8 Falgun, 2074 | 20 February, 2018 Tuesday
तीतोपाटी डट कम- इलामको माइनगरपालिका-४ का प्रेमबहादुर राई अहिले साउदी अरबको जेलमा छन् । पैसा कमाउन भन्दै २०१२ मा साउदी आएका राई २०१६ मार्चमा जेल चलान भएका हुन् ।

काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो ।

कम्पनीले उनलार्इ यतिकैमा छोडेन । त्यसपछि कम्पनीले आफ्नो सामानको बिगो भराइपाऊँ भनि निवेदन दियो ।

कम्पनीको निबेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरिदियो ।

प्रेमको घरमा श्रीमती र नाबालिका छोरी छन् । उनीहरूको बिचल्ली छ । श्रीमानलार्इ बचाइदिन श्रीमतीले हारगुहार गरिरहेकी छन् ।

९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुनेछ । यतिबेला साउदीस्थित नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाका लागि रकमको जोहो गर्न जुटेका छन् ।

जेद्धाबाट अनिशको परिवारका लागि सहयोग हस्तान्तरण गर्दै

तर, एकाध व्यक्ति र केही संघसंस्थाको पहलले मात्रै तत्कालै यति ठूलो रकम संकलन हुन सक्ने अवस्था छैन । यसर्थ, अनिश खालिङ राई बचाऊ अभियानका क्रममा संकलन भएर बचेको रकम प्रेमको जीवन रक्षाका लागि प्रयोग गर्न माग गरिएको छ ।

केही वर्षअघि यूएई अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका शंखुवासभाकाको मत्स्यपोखरी-३ का अनिश खालिङ राई बचाउन संकलन भएको रकम बचेको छ ।

उक्त बचेको रकम अनिश खालिङ प्रतिस्ठानमा राखिएको बताइन्छ । सोही रकमले प्रेमको उद्दार गर्नुपर्ने भन्दै जेद्धास्थित नेपाली संघसंस्थाहरुले सार्वजनिक रुपमै विज्ञप्ति जारी गरेका छन् ।

अनिश बचाउनका लागि संकलन भएर बचेको रकम कुन अवस्थामा छ भन्ने समेत जानकारी नभएको भन्दै उनीहरुले बचेको रकम प्रेमको उद्धारमा खर्च गर्न संयुक्त रुपमा आव्हान गरेका हुन् ।

अनिश बचाउ अभियानलाई जेद्धाबाट मात्रै ६ लाख ८० हजार ४६२ रुपैयाँ सहयोग गरिएको भन्दै उनीहरुले यतिबेला प्रेमको लागि सहयोगको लागि अनुरोध गरेका छन् ।

अनिश बचाउन अभियानका क्रमका संकलन भएको रकम मध्ये दुई करोड ३६ लाख रुपैयाँ बचत रहेको दावी गरिएको छ । सोही रकमको ब्याज मात्रै सहयोग गरेपनि प्रेम राईको उद्धार हुने संघसंस्थाहरुले बताएका छन् ।  
२०७४ माघ २५ गते १२:५४ मा प्रकाशित