2 Poush, 2074 | 17 December, 2017 Sunday
तीतोपाटी डट कम - ओमानमा रहेको नेपाली दूतावासले भावी योजना तथा कार्यक्रम बारे संघसंस्थाका प्रतिनिधिसँग सामुहिक छलफल गरेको छ । यस आर्थिक वर्षका बनाइएका योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउन र नेपाली नागरिकसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने बिषयमा छलफल गरेको हो । 

ओमानमा सक्रिय दुई दर्जन नेपाली संघसस्थाका प्रतिनिधि उपस्थिती छलफलमा ओमानका लागि प्रथम नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमानबिच कुट्नीतिक सम्बन्ध स्थापना भएको ४१ बर्ष पुगेको अवसरमा गरिन लागेका कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै उहाँले मस्कट फेस्टिवलमा नेपाली दूतावासको सहभागीता, नेपाली सांस्कृतिक कार्यक्रम, महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्न लागेको पनि जानकारी गराउनुभएको थियो ।

राजदूत ढकालले दुतावासले गर्न लागेका कार्यक्रमले नेपाल र ओमानको सम्बन्ध सुदृढ हुने, नेपालको सांस्कृतिक पर्यटनको प्रवर्धन तथा नेपाल र नेपालीको छविलाई उच्च पार्ने भएकोले संघसंस्थालाई सहयोग र समन्वय गर्न पनि अनुरोध गर्नुभयो । जवाफमा सहभागी संघसंस्थाले दूतावासका योजनाको प्रशंसा गर्दै सकारात्मक काममा सधैं हातेमालो गर्ने प्रतिबद्धता जनाए ।