1 Poush, 2074 | 16 December, 2017 Saturday
तीतोपाटी डट कम - इंग्ल्याण्डले २–० ले पछि परेको स्थिति उल्टाएर स्पेनलाई ५–२ गोलअन्तरले पराजित गर्दै अन्डर १७ विश्वकपको उपाधिमाथि कब्जा जमाएको छ ।

योसँगै इंग्ल्याण्डले युरोपियन अन्डर १७ मा बेहोरेको पराजयको बदला पनि लिएको छ ।

यद्यपि, खेलमा इंग्ल्याण्डको शुरुवात भने राम्रो हुन सकेन । सर्जियो गोमेजको दुई गोलको मद्दतले स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

पहिलो हाफ सकिन लाग्दा रिहान ब्रिउस्टरले प्रतियोगिताको आठौँ गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

दोस्रो हाफमा भने इंग्ल्याण्डले निकै सुधारिएको खेल प्रदर्शन गर्दै निरिह स्पेनको डिफेन्सविरुद्ध गोलको वर्षा गरेको थियो ।

खेलको ५८ औँ मिनेटमा मोर्गन गिब्स ह्वाइटले खेल बराबरी गरे भने फिल फोडेनले दुई तथा मार्क गुहेइले एक गोल गरेपछि इंग्ल्याण्डले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

यसअघि प्रतियोगिताको क्वाटरफाइनलभन्दा अघिको यात्रा तय गर्न असफल रहेको इंग्ल्याण्डले यो उपाधि जितेको पहिलो अवसर हो । गत जुनमा इंग्ल्याण्डको अन्डर २० टोलीले पनि विश्वकप जितेको थियो ।