9 Magh, 2074 | 23 January, 2018 Tuesday
बैदेशिक रोज़गारले गाउँ उजाड
2018-01-06 | तीतोपाटी डटकम
ठाकुर प्रसाद पौडेल- आज भन्दा पच्चीस छब्बीस बर्ष पहिला गाउं घरमा बिकासका पुर्बाधारहरुको बिकास भएका थिएनन् तर पनि त्यहा सबै मानिस दु खजिलो गरेर खुसीसाथ आफ्ना परिबारका सदस्यहरु बिच रमाई खुसीसाथ बसिरहेका थिए । नेपालमा २०४६-०४७ को राजनैतिक परिवर्तन पछी जनतामा केही चेतनाको अभिबृद्धी हुनुका साथै बाल-बच्चाहरुलाई राम्रो र गुणस्तरिय शिक्षा कसरी दिन सकिन्छ र जिबनमा केही आर्थिक जिबनस्तर उठाउन सकिन्छ भन्ने सोचको बिकाश भयो । सबै जनमानसमा साथै युबा बर्गमा आएको परिवर्तन संगै युबाहरु बिदेशिने क्रम चालुभयो ।

मलाई संझना छ कार्तिकमा धान काटी सकेपछी खेत जोताउनको हतारो हुने गर्दथ्यो । खेत जोतेर गहुँ छर्ने, तोरी छर्ने, आलु रोप्ने काम सकेर मात्र दाँई राख्ने चलन थियो । खले गह्रो बाहेक कुनै जमिन बाझो देख्न पाईने थिएन । त्यही खलेगह्रो पनि दाँई राखीसकेपछी तोरी छर्ने गर्दथे । आलु र तेरी पाकेपछी फेरी खेतमा हिउदे मकै छर्ने चलन थियो । त्यो समयमा कृषिमा नेपाल आत्म निर्भर हुनुका साथै भारतमा धान मकै कोदो साथै अन्य दलहन खाद्यपदार्थ निर्यात हुने गर्दथ्यो । गाउं घरमा दैनिकी चलाउन आफुलाई बढी भएको अन्नबाली बेचेर लत्ता कपडा किन्ने , चाड बांड र बालबच्चाको किताब कपी र स्कुल फ़ी समेत तिरेर दैनिकी चलेको थियो ।
आज ति कुरा गर्दा अहिलेका हाम्रा बच्चाहरुले बिश्वास गर्दैनन् र सुन्न पनि चाहादैनन् । गाउं घर पुरा खाली भएको छ । पहिला हाम्रा बाजेहरुले घर अली डाडामा बारी खेरिया फाँडेर भिरालो जमिनलाई सम्मो पारेर घर बनाउने गर्दथे । सकेसम्म खेतीयेग्य जमिन मास्न हुदैन भन्ने मान्यता थियो । आज त्यसको बिपरित घरभन्दा तल अलि सम्मो परेको धान रोप्ने फाटहरुमा आर सि सि घरहरु बनेका छन । डोजर लगाएर कच्ची धुलाम्मे बाटोहरु बनेका छन , धानफल्ने खेतहरुमा घरहरु फलेका छन । गाउघरका घरहरु ढलेका छन । लाग्छ  यहा कुनै सरकार छैन कुनै निती नियम र कानुन छैन । पहिला सबैका घरमा धान र कोदाका भकारी हुने गर्दथे आज कसैको घरमा भकारी छैन  । किलोको हिसाबले किनेर सानो थैलोमा चामल दाल र पाउको तरकारी ल्याएर एकहप्ता गुज़ारा गर्नु परेको छ । यदी कसैको भकारीमा धान कोदो भएता पनि बिक्री नभएर मुसाहरुलाई आहारा भएको छ , कहिलेकाही बाँदरहरु घरभित्र पसेर सबै खाईदिने गरेका छन । गाउमा बस्ती ज्यादै पातलो र बृद्ध बृद्धाहरुमात्र भएकोले जंगली जनाबरको त्रास दिनानुदिन बढ्दै गएको छ । जंगली जनाबरहरु आहारको अभाबमा गाउमा कुकुर बिरालाहरु सकिएर श्याल, बाघ र चितुबाहरुले कुखुरा र साथै मान्छे समेत खान थालेका छन । आज ति गाउका सुन्दर बस्तीहरु उजाड़ बन्दै गएका छन । 

ईमान्दार र सोझासिधा युबाहरु बैदेशिक रोजगारीमा बिदेश पलायन भए । परिबारका सदस्य बाटाको नजिक छोराछोरी पढाउने भनेर घर छोडेर डेरामा बस्न थाले । नेपालमा भएका टाठा बाठा भु माफ़िया फटाहाहरु र नेपालका घुसखोरी प्रशासक कर्मचारीहरुको मिलेमतोमा धानखेत मासेर प्लटिंग गर्दै घडेरीमा बिक्री गरेर उर्वरक भुमीलाई कंक्रिटमा बदलिदिए । 
जतिसुकै स्वधिनताका भषण गरेपनि हामी २५-२६ बर्ष पहिला जुन स्वाधीन र स्वावलम्बी थियौ आज चाहेर पनि आत्म सम्मान जोगाउन सक्ने अबस्था नभएको मैले महसुस गरेको छु ।

यो अबधीमा देशमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भए तर यहा मानिसको चेतनामा खासै परिवर्तन भएको पाईदैन । उही पुरानो सोच कसरी अरुलाई ठगेर खाने र आफुमात्र छिट्टै धनीहुने भन्ने मानसिकता जिबितै छ । 

देशभरी स्थानिय निकाय देखी राष्टिय स्तर सम्मको चुनाब संपन्न भएर स्थानिय स्तरको सरकार बनेको पनि ३-४ महिना बितीसकेको छ तर कुनै राम्रो योजना बनाएको पाईएको छैन । 

राजनैतिक परिबर्तनले मात्र देश बिकाशहुन सक्तैन देश र जनतालाई बिकाश र धनी बनाउनकोलागी आफ्नो वरिपरी भएको संभाबनालाई पहिचानगरी सबै जनतालाई एकाकार गरी बिकाश र स्वाबलम्मन बनाउने तर्फ सोच्न र कार्यनयन गर्न जरुरी छ ।

हरेक देशमा प्रकृतिले कुनैन कुनै उपहार दिएको हुन्छ । जस्तो मरुभूमि भएका देशहरुमा तेल, ग्यास छ भने हामीलाई प्रकृतिले दिएको उपहार फलफुल तथा खेतीयोग्य जमिन , बन जंगल जडिबुटीका साथै प्राकृतिक हिम सृँखलाको मनमोहक सुन्दरता ले बिश्वका नागरिकलाई आकर्षण गर्ने हुदा प्रर्यटन ब्याबसाय साथै बिभिन्न खनिज पदार्थ नेपालको संपती हो । यि पुरबाधारको बिकाश गर्न राज्य बाट योजनाबद्ध तरिकाले योजनाको तर्जुमा गर्ने जनतालाई रोजगारीको अबसर सिर्जना गर्नु राज्यको दाईत्व हो । ति उजाड़ भएका गाउघरमा र त्यो उजाड़ भुमिलाई उर्वरा बनाउनको लागी एकिकृत रुपमा आधुनिक कृषी तथा तरकारी खेती , मत्स्य पालन , पशुपालन ब्याबसाय नगरी नेपाल र नेपाली जनतालाई आत्म निर्भर बनाउन सकिने अबस्था छैन ।

मिठा कुरा र भाषणमा मन्त्रमुग्ध हुने नेपाली जनता यथार्थ धरातलमा टेकेर माटोबाट टाढा बसेर होईन माटोलाई माया गरेर आफ्नो जमिनमा अन्नबाली उत्पादन गर्न सकेमात्र हाम्रो देश र हामी आत्मनिर्भर हुन सक्ने छौ र स्वावलम्बी हुनुका साथै स्वाधीन हुन सक्नेछौ अन्यथा भारतले पठाएको मिसाबटयुक्त खाद्यपदार्थ खादै स्वधिनताको नारा जप्दै पराधिन जिबन बिताई रहनु पर्नेछ ।

ठाकुर प्रसाद पौडेल
पोखरा 
जनबरी ५ , २०१८(कुवेतको नेपाली समाजमा परिचित पौडेल दुई दशक भन्दा बढि समय कुवेमा कार्यरत थिए भने उनले गत महिनाबाट कुवेतलाई बिट मारेका थिए)