12 Jestha, 2075 | 26 May, 2018 Saturday
तीतोपाटी डट कम- माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १७ बर्षदेखी बर्षेनी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला आगामी १६ र २३ फेब्रुअरी २०१८ शुक्रबारका दिन, कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा सञ्चालन हुने भएको छ ।

२ शुक्रबार लगातार खेलाई सम्पन्न गरिने यस टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ । यस गोल्ड कपको बिगतका श्रीङ्खलाहरु अक्टुबरदेखी डिसेम्बरसम्म सम्पन्न गरिने भए पनि यसपाली भने क्लवलाई फुटबल मैदानको लागि कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृत प्राप्त गर्न निकै लामो समय कसरत गर्नु परेकोले केही ढिला हुन गएको जानकारी गराउँदै, टिम दर्ता र टाईसिटको लागि आगामी ०९ फेब्रुअरी २०१८ मा फर्वानियाको गार्डेनमा बिहानको ठिक १०.०० बजे उपस्थित हुन सम्पूर्ण टिमका टिम म्यानेजर र टिम क्याप्टेनहरुलाई क्लवले अनुरोध गरेको छ ।

प्रबासको नेपाली समाजमा एउटा छुट्टै महत्व र लोकप्रियता बोकेको यो गोल्ड कप समाज सेवामा चिर-परिचित व्यक्तित्व एनआरएनए कुवेतका संस्थापक अध्यक्ष, तामाङ घेदुङ कुवेतका बरिष्ट संरक्षक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संस्थापक बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजनको स्‍मृतिमा सन् २००० को अक्टुबरमा निर्माण गर्दै कपको नाम एम.बी. बमजन मेमोरियल गोल्ड कप राखी, कप सञ्चालनको जिम्मेवारी कुवेतको सबैभन्दा जेष्ठ संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब, काठमाण्डौ-कुवेतलाई सुम्पनु भएको हो ।

सुन र चाँदी जडान गरि निर्माण गरिएको यो कपको जगमा साधारण काठको बनावट, पिंधमा सुनाबि रङको बुट्टे डिजाइन, कम्मरमा चाँदीको आवरण र शिरमा ५ (पाँच) तोला बराबरको बिशुद्ध सुनको अण्डा आकारको ढिक्को, अनि दायाँ र बायाँ पट्टिको भाग सिल्भर रङ्ले पोतिएको समात्ने हेण्डल भएको अत्यन्तै सुन्दर एबं आकर्षक आकृति रहेको छ । यो कपलाई संस्थापक राजेन्द्र तामाङ्ले १८ डिसेम्बर २००९ मा एक औपचारिक समारोह बीच कपको स्वामित्व र अधिकार पूर्ण रुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवमा निहित रहने गरि हस्तान्तरण गरेपश्चात यस कपको नाम “माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कप”मा रुपान्तरण गरिएको थियो ।

क्लवले कप, मेडल र प्रमाण पत्रको साथमा बिजेता टिमलाई २०१ के.डी र उपबिजेता टिमलाई १०१ के.डी नगदी पुरस्कारले पुरस्कृत गर्नेछ भने उत्कृष्ट खेलाडी, अनुशासित टिम, हाई स्कोरर र रेफ्रिहरुलाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गर्नेछ । यसैगरी, यस गोल्ड कपमा लगातार ३ चोटि बिजयी हाँसिल गरी कप कब्जा गर्ने टिमलाई क्लवले २५१ के.डीले पुरस्कृत गर्ने बिधान रहेको छ ।

सरदर बजेट १७०० देखी २००० (२ हजार) कुवेती दिनार आउने यस गोल्ड कप टुर्नामेण्टको लागि हरेक बर्ष बिदेशी स्पोन्सरहरुको ओईरो लाग्ने भए पनि गोल्ड कपको १५औं संस्करणमा रमाउँदै खेलको मजा लिईरहेका स्पोन्सरहरुकै अगाडि खेल मैदान एकाएक युद्दभूमीमा परिवर्तित भईदिंदा यस वर्ष भनें हालसम्म कुनै पनि स्पोन्सरहरुले रेस्पोन्स नगरेको जनाउँदै, यो गोल्ड कप माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव या संस्थापक राजेन्द्र तामाङको मात्र नभई सम्पूर्ण कुवेतवासी नेपालीहरुको मान र शान भएकोले यसलाई सफल पार्न सबै नेपाली सँघ-संस्था, खेलाडी, खेलप्रेमी दर्शक, पत्रकार, कलाकार, बुद्दिजिबी, भद्रभलाद्मी र समाजसेवी व्यक्तित्वहरु प्रती क्लवले आर्थिक, भौतिक, बौद्दिक एवं नैतीक सहयोगको अपेक्षा गरेको छ । सन् २०१७ मै सम्पन्न हुनु पर्ने बमजन कपको १६औं श्रीङखला कुवेतको नेपाली समाजमा उत्पन्न भएको असहज परिस्थितीका कारण अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

आगामी १६ र २३ फेब्रुअरीमा सञ्चालन हुने फुटबल टुर्नामेण्टको लागि स्थानिय कानुनलाई ध्यानमा राख्दै क्लवले निम्नानुसार नियमावली सार्वजनिक गरेको छ ।

१) १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य लगायत सक्षम अन्य रेफ्रीहरुबाट खेलाईने छ । खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

२) खेल अवधिमा कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेको खण्डमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरि अर्को एउटा खेल खेल्न दिईने छैन ।

३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो पासपोर्ट या सिभिल आईडीको फोटोकपी टिम दर्ताको दिनमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ । दर्ताको दिन नबुझाउने टिम म्यानेजर र खेलाडीले खेल सञ्चालन हुने दिन १६ फेब्रुअरीमा अनिवार्य रुपमा आयोजकलाई बुझाउनु पर्ने र नबुझाउने कोही पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ ।

४) प्रत्येक टिमबाट ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंवेसक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने जानकारीका साथ उक्त स्वयंसेवक कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्ने छ ।

५) १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप फुटबल टुर्नामेण्ट सदा झैं नक्आउट चरणको आधारमा खेलाईने छ ।

६) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।

७) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन । खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।

८) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक वाध्य हुनेछ ।

९) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ । यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ ।

१०) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयएमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्नेछ ।

११) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार र यातायात जस्ता आबश्यकमूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

१२) खेलको समय अवधी पहीलो चरण ३० मिनेट, ५ मिनेट आराम र दोस्रो चरण पनि ३० मिनेट गरी ६० मिनेटको खेलाईने छ । यदी खेल बराबरी भएमा थप १० मिनेट खेलाई थप समयमा पनि बराबरी भएमा सिधै पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।

१३) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाई कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ ।

१४) १६औं बमजन कपको सञ्चालन अवधीभर खेल मैदान परिसरमा आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव स्वयंले सुपथ मुल्यमा क्यान्टिन सञ्चालन गर्ने छ । अन्य कुनै पनि कम्पनी, समुह या व्यक्तीलाई कुनै किसिमको क्यान्टिन सञ्चालन या खाध्य तथा पेय पदार्थ बेचबिखन गर्न सख्त मनाही गरिएको छ ।

१५) कुनै पनि टिमले एक(१) या तीन(३) पटक माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपमा बिजयी हाँसिल गरेता पनि, बिजेता टिमले बिजयी हाँसिल गरेको मितिदेखी १५ दिन भित्रमा सहि-सलामत माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप आयोजकलाई वापस बुझाउनु पर्नेछ ।

१६) १६औं बमजन गोल्ड कप टुर्नामेण्ट एक आधुनिक एवं आर्टिफिसियल तथा चारैदिशा सिसी टिभी क्यामेरा जडित मैदानमा आयोजना हुन गैरहेकोले कुनै पनि खेलाडी, व्यक्ती बिशेष, समुह तथा टिम सपोर्टरहरुलाई खेल मैदानभित्र धुम्रपान, मध्यपान नगर्न, असहज परिस्थिती उत्पन्न नगर्न, पानीका बोतल र कागजहरु नफाल्न कुवेतको खेलकुद मन्त्रालयले आदेश जारी गरेको छ भने ग्राउण्ड चौबिसै घण्टा खेलकुद मन्त्रालयको सिसी टिभी सर्भिलेन्समा रहने छ ।

पुनश्च:
खेल हुने मिति : १६ र २३ फेब्रुअरी २०१८, बिहानको ठिक ०८.०० बजेदेखी
खेल मैदान : सनैया फुटबल मैदान, फाहाहिल स्पोर्टस क्लव, कुवेत
टाई सिट : ०९ फेब्रुअरी २०१८, फर्वानिया गार्डन(पार्क), बिहानको ठिक १०.०० बजे
टिम दर्ता शुल्क : ६० कुवेती दिनार (टिम दर्ता शुल्क अनिवार्य रुपमा ०९ फेबुअरी, दर्ता हुने दिनमै बुझाउनु पर्नेछ अन्यथा कुनै पनि अवस्थामा दर्ता नबुझाउने टिमलाई टुर्नामेण्टमा समावेश गराईने छैन)

पुरस्कारहरु:
बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र २०१ के.डी. नगदी
उप-बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र १०१ के.डी. नगदी
उत्कृष्ट खेलाडी : ट्रफी र प्रमाण-पत्र
अनुशासित टिम : ट्रफी र प्रमाण-पत्र
हाई स्कोरर : ट्रफी र प्रमाण-पत्र
रेफ्रिहरु : ट्रफी र प्रमाण-पत्र

थप जानकारीको लागि:
जय आले – ९९१०१४०८, मोहन राई – ९७३७२८५८, सुरेश गुरुङ – ९४०५८८१९, डम्बर रिमाल – ६६८०९६४२, ईन्द्र भुसाल – ६५७४८८६२, जगत मगर – ९९२८८३२०, शिव पौडेल – ६६२८१२५७, चन्द्र तामाङ – ५०५७१३६९, आनन्द श्रेष्ठ – ६७०१००६५ अर्थात क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।