4 Mangshir, 2074 | 20 November, 2017 Monday

तीताेपाटी डट कम – मधेस केन्द्रीत दुई दलले केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने भएका छन्।

कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाएसँगै ती दुई दलले पनि कांग्रेसका उम्मेदवारलाई सघाउने भएका हुन्।

कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार कात्तिक १७ गते कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता ठाकुरबीच बालुवाटारमा एकअर्कालाई सघाउने सहमति भएको थियो।

‘उम्मेदवारी दर्ता हुनुअघि उहाँहरूले १ दर्जनभन्दा बढी नेतालाई सघाउनु पर्छ भन्नुभयो हामी त्यति सिट छोड्न सक्ने अवस्थामा थिएनौं,’ खाँणले भने, ‘उम्मेदवारी दर्तापछि दुई पार्टीका केही नेतालाई सघाउने भन्ने सहमति भयो। सोही अनुसार उहाँहरुलाई सघाउने भएका हौं।’

कांग्रेसले दुई नेतालाई सघाएपछि राजपा र फोरमले पनि कांग्र्र्रेसलाई दुई क्षेत्रमा सघाउने खाँणले जानकारी दिए।
‘हाम्रो चाहना त विमलेन्द्र निधिलाई उहाँहरुले छोडिदिए हुन्थ्यो भन्ने हो,’ खाँणले भने, ‘त्यहाँ राजेन्द्र महतोजीले छोड्नु हुन्न होला तैपनि हामी प्रयास गर्छौं।’ निधि र महतो धनुषा –३ मा उम्मेदवार बनेका छन्।

उनले पार्टीमा छलफल गरेर कांग्रेसले आफूलाई छोड्न पर्ने नेताको नाम राजपा र फोरमलाई दिने बताए।

महतोले निधिलाई छोड्न नमाने अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी– ४ मा र नेता प्रदीप गिरिलाई सिरहा–१ मा सघाउने विषयमा कुराकानी भइरहेको छ।

यसअघि आइतबार कांग्रेसले महोत्तरी– ३ मा ठाकुरलाई सघाउन उम्मेदवारी फिर्ता लिएको थियो भने सप्तरी–२ मा यादवलाई सघाउन उम्मेदवारी फिर्ता लिने भने पनि प्राविधिक कारण रोकिएको थियो।

कांग्रेसले राजपा र फोरमसँग मधेसभरि चुनावी तालमेलको प्रयास गरेपनि त्यो सफल हुन सकेको थिएन।

– सेताेपाटी