3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी डट कम - इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा ३ सय २८ जनाको मृत्यु भएको छ । 
उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् । 

भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् । 

भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पहरुमा यो पनि शक्तिशाली भूकम्प रहेको जनाइएको छ । 

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार बिहानसम्ममा घाइते हुनेको सङ्ख्या दुई हजारभन्दा बढी नै रहेका छन् । 

भूकम्पको उद्वारका काममा खटिरहेको उद्वारकर्मी र अधिकारीहरुले सञ्चारमाध्यमहरुलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ । 

भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनहरुको भग्नाबशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् । 

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेषगरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयौँ गाउँ र सहरहरुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । 

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अबरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरुलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ । 

भूकम्प लगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिसहरु अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरुमा त्रास फैलिएको बताइएको छ । 

मानिसहरु सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरु घरमा फर्किन सकेका छैनन् । 

सन् २००३ मा इरानको दक्षिणपश्चिम सहरमा आएको ६.६ रेक्टर स्केलको भूकम्पमा २६ हजार जनाको मृत्यु भएको थियो ।