7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी डट कम - देशमा नेताहरुलाई ‘चुनावी दशैैं’ लागेको छ । नेताहरुले वैदेशिक रोजगारीमा रहेका ४० लाख नेपालीलाई स्वदेश फर्काउने सपना घोषणापत्रमार्फत बाँडिरहेका छन् । कुनै दलले त प्रवासी नेपालीलाई मतदानको अधिकार दिइनेसम्म बताइरहेका छन् ।

तर, खाडीमुलुकमा रोजÞगारीका लागि गएका नेपाली चेलीबेटीहरुको बेदनाचाहिँ कसैको चुनावी एजेण्डा बन्न सकेको छैन ।

सरकारले श्रम स्वीकृति दिन छाडेपछि युइएईमा रहेका नेपाली चेलीहरु स्वदेशमा आफन्तको मृत्यु हुँदासमेत र्फकन नसक्ने अवस्थामा पुगेका छन् ।

गौरी तामाङले युइएईमा काम गर्न थालेको दुई वर्ष भयो । उनले आफ्ना श्रीमानको मृत्यु हुँदा नेपाल फर्केर किरिया गर्न पाइनन् ।

श्रीमानको किरिया गर्न पाइनँ- गौरी तामाङ

श्रीमान बिरामी हुनुहुन्थ्यो । उपचार गर्दा १३ लाख लाग्यो । त्यही ऋण चुक्ता गर्न म खाडी आएको २ वर्ष भयो । तर, एक महिना अगाडि श्रीमान वीर अस्पतालमा बित्नु भो । म किरिया गर्न जान सकिनँ । किनकि नेपाल गएपछि पुनः दुबई आउन सरकारले श्रम इजाजत दिँदैन । जागिर छोडेर जाउँ भने बालबच्चाको मुखमा माड बन्द हुने अवस्था छ ।

बीचैमा र्फकँदा साहुहरुले घेरा हाल्ने हुँदा मर्ने मरिहाले, बाँचेकालाई त पाल्नुपर्‍यो भनेर म यहीँ आफ्ना श्रीमानको ठाडो किरिया गरेर बसेँ ।

छोराको याद आउँछ, घर र्फकन सक्दिनँः प्रिया सुबेदी

चार वर्ष भयो नेपाल नगएको, घरबाट काठमाण्डौसम्म आउँदा छोराको यादले फर्कौं फर्कौं लागेको थियो । तर, अर्को बर्ष आउँछु भन्दै पुरानै नोकरीमा दुबई आएँ । जब छुट्टीमा घर जाने तयारी हुँदै थियो, सरकारले घरमा काम गर्नेहरुको श्रम स्वीकृति रोकिदियो ।

श्रम इजाजत खुल्छ र घर जाउँला भनेर कुर्दा ‘आकाशको फल आखातरी मर’ जस्तै भा’छ । चार बर्ष भयो । अहिले म नेपाल गएँ भने दलाललाई घुस दिएर दिल्ली मुम्बैको बाटो आउनुपर्ने हुन्छ ।

सरकारले नयाँ कामदारलाई कडाइ गरे पनि हामीजस्ता पुराना कामदारलाई श्रम स्वीकृति देओस् ।

बिरामी छोराको मुख हेर्न पाइनः हरिकला थापा

लोग्नेले काम गरेर पाल्न सकेनन् । छोरो पाउने आशमा चारवटी छोरी भए । पाचाैं सन्तान छोरा भयो । अनि म ३ वर्षको दुधे छोरो छाडेर युएई आएको अहिले ९ बर्ष भयो ।

अहिले छोरो बिरामी छ । ‘मम्मी मेरो माया लाग्दैन ? मलाई देख्नै मन छैन ? भन्दै रुन्छ । आफ्नो सन्तानले यस्तो भन्दा परदेशमा बसेकी आमाको मन कस्तो होला ?

अहिले मेरो छोरालाई दैनिक १२०० को औषधि खुवाउनुपर्छ । मेरै कमाइले छोराको उपचार भइरहेको छ । छोराको अनुहार हेर्नकै लागि नेपाल जाउँ भने पुनः काममा आउन सक्दिनँ ।

यहाँ मेरो काम निकै राम्रो छ । सुरुमा नेपाल जाने-आउने गरेकी थिए । अहिलेको अवस्थामा नेपाल सरकारले श्रम नदिँदा नदिएर दुःखी बनाएको छ ।

नेपाल सरकारलाई हामीले आउँदा जाँदा र पैसा पठाउँदा कर तिरेकै छौं तर पनि किन यति दुःख दिन्छ ?

दलाललाई दुई लाख बुझाएँः जमुना अधिकारी

म ११ बर्ष देखि बिदेशमा छु । यसपटक निकै दुख पर्‍यो । नेपाली दुताबासमा पुगेर ५ हजार धरौटी राखेर सबै सक्कली कागÞजÞात लिएर म नेपाल गएकी थिएँ ।

जब श्रम बनाउन श्रम कार्यालयमा गएँ, मेरो सबै पेपरको वास्ता गरिएन । प्रहरी र श्रम कर्मचारीबीच भनाभन भयो । एकजनाले न्युज बनाउछु न्युज-२४ मा आउनुस् भन्नुभो । हामी गयौं । त्यहाँ पनि के के भनेर टारे ।

मेरो ७० हजार पहिल्यै दलालले खाइदियो । पछि एकलाख पचास हजार खर्च गरेर दुबई आएँ । जम्मा दुई लाख दुई लाख २० हजार तिरेर म दुबई आएँ ।

दलाललाई ५० हजार खुवाएँः अस्मिता खरेल

नेपाल नगई नहुने काम थियो, गएँ । श्रम इजाजत बनाउन जाँदा डोमेस्टिक वर्करको श्रम हुँदैन भने । युएईमा मैले एउटै घरमा काम गरेको धेरै बर्ष भयो । आफ्नो कामप्रति सन्तुष्ट छु, कमाइ पनि राम्रो छ ।

एउटा चिनेको एजेन्ट थियो, ५० हजार घुस खुवाएँ र कागज बनाएर आएँ । दलालले मेरा लागि सरकारले भन्दा पनि राम्रो काम गर्‍यो । यसरी घुस लिन र दिन सरकारले नै बाध्य पारेको छ ।

वास्तवमै मानव तस्करलाई सरकारले कारवाही गर्ने हो भने खाडी मुलुकमध्ये युएई निकै सुरक्षित र राम्रो छ ।

दलाल खोजेर घर जानुपर्ने वाध्यता छः रोजी खड्का

सन्तानको मायाले पोलेको घाउ न देखिन्छ, न निको हुन्छ । घर जाने समय पुगेर पनि दोस्रो पटक नेपाल जाने समय आउन थाल्यो । तर, पापी सरकारले श्रम रोकिदिँदा यहीँबाट दलाल रोजेर घर जानुपर्ने बाध्यता छ ।

स्वदेशमा आफ्ना सन्तानलाई रुवाएर विदेशमा अरुका सन्तान खुशी बनाउनुपर्ने वाध्यता छ । कमाएको पैसा दलाललाई खोजी खोजी उसैले भने जति घुस दिन बाध्य छौं हामी नेपालीहरु ।

घरेलु कामदारको श्रम स्वीकृति छिटै होस्ः पारु बस्नेत

म होटल लाइनमा काम गर्छु । मलाई नेपाल जान-आउन कुनै आपत्ति छैन । तर, धेरै घरेलु कामदारहरु श्रम स्वीकृति अवरोधले महत्वपूर्ण काममा पनि घर जान नपाएर अलपत्र परेका छन् ।

एकै ठाउँमा लामो समयदेखि काम गरेका कामदारको भिसा चेक गरेर भए पनि श्रम त दिनुपर्ने हो ।

घरायसी काममा सरकारले श्रम रोकेको लगभग दुई वर्ष भइसक्यो । सरकारलाई राम्रोसित थाहा छ कि खाडीमुलुकका कम्पनीहरुमा भन्दा धेरै घरायसी कामदारहरु छन् भनेर ।

यस्ता समस्याबाट गुज्रने महिलामात्रै नभएर पुरुषहरु पनि अझ धेरै छन् । रोग लाग्यो भन्दैमा घाँटी नै काटेर फाल्नु भन्दा रोगको निराकरणतिर सरकारको ध्यान जान जरुरी छ ।

नेपाली महिलाहरु घरायसी काममा यौन र श्रम शोषणमा नपरेका होइनन्, तर जागिर लगाइदिने र पैसाको लोभमा फसाउने दलालहरुले नेपाली महिलाहरुको भविश्यसित खेलवाड गरेका छन्, उनीहरुमाथि कारवाही हुनुपर्छ ।

सरकारी निर्णयले दिएको सकस

नेपाली कामदारलाई खाडी मुलुक रोजगारीका लागि सहज थलोका रुपमा लिइने गरिए पनि नेपाल सरकारले खाडी मुलुकहरुमा घरेलु महिला कामदार असुरक्षित रहेको भन्दै श्रम स्वीकृति दिन छाडेको छ ।

तर, सरकारले प्रतिबन्ध लगाए पनि खाडीमुलुकमा घरेलु कामदार आउने क्रम रोकिएको छैन । झन उनीहरु असुरक्षित बाटो हुदै दिल्ली, कोलकाता र श्रीलंका हुँदै युएई भित्रिने क्रम बढेको छ ।

अवैधानिक रुपबाट युएई भित्रिएका र युएई आउन चाहने घरेलु कामदारहरु दलालहरुका लागि राम्रो आयश्रोत भएका छन् । दैनिकजसो दलालले राम्रो काम भनेर आर्थिक शोषण गरेका समाचारहरु बाक्लै आइरहेका छन् ।

बैदेशिक रोजगारीमा बिभिन्न समस्याहरु छन् । त्यतातिर सरकारको कहिल्यै ध्यान गएन । न त बिदेशमा खुलेका च्याउजस्तै संघ संस्थाहरुले नै नेपाल सरकारलाई चुनौति दिन सके ।

सरकारले न त देशमा रोजगार दिन्छ, न काम गरेर खान दिन्छ । उसले विदेशमा बस्ने ५० लाख युवायुवतीलाई कहिलेसम्म यसैगरी घर परिवारदेखि टाढा राख्छ ? हामीले हेर्न बाँकी नै छ ।

नयाँ कामदारलाई आधारभूत सीप र निरन्तर काम गरिरहेका अनि घरबिदामा आउने-जाने घरेलु कामदारलाई श्रम स्वीकृति दिइनुपर्छ भन्दै नेपाली एकता समाज महिला विभागले ६ महिना अगाडि नेपाली दुताबास अबुधाबीमा विज्ञप्ति पेश गरेको थियो । त्यसको अहिलेसम्म कुनै सुनवाई भएको छैन ।