4 Mangshir, 2074 | 20 November, 2017 Monday

कार्तिक २८, २०७४-द्वन्द्वकालमा पूर्वी रुकुमको महत गाउँँ निकै चर्चामा थियो । २०५६ असोज ५ को राति माओवादीले प्रहरीचौकी आक्रमण गरी डीएसपी ठूले राईलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा पर्‍यो । माओवादीले प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको यो पहिलो घटना थियो । घटनामा चौकीमा आश्रय लिइरहेका कांग्रेस महासमिति सदस्य पूर्णबहादुर बुढासँगै ६ प्रहरीको मृत्यु भयो, केही माओवादी घाइते भए ।
त्यसयता महतवासीले द्वन्द्वकालभरि कहिल्यै राम्ररी खान पाएनन्, बस्न पाएनन् । माओवादी र सुरक्षाकर्मीको युद्धस्थल बन्यो यो गाउँ । पटक–पटक भिडन्त र गाउँँलेमाथि ज्यादती भए । यही जिल्लामै सबैभन्दा बढी मानिसले ज्यान गुमाए । सुरक्षाकर्मीबाट ५२ र माओवादीबाट ६ गरी ५८ जनाको मृत्यु भयो । शान्ति प्रक्रियापछि माओवादी पनि पटक–पटक सरकारमा भयो तर महतका लागि कसैले केही गरेन ।

यहाँ मान्छे नमरेको र गोली नलागेका कुनै घर छैनन् । रुकुमको खारा र रोल्पाको थवाङमा शान्ति नमुना गाउँँजस्ता कार्यक्रम भए तर यहाँ केही भएको छैन,’ महतका पूर्वगाविस अध्यक्ष तथा हालका वडाअध्यक्ष देवबहादुर बुढाले भने, ‘अहिले पनि नेताहरू भोट माग्न आइरहेका छन् । हामीले महतको घाउ मेटाउने कार्यक्रम चाहियो भनेका छौं तर उनीहरूले चित्तबुझदो जवाफ दिन सकेका छैनन् ।’

माओवादीको आधार इलाका थबाङ प्रवेश गर्ने मुख्य नाका हो महत । यहीकारण थबाङ जाँदाआउँदा हरेक पटक सुरक्षाकर्मीले यहाँ बासस्थान बनायो । माओवादीले पनि गाउँमै पटक–पटक सुरक्षाकर्मीलाई आक्रमण गरे । यसको चेपुवामा महतवासी परे । महत गाउँ नै माओवादी भएको ठानी सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएर ६ वर्षीया बालिका उर्मिला बुढादेखि ७६ वर्षका वृद्ध कुठु बुढासम्मको हत्या गर्‍यो । ०६० असोज ६ मा सुरक्षाकर्मीले १७ सर्वसाधारणलाई घरघरमै गएर गोली हान्यो । उनीहरूको घटनास्थलमै मुत्यु भयो । बाँचेका सबै भागेर जंगलतिर गए । एक सातासम्म कोही गाउँ फर्कन सकेनन् र शव पनि उठेन । विस्तारै केही पुरुष आएर शव गाउँबाट टाढा लगेर फाले । काजकिरिया केही गर्न पाएनन् ।

‘फेरि सेना आएर मारिहाल्ला भन्ने डर थियो । घरमा बस्ने अवस्था नै थिएन,’ ६ वर्षीया छोरी उर्मिलालाई काखमै गुमाएकी ४५ वर्षीया बिनकुमारी बुढाले भनिन्, ‘लाश जताततै छरिएका थिए । हाम्रो संस्कारअनुसार अन्त्येष्टि र किरिया गर्न पाएनौं ।’ बुढालाई उक्त घटनाले झस्काइरहन्छ । ‘माओवादी र सेनाबीच भिडन्त भयो । हामी गोठबाट आएर भर्खर घरमा पुगेका थियौं । डरले ढोका लगाएर भित्र पस्यौं,’ उनले भनिन्, ‘सेनाले ढोका खोलेर ड्याम्मै गोली हान्यो । काखमा रहेकी छोरीको गोली लागेर मृत्यु भयो । म र नन्दलाई खुट्टामा गोली लाग्यो ।’

दुई वर्षसम्म यस्तै भागाभाग भयो । गाउँमा सुरक्षाकर्मी आएर जो भेटिन्छ, उसैलाई गोली हान्न थालेपछि कसैले पनि घरमा बस्ने आँट गरेन । बोल्न नसक्ने दुई जना तथा दुई अशक्त अपांगलाई समेत गोली हानेर मारेपछि सर्वसाधारण गाउँमा बस्ने अवस्था थिएन । जनता मार्न लगाउने नेताहरूको चरित्र देखेर ८० वर्षीय सिङबहादुर बुढा निकै दु:खी छन् । ‘नेताहरू साह्रै स्वार्थी छन् । चुनाव आउँदा नमस्ते गर्दै गाउँ पस्छन् । जितेपछि अनुहार देखाउँदैनन्,’ उनले भने, ‘यही जुनीमा देशमा धेरै परिवर्तन देखियो । नेताहरूले आफ्नो जीवन त बनाए तर हाम्रो अवस्था अहिले पनि उस्तै छ ।’

युद्धकालमा गाउँमा बस्न सकिने अवस्था नभएपछि उनी ०५६ मा भारत गए । ०५९ मा फर्कंदा दुई छोरा भेट्न पाएनन् । ‘माइलो छोरालाई सेनाले घरमै मारेछ, कान्छो जंगलमा मृत भेटिएछ,’ बुढाले भने, ‘हामीले जे दु:ख भोग्नुपर्ने हो भोगिहाल्यौं । अब नेताहरू मिलेर देश बनाउनुपर्‍यो ।’ उनकी ५६ वर्षीया श्रीमती विष्णु बुढा पनि अब जनतालाई हेर्ने शासन देख्ने धोको रहेको बताउँछिन् । ‘जति लडाइँ/झगडा भयो भैहाल्यो, जनता मार्नु मारिहाले । अब चुनाव जित्ने नेताले जनता हेर्ने काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘अरू हामीलाई केही चाहिएन, शान्ति होस् । गरिब जनताले सुखसँग साँझबिहान खान पाइयोस् । नेताहरू फेरि लडाइँ/झगडा नगरून् ।’

महतका ५४ वर्षीय आशबहादुर बुढालाई पनि युद्धले सताइरहन्छ । ०५६ असोज ३० गते दसैंको दिन थियो । खेतबारीको काम सकेर भर्खर घरमा पुगेका थिए । प्रहरीले पक्राउ गर्‍यो । माओवादीको आरोपमा रातभर नाङ्गै बनाएर कुट्यो । गाउँकै अन्य दुई महिला र चार पुरुषलाई पनि त्यसैगरी यातना दियो । ‘राति मार्ने तयारी गरेर गाउँमाथिको जंगलमा लग्यो । खाल्डा खनेर ठिक्क पारेको रहेछ,’ उनले रुँदै त्यो दिन सम्झे, ‘म बरु आफैं मर्छु भनेर भीरबाट हाम फालें । रूखमा टाउको बजारियो । पछाडिबाट गोली हान्यो, खुट्टा र पाखुरामा गोली लाग्यो । तैपनि लडदै लडदै भागें । बाँकी ६ जनालाई जंगलमै मार्‍यो ।’

त्यसपछि उनी तीन महिना डालिबाङ गाउँस्थित दिदीको घरमा बसे । उपचार गर्नुपर्ने भएपछि भारत गए । त्यसपछि पनि युद्ध अन्त्य नभएसम्म घर फर्कन सकेनन् । ‘अहिले पनि कतिबेला दिमागले काम गर्दैन । ऋण गरेर उपचार गरें । कति नेतालाई बिन्ती बिसाएँ तर कसैले केही हेरेन,’ उनले भने, ‘अहिले भोट माग्न आउने नेतालाई पनि मलाई न्याय देऊ भनेको छु । मलाई पैसा चाहिएको छैन । युद्धले घाउ अहिलेसम्म निको भएको छैन । यो घाउ कसले मेटाइदिन्छ ?’

सुरक्षाफौजको ज्यादतीसँगै तत्कालीन माओवादीले पनि सीआईडीको आरोपमा ६ जनाको हत्या गर्‍यो । दुवैतर्फको ज्यादतीले महतलाई ठूलो पीडामा राख्यो । ४५ वर्षीय श्रीमान् ओमप्रसाद बुढालाई माओवादीले अपहरणपछि हत्या गरेको घटनाले ६५ वर्षीया मनहुकी बुढालाई अझै रुवाइरहन्छ । ‘गाई ग्वाला गएको बेला अपहरण गरे । ३ वर्षसम्म ज्युँदै छन् कि मरे भन्ने केही थाहा भएन,’ उनले भनिन्, ‘पछि आफैं किरिया गर्‍यौं । कहिलेकाहीं मरेका छैनन् कि जस्तो लाग्छ । नेताहरू भोट माग्न आउँदा त्यो घटना झल्याँस्स दिमागमा आउँछ । नेताहरूसँग रिस उठ्छ ।’

महतले भोगेका यी सबै दु:खपीडाको क्षतिपूर्ति कुनै किसिमले पनि हुन नसक्ने ४९ वर्षीय रामकुमार बुढाको भनाइ छ । सुंगुरलाई दाना दिएर घरभित्र पस्दै गरेकी ११ वर्षीया छोरी सुकमाया सेनाको गोलीबाट मरेको घटनाले उनलाई विक्षिप्त बनाएको छ । ‘हामीले भोगेका पीडा कसले सुन्छ ? नेताहरू भोट माग्नेबाहेक अरू केही गर्दैनन् । हाम्रा कुरा राम्ररी सुन्न पनि चाहँदैनन्,’ उनले भने, ‘युद्धमा सबैभन्दा बढी क्षति भोगेको गाउँमा विकास गर्नुपर्दैन ? खानेपानीको दु:ख उस्तै छ । सधंै गाडी चल्ने बाटो छैन । चुनावमा आउने नेता सधैं आउनुपर्‍यो । हाम्रा समस्या बुझिदिनुपर्‍यो ।’

प्रकाशित: कार्तिक २८, २०७४