4 Mangshir, 2074 | 20 November, 2017 Monday

तीतोपाटी डट कम  – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई महिलामाथि बढी भरोसा हुने गरेको बताएका छन् ।

बाम गठबन्धनले सोमबार भरतपुरमा गरेको गठबन्धन आवद्ध अगुवा महिलाहरुको भेलामा चितवन–३ का उम्मेदवारसमेत रहेका उनले गठबन्धनको जितमा महिलाहरुको निर्णायक भूमिका हुने उल्लेख गरे ।

 ‘महिलाको भूमिका गठबन्धनलाई जिताउन महत्वपूर्ण छ’, उनले भने, ‘महिलाहरु बढी भरपर्दा हुन्छन् ।’ प्रचण्डले निर्वाचनलाई महिला अधिकार स्थापित गराउन महत्वपूर्ण अवसर भएको बताए । उनले अधिकारका लागि महिला सचेत हुनुपर्नेमा जोड दिए ।

 बाम गठबन्धनले महिलालाई प्रत्यक्षमा कम उम्मेदवार उठाएकोबारे सोधिएको प्रश्नमा उनले समानुपातिक प्रणालीबाट भए पनि संवैधानिक व्यवस्थाअनुसार संसदमा महिलाको उपस्थिति सुनिश्चित गरिने उल्लेख गरे ।

उनले निर्वाचनका लागि मात्र नभई पार्टी एकता गर्ने उद्देश्यका साथ एमाले–माओवादी गठबन्धन गरिएको स्पष्ट गरे ।

काठमाण्डु टुडे