8 Magh, 2074 | 22 January, 2018 Monday

तीतोपाटी डटकम- पूर्व जनमुक्ति सेना सदस्य तथा प्रगतिशील लेखक सुरेन्द्र  बम्जनलाई उपचारको लागी ५ लाख ४८ हजार तीनसय पैसट्ठी रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण भएको छ । 

नेकपा माओवादी केन्द्र विदेश विभागले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को हातबाट उक्त सहयोग रकमको चेकबोर्ड हस्तान्तरण गरिएको हो । 

बम्जनको उपचार सहयोगको लागी प्रगतिशील कलाकार संघ युएईले नेपालबाट कलाकारहरु नबिन खड्का, स्मारिका थिङ र निर्माता अभिनेता अमिर दोङ समेतलाई निमन्त्रणा गरेर साँस्कृतिक कार्यक्रमको आयोजना गरी रु ४ लाख रुपैयाँ, नेपाली जन-प्रगतिशील मञ्च कोरियाले ७० हजार रुपैयाँ, नेपाली जन-प्रगतिशील मञ्च कुवेतले ३० हजार रुपैयाँ, नेपाली जन-प्रगतिशील मञ्च साउदी अरबले २७ हजार तीनसय तीस रुपैयाँ र नेपाली जन-प्रगतिशील मञ्च कतारले २१ हजार ३५ रुपैयाँ गरेर उक्त सहयोग रकम हस्तान्तरण गरिएको नेपाली जन-प्रगतिशील मञ्च कुवेतका पूर्वाध्यक्ष दावा छिरिङ थोकरले जानकारी गराएका छन् । 

बिगत ५ वर्ष पहिले सिन्धुली सदरमुकामबाट पार्टीको कामले घ्याल्चोक गाउँपालिका तर्फ जाँदै गरेका बम्जनको बाटोमा दुर्घटनामा परी करिब सय मिटर खस्दा उनको मेरुदण्ड भाँचिन गई कम्मर देखी तलको भाग नचल्ने अवस्थामा रहेको छ । 

कार्यक्रममा देश विदेशबाट सहयोग गर्ने सहयोगीहरुलाई हर्दिक धन्यवाद व्यक्त गर्दै पीडित बम्जनले उपचारको लागी ३५ लाख रुपैयाँ लाग्ने भएको हुनाले आज प्राप्त रकम उपचारमा अपुग हुने र थप सहयोगको लागी कार्यक्रम स्थलबाटै देश विदेशमा रहनुभएका सहयोगीहरुलाई आव्हान गरेका छन् ।