1 Poush, 2074 | 16 December, 2017 Saturday

तीताेपाटी डट कम - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदानगर्न मतदाताहरुलाई अपिल गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् । उनले भने,‘केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ।’

 उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।

उनले भने,‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जित बनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृह मन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ।’ उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोऱ्याए । उनले थपे,‘अब डर र त्रासको अवस्था छैन।’

यादवले सरकारले निर्वाचनआचारसंहिता पूर्ण रुपमापालना गरेको समेत स्पष्ट पारे । उनले भने,‘सरकारले आचार संहिताको पूर्ण पालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचार संहिता पालना गर्नुभएको छ।’यादवले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे,‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं।’

उनले सरकारले आचार संहिताको पालना गरेको बताउँदै भने,‘सरकारले जे जस्तो काम गरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ, आचार संहिता पालनाको माताकमवा बढी त भैहाल्छ नि। तर आचार संहिता नै पालना भएन भन्नु गलत हुन्छ।’

यादवले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गर्न उम्मेद्धवार तथा दलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे ।

- कान्तिपुर