2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डट कम - हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ।

कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ।

उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ।

चालक दल समेत १६ जना सवार उक्त विमानका अन्य यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । 'घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ,' उनले भने ।

जहाजमा चुनावमा सुरक्षाका लागि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।