12 Baishak, 2075 | 25 April, 2018 Wednesday

सुनिल न्यौपाने-प्रविधिले मात्र होइन आवश्यकताले पनि विश्वलाई साँघुरो बनाउँदै लगेको छ । अझ पछिल्लो समयमा उपयुक्त रोजगारीको आवश्यकताले मान्छेको गतिशिलतालाई बढाएको छ । बैदेशिक रोजगारमा नेपाली मात्र जाँदैनन् अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता सम्पन्न मुलुकका नागरिकहरु पनि अन्य मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । त्यसैले गरिवि, स्वदेशमा रोजगारीको अपर्याप्तता मात्र आप्रवासनका कारण होइनन् । आप्रवासनको कारण विविध हुन सक्दछ । रोजगारीको अवशर, उचित शिक्षाको खोजि, असुरक्षाका कारण सुरक्षित स्थानमा प्रस्थान गर्नु लगायत आप्रवासनका कारण हुन्छन् ।

नेपालबाट बैदेशिक रोजगारमा जाने चलन पुरानो हो । भारतमा कृषि श्रमिक हुँदै सुरु भएको नेपालीको बैदेशिक रोजगारमा जाने क्रम लाहुरे हुने परम्पराले विस्तार भयो । पछिल्लो समयमा नेपालमा बैदेशिक रोजगारको कुरा गर्ने वित्तिकै खाडीका केहि मुलुकहरु तथा मलेसियाको रोजगारीलाई सम्झिइने गरिन्छ । तर नेपालले रोजगारीमा जानका लागि खुल्ला गरेका ११० मुलुक(हाल बन्देज लगाइएका तीन मुलुक सहित) सँगै अन्य मुलुकहरुमा समेत अनियमित बाटो वा अनियमित पद्धती मार्फत नेपालीहरु जाने गरेकाछन् ।  

अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) का अनुसार संसारमा सन् २००० मा १७ करोड ५० लाख रहेको आप्रवासीको संख्या सन् २०१५ मा बढेर २४ करोड ४० लाख(अनुमानित) पुगेको छ । र, यसरी छरिएका मध्ये बहुसँख्यक युरोपमा छन् भनें एसियामा ७ करोड ५० लाख आप्रवासी रहेको अनुमान छ । यसमध्ये बहुसंख्यक आप्रवासी कामदार हुन् । उनीहरु मर्यादित रोजगारी र उन्नत जीवनको अपेक्षा सहित आप्रवासनमा जाने गर्दछन् । त्यसैले आप्रवासी कामदारको मुद्धा नेपालका लागि मात्र नभई विश्वका सवैजसो मुलुकहरुका लागि चासोको विषय हो । यति हुँदाहुँदै पनि सीप र भाषा दुवैमा अदक्ष अवस्थामा रोजगारीका लागि विशेषगरी खाडीका मुलुक र मलेसियामा जाने नेपाली कामदार बढी जोखिममा पर्ने गरेका छन् । त्यसैले त्यस्ता कामदारको सुरक्षा र उनीहरुले प्राप्त गर्नुपर्ने सुविधाको चासो निश्चय नै बढी हुन्छ, हुनुपर्दछ ।

विश्वमा आप्रवासी कामदारको संख्यामा भएको बढोत्तरीले उनीहरुको अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता बोध गर्दै संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्वर १८ का दिन आप्रवासी कामदार र तिनको परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्वन्धि महासन्धि पारीत ग¥यो । सन् २०००डिसेम्वर ४ मा राष्ट्र संघको महासभाले संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारीत भएको दिन १८ डिसेम्वरलाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने प्रस्ताव पारीत ग¥यो । तर यसअघि नै सन् १९९७ मा नै फिलिपिन्स लगायत अन्य केहि एसियाली देशका संस्थाहरुले डिसेम्वर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउन थालिसकेका थिए ।

आफू नागरिक नरहेको राष्ट्रमा पाउने काममा लगाइन तयारी गरिएको, काममा लगाइएको/लागेको वा यसअघि त्यसरी काममा लगाइएको व्यक्तिलाई आप्रवासी कामदार भनिनेछ भनेर परिभाषित गरिएको सो महासन्धि पारीत भएको दिन अर्थात डिसेम्वर १८ लाई नै आधार मान्दै अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाउन थालिएको हो । नेपालमा साप्ताहिक रुपमा विविध कार्यक्रमहरु आयोजना गरेर सरकार र सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल गैरसरकारी संघसंस्थाहरुले यो दिवस मनाउँदै आएका छन् ।

यस दिवसलाई आप्रवासी कामदारको मानवअधिकारका बारेमा छलफल गर्ने, उनीहरुको अनुभव साटासाट गर्ने र उनीहरुको सुरक्षाको प्रत्याभूतिका लागि आवाज उठाउने दिनका रुपमा मनाइन्छ । यो दिवसले करोडौंको संख्यामा रहेका आप्रवासी कामदारले आफ्नो मुलुक र गन्तव्यमुलुकमा पु¥याएको योगदानको कदर गरेको मानिन्छ ।

बैदेशिक रोजगारको विषय सञ्चारमाध्यम/सञ्चारकर्मीका लागि किन महत्वपूर्ण छ ?

राष्ट्रिय योजना आयोगको १४ औं योजना आधारपत्र अनुसार नेपालमा हरेक बर्ष ५ लाखभन्दा बढी युवाहरु श्रम बजारमा प्रवेश गर्दछन् । त्यसमध्ये हरेक बर्ष ४ लाख भन्दा बढी युवा बैदेशिक रोजगारमा जान्छन् । यसले पछिल्लो समयमा नेपालीको रोजगारीको मुख्य आधार बनेको बैदेशिक रोजगारको विषय आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि मुख्य चासोका विषयहरु मध्येको एक हो । रोजगारीका सम्भावित अवशरहरु, त्यसका चुनौति तथा सफलताका विषयहरु पाठक/श्रोता/दर्शकका लागि चासोको विषय बन्ने गरेका कारण सो अनुरुपका सुचना/जानकारी प्रकाशन/प्रशारण गर्नु पत्रकारको दायित्व हुन आउँछ ।

बैदेशिक रोजगार विभागको तथ्याँक अनुसार २०७४ असार मसान्तसम्ममा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५० लाख नाघेको छ । त्यसैले ५० लाख व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएको र उनीहरुका परिवारको संख्या समेत जोड्दा हुने ठूलो आकारका कारण पनि आप्रवासी कामदारको विषयमा लेखिने समाचारका पाठक/श्रोता/दर्शकको खाँचो छैन भन्ने पुष्टि हुन्छ ।

पछिल्ला केहि बर्षयता नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरुले बैदेशिक रोजगारको विषय हेर्ने सम्वाददाताहरु राख्नु तथा समाचारमूलक अनलाइनहरुमा बैदेशिक रोजगारका विषयहरुले प्राथमिकता पाउनुले यो विषयप्रति नेपालको आम सञ्चार माध्यम तथा सञ्चारकर्मीकोे ध्यान केन्द्रीत हुन थालेको देखिन्छ ।

संसारमा सवैभन्दा बढी चासोका साथ पढिने/हेरिने/सुनिने समाचारको प्रमुख तीन विधामा यौन, पैसा(आर्थिक विषय) तथा अपराधसँग सम्वन्धित समाचारहरु पर्दछन् । यसमध्ये पछिल्ला दुईवटा विधाका विषयहरु पर्याप्त मात्रामा संलग्न हुने गरेका कारण पनि बैदेशिक रोजगारको समाचार पाठक/श्रोता/दर्शकको चासोमा पर्नु स्वभाविक हो ।   

आर्थिक बर्ष २०७३-७४ मा नेपालमा ६ खर्व ९५ अर्व ४५ करोड रुपैंयाँ विप्रेषण(Remittance) भित्रिएको राष्ट्र बैंकको तथ्याङ्क छ । यो मुलुकको कुल ग्राहस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हो । यसैगरी कुल बैदेशिक मुद्रा सञ्चितिमा विप्रषणको योदान ६४ प्रतिशत देखिनुले पनि यसको महत्व प्रष्ट हुन्छ । त्यसैले मुलुकको आर्थिक कृयाकलाप सञ्चालनको लागि पनि बैदेशिक रोजगार मुख्य हिस्सा बनेको अवस्थामा आर्थिक दृष्टिकोणबाट पनि यो विषयमा खोजिनीति गर्न र समाचार तयार पार्न सकिने विषय हो ।

हामी पत्रकारले के गर्न सक्छौं ?

नीतिगत पैरवी/खवरदारीः राज्यले बनाउने/बनाउनु पर्ने नीतिगत विषयमा पैरवी गर्न आमसञ्चार क्षेत्र प्रभावकारी माध्यमका रुपमा देखिन्छ । यसैगरी विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनका लागि खवरदारी गर्ने काममा पनि सञ्चार माध्यमको भूमिका उत्तिकै छ । विद्यमान नीति अनुरुप काम भए नभएको हेर्ने र सो अनुरुप सम्वद्ध निकायलाई सञ्चारकर्मीले खवरदारी गरिरहने हो भनें यसबाट सिङ्गो समाजले लाभ प्राप्त गर्दछ ।    

सुसूचित गर्नेः बैदेशिक रोजगारका बारेमा आमनागरिकलाई सही जानकारी प्रवाह गर्नु सञ्चारकर्मीको दायित्व हो । यसरी जानकारी दिएर हामीले हाम्रा पाठक/दर्शक/श्रोताप्रति आफ्नो दायित्व मात्र पुरा गरिरहेका हुन्नौं, यस्तो जानकारीले हामीले आफन्त, नातेदार, आफ्नै समाजमा बस्ने व्यक्तिहरुलाई ठूलो मद्धत गरिरहेका हुन्छौं । किनकी बैदेशिक रोजगारमा जाने व्यक्ति अरु कोहि नभएर हाम्रै समाजमा बस्ने व्यक्तिहरु हुन् ।     

अवशर र जोखिमको जानकारीः बैदेशिक रोजगारमा अवशर र जोखिम उत्तिकै छन् । त्यसैले आमसञ्चार माध्यमले यसका दुवै पक्षका बारेमा जानकारी गराउन सकेमा मात्र यसबाट पाठक/दर्शक/श्रोताले लाभ प्राप्त गर्दछन् । अवशरको मात्र कुरा गर्दा राम्रोसँग नबुझि बैदेशिक रोजगारमा जाने र यसले समस्यामा पार्ने दरमा बृद्धि हुन सक्दछ भनें केवल जोखिमको मात्र कुरा गरेमा पनि यसबाट सही सुचना प्रवाह हुँदैन ।    

सम्भावित ठगि र त्यसबाट बच्ने तरिकाका बारेमा नियमति रुपमा सजग गराउनेः बैदेशिक रोजगारमा जाने र ठगिनेहरु मध्ये बहुसंख्यक स्वदेशमा नै ठगिको शिकार हुने गरेको देखिएको छ । त्यसैले बैदेशिक रोजगारमा हुने सम्भावित ठगि र यसबाट जोगिन के गर्नुपर्दछ भन्ने जानकारी दिनु सचेत सञ्चारकर्मीको दायित्व हो । यसैगरी बैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने तयारीका बारेमा पनि जानकारीमूलक सामग्री सञ्चारमाध्यमहरुले प्रवाह गरेमा यसले सम्भावित जोखिमलाई कम गर्दछ ।

गन्तव्यमूलकमा रहँदा अपनाउनु पर्ने सावधानीका बारेमा सचेत गराउनेः गन्तव्य मुलुकमा पुगिसकेपछि के गर्नुहुन्छ, के गर्नु हुन्न भन्ने जानकारी बैदेशिक रोजगारमा रहेका व्यक्तिका लागि महत्वपूर्ण जानकारी हो । त्यहाँ रहँदाको क्रममा अपनाउनु पर्ने स्वास्थ्यसँग सम्वन्धित स—साना जानकारीहरुले व्यक्तिको जीवन बचाउन तथा उनीहरुलाई गम्भीर स्वास्थ्य समस्याबाट जोगाउन मद्धत पुग्दछ । त्यसैले यस्ता विषयहरुमा समय–समयमा आफ्नो सञ्चारमाध्यम अनुरुप उपयुक्त सामग्री तयार पारेर प्रस्तुत गर्नु उचित हुन्छ । यसैगरी विदेशमा रकमको कारोवार गर्दा अपनाउनु पर्ने सावधानीको विषय पनि पछिल्लो समयमा महत्वपूर्ण देखिएको छ । बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको रकम संकलन गरेर बेपत्ता हुनेहरुको संख्यामा आएको वृद्धिका बारेमा दिइने जानकारीले सम्भावित ठगिबाट जोगाउन सक्दछ ।

समस्यामा परेकाहरुलाई न्यायका लागि सहयोगि भूमिकाः बैदेशिक रोजगार विभागका अनुसार २०७४ साउन महिना देखि २०७४ कात्तिक मसान्तसम्म जम्मा ७९४ जनाले आफू ठगिमा परेको भन्दै विभागमा उजुरी दर्ता गराएका छन् । प्रतिमहिना झण्डै २ सयको हाराहारीमा उजुरी परिरहेपनि यस क्षेत्रमा भइरहेको ठगिको तुलनामा यो संख्या नगण्य नै हो ।

बैदेशिक रोजगारीका क्रममा ठगिमा परेका व्यक्ति न्यायका लागि लड्न प्रेरित हुनु ठूलो चुनौति हो । एकातिर केन्द्रीकृत संरचना र अर्कातिर लामो प्रकृयाका कारण पीडितहरु न्यायका लागि लड्न निरुत्साहित हुने गरेका छन् । यसैगरी पैसा र पहुँच भएकाहरु विरुद्ध लडेर न्याय प्राप्त हुन्छ भन्ने आत्मविश्वास कमजोर हुँदा पीडितहरु या त सुरुमै निरुत्साहित हुने वा बिचमा नै कानूनी उपचारको बाटोबाट पछि हट्ने गर्दछन् । यसले पीडिकको मनोवल अझ बढ्न गई भविष्यमा अझ धेरै व्यक्ति ठगिको शिकार हुने भएका कारण यस्तो प्रवृत्ति अन्त्य हुनु आवश्यक छ ।

नतिजाले के देखाउँछ भनें बैदेशिक रोजगारका ठगिसम्वन्धि दायर गरिएका मुद्धाहरुमा पीडितको पक्षमा फैसला हुने दर अन्य मुद्धाको तुलनामा बढी छ । त्यसैले पीडितलाई न्याय प्राप्त हुन्छ भन्ने आत्मविश्वास जगाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्न सक्दछन् र सो काम गरिनु आवश्यक छ ।

बैदेशिक रोजगारका पीडितहरुका लागि पिपुल फोरम लगायतका संस्थाहरुले निःशुल्क कानूनी सहायता उपलव्ध गराइरहेका छन् ।यसका बारेमा जानकारी दिनु पनि पीडितका लागि मद्धत पुग्ने काम हो । अन्य संस्थाहरुले दिइरहेको सेवाका बारेमा पनि जानकारी दिन सकिन्छ ।     

स्वदेश फिर्ति पश्चातको अवशरः बैदेशिक रोजगार कुनै व्यक्तिका लागि असिमित समयको यात्रा होइन न की यो अनन्तकालसम्म चलिरहन्छ । पछिल्लो समयमा बैदेशिक रोजगारमा गएकाहरुले त्यहाँ केहि पूँजी जम्मा गरेपनि स्वदेशमा त्यसको सम्भावित लगानीकोे अवशर पहिल्याउन सकिरहेका छैनन् । यो अवस्थामा बैदेशिक रोजगारीबाट स्वदेश फर्किएपश्चात गरेका आर्थिक उपार्जनका कार्यहरु तथा स्वदेशमा स्वरोजगारीका अवशर र त्यसको सम्भावित जोखिमका बारेमा पनि जानकारी गराउँदा सो जानकारी बैदेशिक रोजगारका क्रममा रहेकाहरु र फर्किएकाहरुका लागि लाभदायक हुन्छ ।

नकारात्मक मात्र होइन, सकारात्मक कुरा पनि उस्तै समाचार हुन्ः सकारात्मक समाचारले दिने उत्प्रेरणाको महत्व धेरै छ । त्यसैले सञ्चारकर्मीहरुले सकारात्मक समाचारको खोजिलाई पनि उत्तिकै प्राथमिकता दिन जरुरी छ ।

बैदेशिक रोजगार मात्र होइन, स्वदेशको रोजगारको अवशरको पनि कुराः रोजगारीका अवशर विदेशमा मात्र छैनन्, स्वदेशमा पनि उत्तिकै छन्, यसका बारेमा पनि सञ्चारमाध्यमले समय समयमा उठाइरहने हो भनें स्वदेशको रोजगारीप्रति पनि आकर्षण बढ्छ । पछिल्ला केहि बर्षयता स्वदेशमा श्रमिकको अभाव बढ्दै गएका विषयमा पनि सञ्चारकर्मीको ध्यान आकृष्ट हुनु पर्दछ ।   

केहि भएको छ तर गर्न धेरै बाँकी

बैदेशिक रोजगारमा जानेहरुको संख्यात्मक विवरण, उनीहरु मार्फत मुलुकमा प्राप्त विप्रेषण र कुल ग्राहस्थ उत्पादनमा त्यसको योगदान वा बैदेशिक रोजगारले नेपालीको रोजगारको आवश्यकता धानेको विषयमा जतिधेरै चर्चा भएको छ, नेपाली सञ्चारमाध्यममा यसले निम्त्याएको सामाजिक लागत(Social Cost) का विषयमा उति धेरै चर्चा भएको छैन । श्रीमान् वैदेशिक रोजगारका क्रममा रहँदा श्रीमतिको विवाहेत्तर सम्वन्ध वा दोश्रो विवाह गरेको समाचारले जति प्राथमिकता पाइरहेको छ, बैदेशिक रोजगारले परदेशीका श्रीमति वा उनीहरुका बालबालिकामा पारेको प्रभावको विषयले अपेक्षाकृत स्थान पाएको छैन । त्यसैले सामाजिक लागतको विषयलाई नेपाली सञ्चार माध्यमले आगामी दिनमा अझ धेरै छलफल, बहसमा ल्याउन जरुरी छ ।

यसैगरी बैदेशिक रोजगारका विषयमा हालसम्म खासै खोजमूलक समाचारहरु प्रकाशित प्रशारित हुन सकेका छैनन् । खोजमूलक समाचारका लागि पर्याप्त विषय हुँदा हुँदै पनि यसमा सञ्चारकर्मीको ध्यान कम पुगिरहेको अवस्थामा यस क्षेत्रमा चासो राख्ने पत्रकारहरुका लागि यो विषयमा धेरै अवशर छन् ।  

र, जो उठाउन जरुरी छ

अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) का अनुसार जो अरुसँग ऋण लिएर बैदेशिक रोजगारीमा जान्छन्, उनीहरु बाध्यकारी श्रमको शिकार बढी हुने गरेको देखिएको छ । अधिकाँश नेपाली जो वैदेशिक रोजगारमा जान्छन् उनीहरु ऋण लिएर नै जाने गरेका कारण बाध्यकारी श्रमको जोखिममा बढी पर्दछन् । त्यसैले १८ डिसेम्वर मनाइरहँदा बाध्यकारी श्रम र त्यसले सिर्जना गरेको समस्याका बारेमा पनि चर्चा हुनु आवश्यक छ ।

अर्को कुरा, मुलुकमा संघिय संरचना अनुरुपको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा अव बैदेशिक रोजगार सम्वन्धि सरकारी निकायहरुले कसरी काम गर्दछन् ? तिनिहरुले स्थानीय वा प्रदेशस्तरमा कसरी सेवा दिन्छन् ? बैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र बैदेशिक रोेजगारका क्रममा समस्यामा परेकाहरुको प्रतिनिधिका रुपमा सञ्चारकर्मीले यो प्रश्न उठाउन जरुरी छ । यसैगरी अव प्रदेशस्तरबाट नै यस विषयलाई सम्वोधन हुनेगरी थप कानून निर्माणका लागि सञ्चारकर्मीले झक्झक्याउनु आवश्यक छ । हाल बैदेशिक रोजगार ऐन संशोधनको प्रकृया चलिरहेका कारण त्यसलाई छिट्टै जारी गर्नका लागि पनि निरन्तर खवरदारी जरुरी छ ।

सन् २०१७ को डिसेम्वर १८ मनाईरहँदा बैदेशिक रोजगारमा जान चाहने व्यक्तिलाई सूसुचित भएर जान प्रेरित गर्ने, ठगिको जालो भत्काउन र पीडितलाई न्याय दिलाउन सञ्चारकर्मीले अहिलेभन्दा अझ बढी सकृयता देखाउन आवश्यक छ ।

(अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसका अवशरमा पिपुल फोरमद्धारा सञ्चारकर्मीका लागि राजधानीमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा आधारित)
साभार देश परदेश