7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी डट कम - कम्युनिस्ट बन्नुपर्छ । हामीजस्ताले वर्गीय राजनीति गर्ने हो । वर्गीय राजनीति गर्नेले घर छाड्नुपर्छ । जेल जानुपर्छ । उनलाई राजनीतिको मूलबाटोमा डोर्याउनेहरू यसै भन्थे । ‘हो जस्तो लाग्यो,’ उनले अतीत सम्झे, ‘चार कक्षामा पढ्दै थिएँ । छाडेर वर्गीय राजनीतिमा लागें ।’ 

वर्गीय राजनीति गर्न हौस्याउनेहरूले भनेका कुरा उनले व्यवहारमा उतारे । पहिले पढाइ छाडे । त्यसपछि घरबार त्यागे । पढाइ र घरबार त्याग्दा उनलाई कत्ति पनि हीनताबोध भएन । ‘त्यतिमात्रै हो र,’ उनले थपे, ‘संवत् २०२९ देखि ०४६ सालसम्म १७ वर्ष जेलजीवन बिताएँ ।’ राजनीतिको मूलबाटोमा डोर्याउनेहरूले जे÷जे भने उनले सबैसबै गरे । 

सालबाडी झापाबाट सुरु झापा संघर्ष नख्खु कारागारमा टुंगियो । कारागारबाटै एसएलसीसम्मको पढाइ पूरा गरे । एकताका नख्खु कारागारमा बन्दीजीवन बिताएका केपी ओली, स्वर्गीय कृष्णप्रसाद भट्टराई, सीपी मैनाली, घनेन्द्र ओझा, प्रदीप नेपाललगायतहरू पटकपटक सिंहदरबार पुगे । ओली र भट्टराई प्रधानमन्त्री, अन्य मन्त्री भए । आलिसान महल उनीहरूकै ठडियो । जीवित रहँदा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राज्यले आवास व्यवस्था गर्यो । तर, वर्गीय राजनीति गर्न सिकाउनेहरूले नै भीष्म धिमाललाई संरक्षण गर्न सकेन । 

हेलाँहोचो गरे पनि उनले ०५९ सम्म एमालेको झोला बोकेकै हुन् । जिल्ला विकास सदस्यको कार्यावधि सकिएपछि उनी अर्थात् भीष्म धिमालले पार्टीको झोला बिसाएर पशुपालनतिर लागे । अन्तरिम प्रधानमन्त्री हु“दा कृष्णप्रसाद भट्टराईले धिमालको छोराको उपचारका लागि १० हजार रुपैयाँ उपलब्ध गराएका थिए । धिमालले खुसी व्यक्त गरे, ‘त्यही रुपैया“बाट पशुपालन थालें । सुरुमा एउटा गाई किनें । त्यही गाईको दूध बेचेर तीनवटा गाई थपेें । ती सबै बेचविखन गरी झापाको बुट्टाबारीमा एक कठ्ठा जग्गा किनें । त्यसपछि मात्रै मस“ग आफ्नै नाममा जग्गा भयो । त्यसअघि त सुकुम्बासी थिएँ ।’



गोलभेंडा खेती गर्ने भनेर धिमालदम्पती ०५९ मा काठमाडौं पसे । काठमाडौं पसेपछि पुनः गाई भैंसी पाले । त्यो पनि छाडे । अनि च्याउखेतीतिर लागे । च्याउखेतीमा रस बसेकै छ । उनले हिजोआज पनि यही खेती गर्दै आएका छन् । सिंहदरबारभन्दा केही पर ललितपुरतिर आफ्नै र भाडामा जग्गा लिएर च्याउखेतीमा गर्छन् । कहिले कुरिलो लगाउँछन् । 

‘कृषिजस्तो स्वच्छ पेसामा असाध्यै रमाएको छु,’ उनले सन्तोष व्यक्त गरे, ‘वर्गीय राजनीतिभन्दा खेतिपातीमा लागेर आनन्दित छु । राजनीतिमा लागेर यस्तो आनन्द कहाँ पाउनु ।’ ०३३ का नख्खु ‘जेलब्रेकर’ मध्येका एक उनको दाहिने हात राम्ररी चल्दैन । देब्रहातको बूढीऔंलाले त्यति भर दि“दैन । १७ वर्ष जेल बस्दा पाएको यातनाले उनी शारिरिक रूपमा कमजोर छन् । र पनि, खेतीपातीबाट टाढिएका छैनन् । उनलाई श्रीमती चूडानमुना दाहालले सघाएकी छन् । क्यामेरामा खेतीपाती गर्नेप्रति भने धिमाल चिढिएका छन् ।

‘सबै कम्युनिस्टले खेतिपाती गर्न सक्दैनन्,’ किसान संगठनबाट राजनीति सुरु गरेका उनको तर्क छ, ‘सबै कम्युनिस्टले सक्रिय राजनीति गर्न पनि त सक्दैनन् ।’ तर, वर्गीय चिन्तन अस्वस्थ भएकोमा उनी चिन्तित छन् ।  

वर्षाैं वर्षमा धिमालजस्ता दिग्गज कार्यकर्ता जन्म्यो । हुक्र्यो । तर, जसले जन्मायो उसैले वास्ता गर्न छाडिदियो । ‘छोराछोरीलाई विद्यालय पठाएरमात्र के गर्नु ?’ किताब, कलम, कापी, मसी किनिदिएन,’ उनले दुःखेसो पोखे, ‘मलाई पनि वर्गीय राजनीति गर्न सिकाउनेहरूले राजनीतिक विद्यालयमात्रै पठाए, किताब, कापी, कलम, मसी कहिल्यै किनिदिएनन् ।’ 

तर पनि धिमाल दुःखी छैनन् । उनी कहिल्यै बदनाम भएनन् । उनले रातोपासपोर्ट बेच्नुपरेन । काम बिगारेर समाचार बन्नुपरेन । बरु तात्कालिक माओवादीले समानुपातिक सभासद् बनाउँदा सिंहदरबारभित्रै च्याउ बेच्दा सञ्चारमाध्यमभरि छाए । सिंहदरबारभित्रै च्याउ बेचेको देखेर कतिपयले त्यसो नगर्नुस् भने । त्यसो भन्नेलाई उनले नरम भाषामा भनेका थिए, ‘किसान संगठनबाट राजनीति थालें । किसानकै छोरो हुँ । सांसद हुनबित्तिकै मैले धरातल बिर्सन हुँदैन ।’ कति सुन्दर अभिव्यक्ति । कति दूरदर्शी विचार । उनी सधैंका सांसद होइनन् । किसानचाहिँ सधैंका ।



तरकारी व्यवसाय गरेरै धिमाल दम्पतीले जग्गा जोड्दै गएका छन् । सांसद हुनअघि जोडेको जग्गाको मूल्य आकासिएको छ । जग्गाको मूल्य करोड नाघिसकेको छ । पसिनाको गीत गाएर खानुको आनन्द उनलाई मात्रै थाहा छ । 

त्यतिबेला उनीसँगै सांसद भएकाहरू सांसदको भूमिका सकिन लाग्दा भोलि के गर्ने होला भनेर चिन्ता गर्थे । सांसदको भूमिका सकिएपछि के गर्ने होला भनेर भीष्म धिमालले चिन्ता गर्नै परेन । धिमालको त पेसा/व्यवसाय छँदै थियो, छ । तरकारी खेती गरेर लोभलाग्दो प्रगति गर्दै गएका उनले इन्द्रेणी सपना देखेका छैनन् । पाखुरा चलाएर खान पाए पुग्छ । 

छुट्टिने बेला उनले आफ्नो हृदयदेखिको इच्छा सुनाए, ‘मैले गरेको राजनीति मेरो छोराले मात्रै बुझिदिए पुग्छ ।’

-रातोपाटी