाहा पाए । र उनकै सल्लाहले उनी ओमान जान तयार भए ।

राम्रो काम र धेरै कमाई हुने ठाउँको भिषा आएपछि उनलाई पठाइदिने आश्वासन दिए एजेण्ट लालबाबु मण्डलले । चिनेकै एजेण्ट भएपछि उनलाई पनि ढुक्क लाग्यो । त्यसैले उनले आफूले बनाएको नयाँ राहदानी(पासपोर्ट) मण्डलकै जिम्मा लगाइदिए ।

बैदेशिक रोजगारको योजना बनाइसकेका महतोलाई हतार थियो विदेश गएर कमाईहाल्ने । एजेण्टले उनको यो हतारो बुझिसकेका थिए । त्यसैले उनले ओमानमा भन्दा युएईमा राम्रो रोजगारीको अवशर भएको खवर गरे । महतोलाई ओमान वा युएईले कुनै फरक पर्नेवाला थिएन । त्यसैले उनी युएई जान तयार भए । एजेण्टले मागेको ८० हजार तत्काल बुझाए उनले । त्यसपछि महतोलाई विदेश उड्न तयार भएर बस्न अह्राए एजेण्ट मण्डलले । महतोलाई लाग्यो अव उनी गाउँमा केवल केही दिनका पाहुना हुन् । उनी विदेश जाने दिन पर्खेर बसे ।

तर एजेण्टले खास खोजखवर गरेनन् । त्यसैले स्वयं महतोले उनलाई तारन्तार फोन गरिरहे । यसबीचमा महतोलाई काठमाडौं बोलाए एजेण्ट मण्डलले । अव विदेश उड्न पाइने आश बढ्यो महतोको । तर काठमाडौं घुमाएर उनलाई फिर्ता पठाइदिए । उनलाई लाग्यो एकपटक भएन, पक्कै अर्कोपटक भइहाल्छ । उनी चुपचाप घर फर्किए ।

तर यो चक्र चलिरह्यो । अर्थात दुई बर्षसम्म विदेश पठाउने नाममा सर्लाही-काठमाडौं-सर्लाही गरेको ३० पटक भएपछि भनें महतोको धैर्यताको बाँध टुट्यो । र, सँगसँगै टुट्यो एजेण्ट मण्डलले विदेश पठाइदिन्छन् भन्ने विश्वास पनि । त्यसैले उनले आफ्नो राहदानी र र आफूले तिरको रकम व्याजसहित फिर्ता गराइदिन सदरमुकाम मलंगवास्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् ।

यस्तै समस्या भोगिरहेका छन् मोतिपुर ८ का जलाउद्धिन बैठा । बैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भनेर बैठाले स्थानीय एजेण्ट विन्देश्वर रायलाई ८ महिना अगाडी राहदानी बुझाए । त्यसलगत्तै एजेण्ट रायले विदेश जाने प्रकृयाका लागि भन्दै अग्रिम रुपमा ३० हजार रकम पनि लिए उनीसँग । त्यसपछि सुरु भयो बैठाको पनि एजेण्टको पछि लाग्नु पर्ने नियति । जतिपटक फोन गरेपनि काम हुँदैछ भनेर टारिरहेका रायले यसबीचमा उनलाई पनि काठमाडौं घुमाएर फर्काए । बैठा भन्छन् "न विदेश उडायो, न त पासपोर्ट र पैसा नै फिर्ता दियो । त्यसैले बाध्य भएर पासपोर्ट र तिरेको रकम व्याजसहित फिर्ता गराइदिन निवेदन दिएको छु ।" उनले पनि रकम र राहनानी फिर्ता गराइदिन सहयोग माग्दै मलंगवास्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् ।

यी दुईवटा प्रतिनिधि उदाहरण मात्र हुन् । यसरी बैदेशिक रोजगारमा जान चाहने थुप्रै युवासँग राहदानी र रकम उठाएर नपठाउने र सम्वन्धित व्यक्तिले धेरै कचकच गरेमा काठमाडौं घुमाएर फर्काउने गरिएको छ । यसरी आफूहरुलाई झुक्याइएको भन्दै न्याय दिलाइदिन ठूलो संख्यामा सुचना केन्द्रमा निवेदन पर्ने गरेको छ ।