8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम - युएईको सारजहाँमा दुईजना महिलालाई १४ हजार दिराममा विक्रि गर्ने प्रयास गरेको अभियोगमा दुई नेपालीलाई मानव तस्करीको मुद्धामा सुनुवाई सुरु भएको छ । उनीहरु विरुद्ध प्रहरीले दायर गरेको मुद्धामा स्थानीय अदालतमा सुनुवाई सुरु भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार सारजहाँको क्रिमिनल कोर्टमा सो मुद्धाको पहिलो सुनुवाई गत विहिवार भएको थियो । अभियुक्तहरुको बयान आगामी हप्ता अदालतमा लिइने समाचारमा जनाइएको छ ।

सन् २०१७ को जुन महिनामा पक्राउ परेका उनीहरुलाई प्रहरीले मानव बेचविखनमा संलग्न रहेको अभियोग लगाएको छ । उनीहरुले दुई महिलालार्ई बन्धक बनाएर जवर्जस्ती वेश्यावृत्तिमा लगाउन खोजेको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार ति दुई नेपालीले दुई महिलालाई जवर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको र १४ हजार दिराममा विक्रि गर्न खोजेको जानकारी प्राप्त भएपछि प्रहरी नै ग्राहक बनेर गएर उनीहरुलाई पक्राउ गरेको थियो । ग्राहक बनेर गएका प्रहरीले एक व्यक्तिलाई रकम दिएपछि अर्का व्यक्ति ति दुई महिलालाइ लिएर आएका थिए ।

पक्राउ परेका ति दुर्ई नेपालीलाई हिरासतमा राखिएको र महिलालाई सुरक्षित आवास गृहमा पठाइएको प्रहरीलाई उधृत गर्दै लेखिएको समाचारमा उल्लेख छ ।