2 Poush, 2074 | 17 December, 2017 Sunday
डा. गोविन्द टण्डन - नेपाल सानो, अविकसित र अस्थिर राजनीतिले ग्रसित मुलुक भएकैले होला, बेलाबेलामा यहाँको धरातलीय यथार्थ र सत्यलाई पनि तोडमोड गरी भ्रम फिँजाउने प्रयत्न हुन्छ। नेपालको आवाज कसले सुन्ने ? ‘नेपाललाई जे भने पनि हुन्छ' जस्तो अवस्था बनाइएको छ। शरणार्थीका रूपमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा (तेन्जिङ ग्यात्सो) ले भगवान् गौतमबुद्धबारे दिएको अभिव्यक्तिले नेपाल र नेपालीप्रति उनले त्यस्तै आचरण देखाएको स्पष्ट हुन्छ। गएको अक्टोबर १६ मा भारतको मेरठको एउटा विद्यालयमा विद्यार्थीसँगको अन्तरसंवादमा लामाले बुद्ध नेपालमा जन्मेको भन्ने कुरा हास्यास्पद भएको बताएका थिए।

त्यही कुरा युट्युबमा राखिएको कारण उनीमाथि विभिन्न आरोप/प्रत्यारोप छ। विद्यार्थीसँगको अन्तरसंवादको विषयलाई लिएर असमझदारी पैदा भएकोमा ध्यानाकर्षण भएको भन्दै ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु' भनेर यथार्थलाई लामाले स्वीकार गरिसकेको विषय पनि बाहिर आइसकेको छ। यसबारेमा प्रश्न उठ्छ— बौद्ध धर्मको वर्तमान कालका प्रसिद्ध गुरु सम्झिने व्यक्तिले एक ठाउँमा एउटा झूट अनि त्यही झूटको विषयमा खण्डन आयो भनेर मैले त्यसो भनेको होइन भन्नु सुहाउँदो विषय होला ? बौद्ध धर्ममा झूटलाई महापाप मानिएको छ। पञ्चशीलमा पाँचवटा अनुशासन पर्छ— प्राणी हिंसाबाट टाढा रहने, झूटो नबोल्ने, चोरी, व्यभिचार र मद्यपान नगर्ने।

पञ्चशीललाई सर्वोपरि ठानेर सत्य र इमानदारीको कसम खाने एकजना बौद्ध गुरुले किन त्यस्तो झूटको सहारा लिए ? कतै नुनको सोझो गर्न एउटा सानो राष्ट्र चिढिए पनि के बिग्रन्छ ? यति बोलिदिँदा आफूलाई आ श्रय दिने मुलुक खुसी हुन्छ भने किन नबोल्ने भन्ने सम्झेको त होइन ? यो विषय हेर्दा सानोजस्तो लाग्छ, तर यसभित्र ठूलो ग्य्रान्ड डिजाइन हुन सक्छ। दलाई लामाजस्तो बौद्ध धर्मका अनुयायी तथा गुरुले गौतम बुद्ध नेपालमा जन्मेका होइनन् भनी खुलायाम झूट बोलिदिँदा संसारका करोडौं बौद्ध धर्मावलम्बी, शुभेच्छुक एवं आस्थावान्हरूलाई भ्रम पर्नुका साथै प्रकारान्तरले गौतम बुद्धबारे जान्न/बुझ्न नेपाल होइन, भारत जाऔं भन्न खोजेको पर्छ कि पर्दैन ? उसै त बेलाबेलामा गौतम बुद्धको जन्मबारे भारतमा अनेक भ्रम फिँजाइएका छन् राजनीतिक नेता र नक्कली अनुसन्धानकर्ताहरूले। जसले गर्दा सर्वसाधारण मानिस भ्रममा पर्नु स्वाभाविकै हुन्छ। लामो समयको सामूहिक प्रयासपछि बल्ल अब लुम्बिनी दर्शनीय बन्दैछ। संसारभरबाट लुम्बिनीको दर्शन गर्न आउने बौद्ध धर्मावलम्बी भक्तजन, कलापारखी, शुभेच्छुकहरूको दिनानुदिन भीड बढ्दै गएको प्रसंगमा दलाई लामाको झूटो अभिव्यक्तिको पछाडिको रहस्यबारे चनाखो हुन जरुरी छ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको र उनको जन्मस्थानको विषयलाई लिएर संसारभर अनभिज्ञता र विभिन्न बहस हुने गरेका थिए। आजभन्दा झन्डै पच्चीस सयभन्दा केही वर्षअगाडि वैशाख पूर्णिमाका दिन कपिलवस्तुका शाक्यवंशका राजा शुद्धोधन एवं आमा मायादेवीको पुत्ररत्न भई आफ्नो मामाघर देवदह जाने क्रममा नेपालको रूपन्देहीको लुम्बिनी बगैंचामा सिद्धार्थ गौतम (भगवान् बुद्ध) को जन्म भएको थियो। बुद्धघोषको बुद्धचरितमा गौतम बुद्धको धर्मदेशनाको बारेमा बृहत्‌ चर्चा गरिएको छ। साथै विभिन्न जातक ग्रन्थ र पिटक ग्रन्थहरूमा पनि यसबारे चर्चा गरिएको छ। हो, कुनै बेला लुम्बिनी कहाँ पर्छ भन्ने निक्र्योल गर्न सकिएको थिएन। यसैले गौतम बुद्ध कहाँ जन्मेका थिए भन्ने विषयमा लामो समयसम्म अलमल थियो।

सन् १८९६ मा पश्चिमतर्फका प्रशासक जनरल खड्गशमशेर राणा र पछि तात्कालिक ब्रिटिस इन्डियाका पुरातात्विक सर्भेयर डा. ए. फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी सबैको लागि अत्यधिक चासो र सरोकारको विषय बन्न पुग्यो। किनभने त्यहाँ मौजुद मौर्य सम्राट् अशोकको ई.पू. २४९ को शिलास्तम्भमा उत्कीर्ण लेखले गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनीको किटान गर्नुका साथै स्वयं अशोक सो पवित्र स्थलमा तीर्थाटन गर्न आएको कुराले गौतम बुद्धको जन्म र लुम्बिनी विषयमा रहेको अन्योल हटाइदियो। यसरी विश्वका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी जानैपर्ने, घुम्नैपर्ने, तीर्थाटन गर्नैपर्ने आराध्यस्थल बन्न पुग्यो।

लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दीऔंदेखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तीर्थाटन गरेका तथ्य उजागर गर्छन्। आफ्ना गुरु उपगुप्तको मार्गनिर्देर्शनमा ई.पू. २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका मौर्य सम्राट् अशोकले ब्राह्मी लिपिमा पाली भाषामा त्यहाँ स्पष्टरूपमा लेखेका छन्, ‘हिंद बुधे जाते सक्यमुनीति सिलाविगडभीच कालापित सिलाथभे च उसपपिते हिद भगवं जातेति लुमिनेगामे...' अर्थात् लुम्बिनी ग्राममा शाक्यमुनि बुद्ध जन्मनुभएको थियो। यो शिलास्तम्भ लुम्बिनी बगैंचामा अद्यापि छ र संसारलाई गौतमबुद्धको जन्मस्थलो यही हो भनी चिनाइरहेको छ। त्यो जमानामा त्यत्रो विशाल शिलास्तम्भ ल्याएर कसरी त्यहाँ राखिएको होला ? मौर्य सम्राट् अशोकको भगवान् गौतम बुद्धप्रतिको श्रद्धा, भक्ति र सम्मानको प्रतीक पनि हो यो अशोक स्तम्भ !

प्राप्त ऐतिहासिक तथ्यहरूका आधारमा सम्राट् अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरूमा पाँचौं शताब्दीका चिनियाँ यात्री फाहियान र सातौं शताब्दीका ह्वेन साङ थिए। ती चिनियाँ यात्रीहरूमध्ये ह्वेन साङको यात्रा विवरणमा तात्कालिक लुम्बिनीको अवस्थाको बारेमा केही विवरण उपलब्ध छ। उनले लुम्बिनीमा सिद्धार्थ गौतम जन्मिँदा मायादेवीले समाएको रुखको अवशेष, चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, चिसो र तातोपानीका कुवा भएको कुराको वर्णन गरेका छन्। सन् १३१२ मा पश्चिम नेपालको कर्णाली भेगका सिँजाली राजा रिपु मल्लले पनि लुम्बिनीको भ्रमण गरेका थिए। उनले यात्रा गर्दा अशोकस्तम्भको करिब पचहत्तर प्रतिशत भाग जमिनमुनि गाडिएको अवस्थामा रहेको थियो।

बौद्ध तीर्थस्थल भनी त्यतिखेर प्रचलनमा रहेको तर केको कारणले प्रसिद्ध भएको भन्ने बिर्सिसकेको अवस्था थियो। उनले आफ्नो यात्रालाई चिरस्थायी बनाउन अशोकस्तम्भको माथिल्लो भागमा ‘ॐ मणि पदमे हुम रिपु मल्ल चिर जयतु' भनी कुँद्न लगाए। पुरातात्विक चेत नभएको जमानामा उनले जे गरे, त्यो गल्ती भए पनि चौधौं शताब्दीसम्म पनि त्यहाँ तीर्थयात्रा गर्ने चलन रहेको कुराको पुष्ट्याइँ भने त्यो लेखाइले गर्छ। त्यसबीच इतिहासको अनेक कालखण्ड आउँछ, जान्छ। के कारणले हो पछि त्यो स्थल वन क्षेत्रमा परिणत हुन पुग्यो। पछिल्लो समयमा औलोको कारण मानिस त्यहाँ बस्न सक्ने स्थिति थिएन। यसपछि झन्डै पाँच सय वर्ष लुम्बिनी विस्मृतिको गर्भमा पुग्यो।

सन् १८९६ मा जनरल खड्गशमशेर र पुरातात्विक सर्भेयर डा. ए.फुहररले अशोकस्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनीको एक किसिमले पुनर्जन्म भयो र विश्वकै लागि उत्कट चासोको विषय बन्यो। त्यसको झन्डै चौंतीस वर्षपछि सन् १९३० को दशकमा केशरशमशेर राणाले मायादेवी मन्दिरपरिसरमा भएको ढिस्को के रहेछ भन्ने चासोले खन्ने काम गरे। त्यो एक किसिमको अवैज्ञानिक उत्खनन भएकाले त्यसबाट कुनै परिणाम निस्केन।

सन् १९५६ मा वल्र्ड फेडरेसन अफ बुद्धिस्ट कन्फरेन्स काठमाडौंमा भयो। त्यसबेला तात्कालिक राजा महेन्द्र वीरविक्रम शाहले लुम्बिनीको महत्व र विश्वव्यापी शान्तिको लागि लुम्बिनीले पुर्‍याउन सक्ने योगदानको बारेमा अन्तर्राष्ट्रिय चासो बढाउने काम गरे। त्यसको झन्डै एघार वर्षपछि सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तात्कालिक महासचिव (उ थान्त), जो बर्माका नागरिक एवं बौद्ध धर्मावलम्बी थिए, उनी लुम्बिनी भ्रमणमा जाँदा त्यहाँको नाजुक अवस्थाले उनलाई उद्वेलित बनायो र उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको लागि आफ्नै कार्यकालमा केही गर्ने वचनबद्धता विश्वसामु प्रकट गरे।

फलस्वरूप सन् १९७० मा लुम्बिनी विकासका लागि एउटा अन्तर्राष्ट्रिय समिति बन्यो। त्यसले दिएको प्रतिवेदन कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघले विश्वमै कहलिएका ख्यातिप्राप्त वास्तुविद् प्रोफेसर केन्जो टाङेलाई गुरुयोजना तयार गर्ने अभिभारा सुम्पियो। त्यसका लागि खर्च हुने दस लाख डलर संयुक्त राष्ट्रसंघले नै बेहोर्‍यो। लुम्बिनीको गुरुयोजनाले ७७७ हेक्टर क्षेत्रफल ओगटेको छ। लुम्बिनी ग्राम, विहार क्षेत्र तथा पवित्र उद्यान गरी तीन भागमा विभाजित भई विश्वका बौद्ध राष्ट्र एवं बौद्ध धर्मप्रति आस्था भएका संघसंस्थासमेतको सहभागितामा लुम्बिनीमा धेरै काम सम्पन्न भइसकेको अवस्था छ। गुरुयोजनाको करिब ६५ प्रतिशत कार्य अहिले सकिएको बताइन्छ। लुम्बिनीको समग्र संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्ने दृष्टिकोणले सन् १९८५ मा लुम्बिनी विकास कोषको गठन भएको हो। प्रारम्भमा त्यसका संरक्षक तात्कालिक राजा श्री ५ वीरेन्द्र र अध्यक्ष लोकदर्शन बज्राचार्य थिए। वर्तमानमा संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुने ऐेनले व्यवस्था गरेको छ।

लुम्बिनीको विश्वव्यापी महत्वलाई अझै उजागर गर्न भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ। यो विमानस्थल जतिसक्दो चाँडो निर्माण हुन सके विश्वका विभिन्न मुलुकका नागरिकले बुद्धको जन्मस्थलको दर्शन गर्न सक्थे। लुम्बिनीको एक चिम्टी पवित्र माटो आफ्नो शिरमा लगाउन लालायित बौद्ध धर्मावलम्बीहरू विश्वमा धेरै छन्।

सन् १९९२ देखि सन् १९९५ मा मायादेवी मन्दिरपरिसरमा गरिएको उत्खनन्‌ा क्रममा बेलायती तथा नेपाली पुरातत्वविद्‌हरूको समूहले भगवान् गौतम बुद्ध लुम्बिनीमा जन्मेको भन्ने पुष्टि गर्ने ‘मार्कर स्टोन' फेला पारेका थिए, जुन गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने कुराको अर्को अकाट्य प्रमाण हो। यी सबै प्रमाणहरूले लुम्बिनीको युगान्तकारी महत्व छ र राष्ट्रसंघअन्तर्गतको युनेस्कोले समेत सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। यस्ता प्रमाणहरूलाई अनदेखा गरे झैं गरी दलाई लामा वा अरू जोकोहीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी होइन, भारत भन्छ भने कुनै निहित स्वार्थको परिपूर्तिका लागि भनिरहेको छ भनी मान्नुपर्ने हुन्छ।

नेपालमा जन्मेका गौतम बुद्धको जीवनमा जब त्यागको भावना जन्म्यो र दरबार, परिवार, राजपाठ छोडेर जसरी महाभिनिष्क्रमण गरे, त्यहींबाट उनको जीवन दर्शनको सुरुआत भएको होइन ? यहाँ प्राप्त ज्ञानलाई बाँड्ने कार्य सारनाथमा भयो, श्रावस्तीमा भयो, कुशीनगरमा भयो। बिस्तारै सिंगो एसिया र विश्वभर फैलियो।राष्ट्रसंघको संलग्नता एवं विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरूको सहयोगमा लुम्बिनीको उत्खनन, संरक्षण र संवद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

यसैको परिणाम हो कि आजभन्दा ५० वर्षअघि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुग्ने बाटोसमेत नभएको ठाउँमा आज संरक्षण, संवद्र्धन र समृद्धिको उत्कर्ष देख्न सकिन्छ। आलोचना मात्र गरेर बस्नुभन्दा त्यहाँ भएको विकास र समृद्धिलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर सम्बन्धित सबैले सोचेर त्यहीअनुसार काम गर्ने हो भने लुम्बिनीलाई विश्वसामु चिनाउन अब केही चिजको कमी छैन। गुरुयोजनालाई पूर्णता दिने काममा कुनै कञ्जुस्याइँ गर्नु हुँदैन। लुम्बिनीमा पर्यटक, तीर्थयात्रीको लागि निर्माण भएका सेवासुविधाको भरपूर उपयोग गर्ने वातावरणको तयारी तथा यसको विश्वव्यापी प्रचारप्रसार जरुरी भइसकेको छ। नेपालमा हाल आइरहेका तेस्रो मुलुकका पर्यटकमध्ये कमसेकम पनि ७५/८० प्रतिशतलाई त्यहाँ पुर्‍याउने वातावरण बनाउने हो भने बुद्धशान्तिको सन्देश विश्वव्यापी बनाउन ठूलो मद्दत पुग्नेछ।