3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तितोपाटी डट कम - अमेरिकी सरकारले डिभी लोटरीबाट अमेरिका आएका चारजनाको अमेरिकी नागरिकता खोसेर देशनिकाला गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले सन् २००१ म डिभी लोटरीमार्फत अमेरिका आएर अमेरिकी नागरिकता लिइसकेका चारजनाको नागरिकता खोस्न सोमबारदेखि प्रकृया सुरु गरेको छ । अमेरिकाको मिनेसोटामा बस्दैमा आएका ४ जना सोमालियनहरुले डिभी लोटरीपछि भिसा आवेदनमा जालसाजी गरेको अमेरिकी सरकारले आरोप लगाएको छ ।

५१ बर्षीया फोसिया आब्दी अदान सन् २००१ म डिभी लोटरी परेर अमेरिका आएकी थिइन् । मिनेसोटाको संघीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा उनले एकजना व्यक्तिलाई नक्कली श्रीमान् बनाएर अरु दुईजना भाईबहिनीहरुलाई नक्कली छोराछोरी बनाएर अमेरिका ल्याएको सरकारी अभियोग छ । चारैजनाले त्यतीबेला नक्कली नामको प्रयोग गरेको र अहिले सबैले अमेरिकी नागरिकता लिइसकेको सरकारी आरोप छ । अदानले ५४ बर्षीय अहमद मोहम्मदलाई नक्कली श्रीमान् , ३३ बर्षका मुस्ताफ अब्दी अदान र ३१ बर्षका फेसल जामालाई छोराहरु बनाएको जनाइएको छ ।