3 Mangshir, 2074 | 19 November, 2017 Sunday
तीतोपाटी डट कम - आफ्नै छोरीसहित दुई नातिनीको हत्या गर्ने रोल्पाका एक बृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी बुबालाई भेट्न घरबाट माइतीमा आएकी छोरीलाई हत्या गरेको अभियोगमा प्रहरीले रोल्पा नगरपालिका ७ गोरबोट घापागाउका ४३ वर्षका लीलबहादुर पुनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार आफैलाई भेट्न माइतीमा आएकी २५ वर्षकी छोरी पार्वती केसीसहित उनका दुई छोरीहरु दीया र नीयालाई बन्चरोले हानेर लीलबहादुरले आफ्नै घरभित्र मारेको अभियोग छ । 

उनको जेठी नातिनकी उमेर दुईवर्ष तीन महिना र कान्छी सात महिनाको थियो । केही महिनाअघिदेखि बिरामी भएको खबर पाएपछि नगरपालिकाकै क्वाङा गाउँबाट छोरी लीलबहादुरलाई भेट्न माइतीमा आएकी थिइन् । छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका लीलबहादुरले हत्या गरेकामा उनलाई प्रहरीले उनलाई घरैबाट शनिबार नियन्त्रणमा लिएको थियो । 

तीन जनाको हत्या अभियोगमा नियन्त्रणमा लिइएका लीलबहादुरको थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । 

उक्त घटनापछि आफन्तहरु आश्चर्यमा छन् भने गाउ पूरै शोकमा डुबेको छ । मृतक पबावतीका श्रीमान विदेशमा छन् । 

अघिल्लो वर्ष रोल्पाको नुवागाउँस्थित भाङ्गोबारीमा बस दुर्घटना हुँदा उनका जेठो छोरा गोविनको मृत्यु भएको थियो । त्यसपछि उनको मानसिक अवस्था असन्तुलित बन्दै आएको परिवारले जनाएको छ ।

-कान्तिपुर